PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अपडेट: बाढीपहिरोबाट ९० को मृत्यु, २९ अझै बेपत्ता, ९० हजार घरपरिवार प्रभावित



अपडेट: बाढीपहिरोबाट ९० को मृत्यु, २९ अझै बेपत्ता, ९० हजार घरपरिवार प्रभावित

काठमाडौँ: असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। विपद्मा परेर अहिलेसम्म २९ हराइरहेका र ४१ घाइते भएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए। 

उनका अनुसार झण्डै १२ हजार घर धुरी विस्थापित भएकाले उनीहरुलाई अस्थायी आश्रयस्थलमा राखिएको छ। विपद्मा परेर सबैभन्दा बढी रौतहटमा मात्रै १० जनाले ज्यान गुमाएका छन्। ललितपुर र सिराहामा छ–छ तथा मोरङ, भोजपुर, धनुषा, मकवानपुर र सिन्धुलीमा पाँच–पाँच जनाले ज्यान गुमाएका छन्। 
    
ओखलढुङ्गा, महोत्तरी र डोल्पामा चार–चार तथा झापा, खोटाङ, पर्सा, काभ्रेपलाञ्चोक र काठमाडौँमा तीन–तीन जनाको मृत्यु भएको छ। यस्तै सुनसरी, बारा, धादिङ र दाङमा दुई–दुई, इलाम, पाँचथर, सङ्खुवासभा, उदयपुर, सर्लाही रामेछाप, पाल्पा र कपिलवस्तुमा एक–एक जनाको मृत्यु भएको जनाइएको छ।

बेपत्ता हुनेमा सबैभन्दा बढी डोल्पामा सात,  इलाम, मोरङ र सिन्धुलीमा तीन–तीन जना छन् । अहिलेसम्म सर्लाहीमा दुई हजार ४००, रौतहटमा एक हजार ११०, बारामा एक हजार ६६५, पर्सामा १२०, सिराहामा ५००, मोरङमा एक हजार ५३९ लगायत विभिन्न जिल्लामा गरेर झण्डै १० हजार घर विस्थापित भएको केन्द्रले जनाएको छ ।  

अहिले राहत वितरण र भौतिक संरचना पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढिरहेको र अवरुद्ध राजमार्ग खुलाउने प्रयाससमेत जारी रहेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले वर्षा घटेकाले जनजीवन सामान्य हुँदै गएको जानकारी दिएको छ। 

बुधबार मात्र सरकारी उच्चस्तरीय टोलीले तराईको डुवान तथा बाढीको हवाई एवं स्थलगत निरीक्षण गरी स्थानीय अधिकारीमार्फत हालको अवस्था र राहत वितरण कार्यबारे जानकारी लिएको थियो। 

९० हजार घरपरिवार प्रभावितः  नेपाल रेडक्रस


मनसुन शुरु भएपछि बाढी, पहिरो तथा ढुबानबाट देशका विभिन्न जिल्लाका ९० हजार परिवारका करीब चार लाख ५२ हजार मानिस प्रभावित भएको मानवीय संस्था नेपाल रेडक्रस सोसाइटीले प्रारम्भिक अनुमान लगाएको छ। 
 
बाढी, पहिरो तथा डुबानबाट बढी प्रभावित ३२ जिल्लामा सोसाइटीका निकायबाट सङ्कलन भएका प्रारम्भिक तथ्याङ्कले ४० हजार घरमा क्षति पुगेको जनाइएको छ। आफ्ना तालीम प्राप्त स्वयंसेवकबाट प्रभावितका खोज, उद्धार तथा राहत वितरणका साथ प्रभावितको तथ्याङ्क सङ्कलन कार्य द्रुतरुपमा जारी रहेको विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले जानकारी दिए। 

तत्काल ओत लाग्न प्रभावित परिवारलाई एक हजार ६६२ तारपोलिन तथा ३१० परिवारलाई राहतको पूर्ण सेट वितरण गरिसकिएको र वितरण कार्य जारी रहेको उनले जानकारी दिए। प्रभावित क्षेत्रमा ३७४ जना तालीम प्राप्त तथा अन्य स्वयंसेवक परिचालन भइरहेको छ।

प्रदेश नं २ का सिरहा, सप्तरी, रौतहट, महोत्तरी, सर्लाही, मोरङ र धनुषामा प्रारम्भिक द्रुत सर्वेक्षण जारी रहेको छ । ती जिल्लामा राष्ट्रिय विपद् प्रतिकार्यका एक ÷एकजना विशेषज्ञले काम गरिरहेका छन्। 

प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन पानी शुद्धिकरण र सर्पदंशबाट बच्ने उपायका बारेमा सन्देश प्रभाव गर्ने कार्य जारी रहेको सोसाइटीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell