PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

१ अर्ब ३० करोडमा सुन्धाराको ६ रोपनीमा फैलिएको 'फाइभ स्टार होमटेल' बेच्न किन बाध्य भए इच्छाराज तामाङ?



सुदर्शन सापकोटा

१ अर्ब ३० करोडमा सुन्धाराको ६ रोपनीमा फैलिएको 'फाइभ स्टार होमटेल' बेच्न किन बाध्य भए इच्छाराज तामाङ?

काठमाडौं : सुन्धारामा सीटीसी मल र जेडिए कम्प्लेक्सको बीचमा रहेको फाइभ स्टार होमटेल बिक्री भएको छ। इच्छाराज तामाङको महत्वकांक्षी हाइ इन्ड अपार्टमेन्टका रुपमा सुरु भएर होटलमा रुपान्तर भएको यो प्रपर्टी ६ रोपनीमा फैलिएको छ। आखिर किन बिक्रीमा गयो त तामाङको यो सम्पत्ति?

घरजग्गा कारोबारका कारण वित्तीय संकटमा फसेकाले सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङले प्राइम प्रोपर्टी बिक्री गर्न वाध्य हुन परेको हो। 

वित्तीय संकटबाट उम्किन केही दिनअघि श्रीमतीको नाममा रहेको सिभिल बैंकको संस्थापक शेयर बिक्री गरेका तामाङले सुन्धारास्थित होटलमा रुपान्तरण गरिएको अपार्टमेन्ट पनि बिक्री गरेका छन्।

उनले एक अर्ब ३० करोड रुपैयाँमा 'प्राइम प्रोपर्टी' बिक्री गरेका हुन्। आर्थिक संकटमा परेकै कारण तामाङले सुन्धाराको यो प्रोपर्टी सस्तो मूल्यमै बिक्री गरेका हुन्।

६ वर्ष अघि होटलमा ठूलो लगानीको घोषणा गरेका उद्यमी अजयराज सुमार्गीले तामाङको अपार्टमेन्ट किनेका हुन्। 

आर्थिक संकटमा परेका कारण तामाङले आफ्नी श्रीमती सृजना शाक्य तामाङको नाममा रहेको सिभिल बैंकको संस्थापक शेयर कर्मचारी सञ्चय कोषलाई भर्खरै बिक्री गरेका छन्। १७ लाख ५३ हजार ५९४ कित्ता शेयर प्रति कित्ता १०० रुपैयाँका दरले बिक्री गरिएको थियो।

शेयर बिक्रीपछि आर्मी अफिसर क्लब अगाडिको सिटिसी मल र चाइना टाउनछेउको जेडीए कम्प्लेक्सको बीचमा रहेको सम्पति तामाङले बिक्री गरेका हुन्। 

सिभिल बचत तथा ऋण सहकारी संस्थाबाट चलाएको ऋण भूक्तानी गर्न नसकेर आर्थिक संकटमा फस्दै गएपछि तामाङले सम्पति बिक्री गरेर भूक्तानी गर्न सुरु गरेका हुन्।

फाइभ स्टार होमटेल नाम दिइएको यो सिभिल लक्जरी रेसिडेन्स अपार्टमेन्ट हो। कम्पनीले ६ रोपनी जग्गामा लक्जरी रेसिडेन्सका फेमिली टावर, प्रिमियम टावर र कर्पोरेट टावर गरेर तीन क्याटागोरी छुट्याएर बनाउने घोषणा गरेको थियो। अपार्टमेन्टहरुको मुल्य ८४ लाखदेखि दुई करोड रुपैयाँसम्म पर्ने बताइएको थियो। 

प्रिमियम अपार्टमेन्ट किन्ने मान्छे नभएपछि होटल बनाएर व्यवसायलाई रिकभर गर्न खोजिएको थियो। होटलका लागि थप लगानी आवश्यक पर्छ तर आर्थिक संकटमा फसेका तामाङले पैसा निकाल्न नसकेपछि पुरै सम्पति सुमार्गीलाई बिक्री गरेका हुन्।

६ रोपनी जग्गामा फैलिएको अपार्टमेन्ट १२ तलाको छ। यसमा दुई सयवटा कोठा छन्। १ अर्ब ३० करोडमा किनेका सुमार्गीले करिब ७५ करोड रुपैयाँ बैंकबाट ऋण लिएका छन्। 

रियलस्टेट कारोबारी तामाङले सिभिल सहकारीबाट महँगो ब्याजमा सात अर्ब रुपैयाँभन्दा बढी चलाएका छन्। अहिले त्यो पैसा उनले तिर्न सकिरहेका छैनन्। उनले भर्खरै कीर्तिपूरमा रहेको दुई रोपनी जग्गा समेत बिक्री गरेका छन्। बजार भाउभन्दा धेरै सस्तोमा दुई रोपनी जग्गा बिक्री गरेका हुन्।

घरजग्गा कारोबारले संकट
काठमाडौंमा इन्डिभिज्युल होम्स बनाएर बिक्री थालेका तामाङले सिभिल सहकारीमार्फत घरजग्गामा ठूलो लगानी गरेका थिए। तर राष्ट्र बैंकले ०६५ सालमा घरजग्गा कारोबारमा कडाई गरेपछि उनको कारोबारमा मन्दी आएको थियो।

त्यो मन्दीका समयमा समेत उनले जेनतेन ब्यापार गरिरहेका थिए। तर ब्याजमाथि ब्याज खप्टिँदा उनलाई डेढ बर्षयता थप समस्या परेको हो। राष्ट्र बैंकले पूँजी वृद्धि गरेपछि उनले ऋण लिएरै आफ्नो हकप्रद शेयर भरेका थिए। त्यो ऋणले पनि उनलाई थिच्दै लगेको छ। 

उनको अर्को प्राइम प्रोपर्टी सुन्धारास्थित सिटिसी मलका पसल बिक्री गर्न खोजेका थिए। भाडा पहिले नै ग्यारेन्टी गरेर उनले बिक्री पनि गरेका थिए। तर उनले ग्यारेन्टी गरेको भाडा नपाएपछि खरीदकर्ताहरुले आन्दोलन गरिरहेका छन्। कतिपय पसलहरु सिभिल बैंकले लिजमा लिएर कर्पोरेट कार्यालय सञ्चालन गरिरहेको छ। 

तामाङ निकटहरुका अनुसार, बैंक तथा वित्तीय संस्थाबाट तुलनात्मक रुपमा सस्तो ब्याजमा ऋण लिएको भए संकटबाट निस्किन सक्ने अवस्था थियो। तर आफ्नो वित्तीय संकट बाहिर आउने डरले तामाङले आफ्नै सहकारीबाट ऋण थप्दै जाँदा दलदलमा फसेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell