PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तीनकुनेका निर्देशक सुलक्षण भन्छन् : विदेशी ट्रान्सलेट गरेर नाटक बनाउँदिन



मन्दिरा खत्री

तीनकुनेका निर्देशक सुलक्षण भन्छन् : विदेशी ट्रान्सलेट गरेर नाटक बनाउँदिन

रंगमञ्चमा स्थापित नाम हो, सुलक्षण भारती। यस क्षेत्रमा एक दशक बिताइसकेका छन् भारतीले। मण्डला थिएटरबाट करियर सुरु गरेका भारती निर्देशित नाटक ‘तीनकुने’ अहिले कौशी थिएटरमा मञ्चन भइरहेको छ। उनले मिल्क टी, सलेदो, बोक्सीको घर, बिल गेट्स पण्डित, मेटामर्फोसिस लगायत नाटकहरुमा अभिनय तथा निर्देशन गरिसकेका छन्। सानैदेखि नाच्न गाउनमा रुचि राख्ने भारतीले ओस्कार कलेज अफ आर्ट्सबाट स्नातक गरेका छन्। डान्सिङ र मोडलिङ हुँदै उनी रंगमञ्चमा प्रवेश गरेका हुन्। अहिले उनी आफ्नै नाटकघर ‘पुरानो घर’ सञ्चालनको तयारीमा पनि जुटेका छन्। ‘तीनकुने’ को प्रदर्शन र बन्दै गरेको 'पुरानो घर' को अवस्था कस्तो छ त? मन्दिरा खत्रीको प्रश्न र निर्देशक भारतीको जवाफ :

तपाईंले आफ्नै नाटकघर ‘पुरानो घर’ मा मञ्चन गर्ने घोषणा गर्नुभएको थियो। तर, तीनकुने कौशीमा मञ्चन गर्नुभयो। कारण खास के हो?

‘पुरानो घर’ सिनामंगलमा बनिरहेको छ। यसको निर्माण अहिले पैसाको कारणले रोकिएको छ। केही प्राविधिक समस्या पनि आइरहेका छन्। एक वर्ष भयो काम सुरु गरेको। अब ६ महिनाभित्र निर्माण सकिन्छ होला।

‘पुरानो घर' थिएटरमा के कस्ता विषय केन्द्रित नाटक मञ्चन गर्ने तपाईंको सोच छ?

‘पुरानो घर’मा हाम्रा कथाहरु मञ्चन हुनेछन्। मैले विदेशी नाटकहरु खासै गर्दिनँ। तर कलाकारका रुपमा अभिनय भने गर्छु। मेरो विचार हाम्रा मौलिक कथाहरु अगाडि आउनु पर्छ भन्ने हो। म जति पनि नाटकहरु लेख्छु ती नेपाली कथाहरु नै हुन्छन्। कि त म आफैं लेख्छु कि त नेपाली राम्रा कथाहरु छान्छु। कुनै विदेशी राइटरको ट्रान्सलेट गरेर चाहिँ म नाटक बनाउँदिन। म आफू लगानी गरेर विदेशी नाटक प्रदर्शन गर्दिनँ।

प्रदर्शनमा रहेको ‘तीनकुने’ र यसअघिको ‘मिल्क टी’ लगायत सबै नाटक महिला केन्द्रित मात्र छन्। धेरैजसो नाटक महिला केन्द्रित किन होला?

यी दुई नाटकबाहेक ‘बोक्सीको घर’ पनि महिला केन्द्रित नाटक नै थियो। मिल्क टी र बोक्सीको घर मलाई आफूलाई फिल भएको कुरा हो, त्यही भएर मैले गरें। तीनकुने चाहिँ मेरो विचारभन्दा पनि तीन जना लेखकको स्टोरी मन परेको भएर हामीले लिएका हौं। यसमा मेरो भन्दा पनि अरु लेखकहरुको विचार र भाषा बढी छ। उनीहरु सँगसँगै म बीचमा अलिअलि बोल्ने कोसिस गरेको छु। त्यस्तो विशेष केही होइन। म फेमिनिस्ट पनि होइन अथवा म पुरुष केन्द्रित मानसिकताको बारेमा कुरा गर्ने पनि होइन। यो समाजमा हुने कुराहरु भइदिँदैनन्, त्यसैले मैले हाम्रो समाजमा महिलाले भोगिरहेको पीडा नाटकमार्फत् प्रस्तुत गर्ने कोसिस गरेको हुँ।

अहिले मञ्चन भइरहेको तीनकुने नाटकमा तीनवटा कथाको संमिश्रण छ,फरक समयका फरक लेखकहरुका भिन्नाभिन्नै विषयमाथिका कथा फ्युजन गर्ने सोच कसरी आयो?

खासमा विद्यार्थीको प्रोडक्सन जस्तै हो मेरो। विद्यार्थीलाई मैले बीस पच्चिसवटा नाटक पढ्न लगाएँ। तीमध्य एउटा कथामाथि नाटक बनाउने योजना थियो। उत्कृष्ट लागेको नाटक छान्न भोटिङ गराएँ। तीनवटा कथाले धेरै भोट पाए। र, तीनवटै कथा समिश्रणको नयाँ प्रयोग गरें।  मैले अहिलेसम्म ५ वटा नाटक लेखिसकेको छु। तीनकुने मेरो छैटौं नाटक हो। त्यसभन्दा पनि यो एउटा नयाँ प्रयास हो। यो नाटक मेरो राइटिङको एउटा नयाँ एक्सपेरिमेन्ट पनि हो। अहिले पनि नाटक लेख्न सिक्दैछु।

तीनकुनेमा महिलालाई कमजोर देखाइएको छ, महिलालाई कमजोर देखाइरहँदा आलोचित हुन्छु कि भन्ने लागेन?

यदि म कुनै महिलालाई नाटकमा कमजोर देखाउँछु र समाजले मेरो आलोचना गर्छ भने त्यो समाजको पाखण्ड मात्र हो। नेपाली समाजमा अझै पनि महिलाहरु दुःखी, पीडित नै छन्। यही नै वास्तविकता हो। समग्रमा नारीहरुको कुरा गर्ने हो भने यो समाज र यसको उच्च वर्गका मानिसले मैले यहाँ नारीलाई कमजोर देखाएको भनेर मेरो आलोचना गर्ने उनीहरुको हैसियत छैन। यो समाजलाई बुझ्ने हैसियत  छैन। यो नाटक मार्फत् हाम्रो समाजको हैसियत के हो भन्ने मैले देखाउन खोजेको छु। तर मैले कुनै नारीलाई कमजोर देखाएको र देखाउन खोजेको होइन। समाजको यथार्थ देखाउन प्रयास मात्र गरेको हुँ।

निर्देशक भएर काम गर्नु र कलाकार भएर काम गर्नुमा के फरक हुँदो रहेछ?

मलाई कलाकारको विचार हुँदैन जस्तो लाग्छ। एउटा कलाकारले विचार बोकेर हिँड्दैन। जुन स्टोरी पायो, त्यसमा काम गर्छ कलाकारले। तर निर्देशकले आफ्नो विचार बोकेको हुन्छ। जुन पायो त्यो स्टोरीमा काम गर्दैन। सायद एउटा कलाकार र निर्देशक हुँदाको फरक यही नै होला।

आफूलाई मनपर्ने तपाईंले अभिनय गरेको एउटा नाटक?

मलाई मेरो ‘मिल्क टी’ नाटक असाध्यै मनपर्छ। जसमा मेरो लेखन रहेको छ। कहिलेकाहीं ‘त्यो नाटक म आफैंले लेखेको हो र?’ जस्तो पनि लाग्छ।

करियरको टर्निङ पोइन्ट?

मण्डला थिएटरमा हामी मिटिङ बसिरहेका थियौं। नाटक गर्ने पालो मेरो थिएन, अरु कसैको थियो तर उसले नाटक नगर्ने भयो। अहिले सक्दिनँ पछि गर्छु भन्यो। त्यसपछि कसले गर्ने भन्दा कोही पनि बोलेन अनि मैले हात उठाएँ। मलाई कहिले पनि लागेको थिएन, म नाटक निर्देशन गर्छु या लेख्छु भनेर।

हात उठाएकै कारण मैले ‘बिल गेट्स पण्डित’ भन्ने नाटक लेखेँ। त्यो नाटक एउटा बेरोजगार युवाको मनोविज्ञानसँग सम्बन्धित छ। त्यो नै सायद मेरो करियरको टर्निङ पोइन्ट हो। त्यो नाटक गरिसकेपछि मलाई लाग्यो म नाटक निर्देशन गर्न सक्छु वा लेख्न पनि सक्छु। त्यहाँदेखि म निरन्तर लेख्ने कोसिस गरिरहेको छु।

रंगमञ्चबाहेक अन्य पेसामा पनि आबद्ध हुनुहुन्छ?

म अभिनय नगरी बस्न सक्दिनँ। त्यसैले म अहिले रंगमञ्चमा मात्र आबद्ध छु। मेरी श्रीमती सिर्जना अधिकारी र म हामी दुवैजना रंगमञ्चमा निरन्तर काम गरिरहेका छौं।

रंगमञ्चमा मात्र काम गरेर जीविकोपार्जन गर्न कतिको सहज छ?

अहिलेसम्म त सहजै भएको छ। पछिको कुरा थाहा छैन। अहिलेसम्म त रंगमञ्चले नै धानिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell