PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बुटवलको पाँच वटा बुद्धमूर्ति तोडफोडमा को संलग्न? यसबारे सरकारले छानबिन गर्ने



बुटवलको पाँच वटा बुद्धमूर्ति तोडफोडमा को संलग्न? यसबारे सरकारले छानबिन गर्ने

काठमाडौं: बुटवलको बेलहिया सडक खण्डको बीच भागमा राखिएका पाँच वटा बुद्ध मूर्ति तोडफोड भएको विषयमा सरकारले छानबिन गर्ने भएको छ। आज नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले बुद्धमूर्ति तोडफोडको विषयमा जिज्ञासा राखेपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले यस विषयमा छानबिन गर्ने बताएका हुन्।

मन्त्री बास्कोटाले भने, 'गौतम बुद्धको मूर्ति तोडेको कसले भन्ने विषयमाथि छानबिन हुन्छ। छानबिन अघि नै धार्मिक सहिष्णुतामा खलल पार्न खोजिएको भन्ने बुझ्न हुँदैन। अपराध कसले किन गर्‍यो भन्ने बिस्तारै खुल्दै जाने छ।'

६ लेन सडकअन्तर्गत शंकरनगर चोकदेखि नयाँमिल खण्डमा राखिएका बुद्धमूर्ति तोडफोड भएका हुन्।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बिहीबार बिहान तोडफोड भएको अवस्थामा भेटिएको बताए। मूर्तिहरु कसले र किन फुटायो भन्ने अहिलेसम्म खुल्न नसकेको उनको भनाई छ।

‘विकास विरोधी वा अन्य कुत्सित उद्देश्यसहित योजनाबद्ध ढंगले गाडीसहित समूहमा आएर तोडफोड गरिएको देखिन्छ,’ घिमिरेले भने, ‘शान्ति सुरक्षासँग पनि जोडिएको विषय भएकाले सुरक्षा निकायले गम्भीरतापूर्वक अनुसन्धान गरेर दोषीलाई कानूनी कारवाही गरोस्।’

प्रदेश सरकारले अहिले लुम्बिनी भ्रमण वर्ष मनाइरहेको सन्दर्भमा यो घटनाले नकारात्मक प्रभाव पार्न सक्ने लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दिप गुप्ताले जानकारी दिए।

घटनास्थल पुगेर प्रहरी टोलीले अध्ययन अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

गत वैशाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले बुद्धमूर्ति अनावरण गरेका थिए। बुद्ध मूर्ति स्थापनाका लागि नगरपालिकाले ५० लाख रुपैयाँ बजेट छुट्टाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell