PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कांग्रेस नेताले सम्झे रामहरि जोशीलाई, 'राजनीतिलाई सत्ता होइन समर्पणसँग जोड्ने पुल'



कांग्रेस नेताले सम्झे रामहरि जोशीलाई, 'राजनीतिलाई सत्ता होइन समर्पणसँग जोड्ने पुल'

काठमाडौं: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिमा लाग्ने सबै खराब नभएको भनदै सबैलाई एउटै डालोमा हाल्न नहुने बताएका छन्। आइतबार रामहरी जोशी प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सिंहले केहीले गलत गरे भन्दैमा समग्र राजनीतिलाई नै गाली नगर्न आग्रह गरे। 

“हरेक क्षेत्रमा केही खराब मान्छे हुन्छन्। तिनका कारण सबैलाई खराब नभनौं,” नेता सिंहले भने, “राजनीतिमा रहेका राम्रा मान्छेलाई पनि समाजले चिन्नुपर्छ।” राजनीतिमा रहेका राम्रा मान्छेलाई समाजले चिनेमा खराब मानिसहरु आफै राजनीतिबाट हट्दै जाने उनको भनाई थियो। कांग्रेसका संस्थापक नेता जोशीको दोस्रो स्मृति दिवसको कार्यक्रममा उनले आफ्ना पिता गणेशमान सिंह र जोशीको सरकार जीवनशैली र सादगीपनले आफुलाई सँधै प्रेरित गरिरहने बताए। 

त्यस्तै कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगानाले जोशीको जस्तो मूल्यमान्यताको राजनीति गर्नेहरुको संख्या नेपाली राजनीतिमा बढाउनुपर्नेमा जोड दिए। “उहाँ मधेश र पहाडलाई जोड्ने व्यक्ति हुनुहुन्थ्यो”, ढुंगानाले भने, “के का लागि राजनीति गर्दैछु भन्ने उहाँलाई थाहा थियो। तर, अहिले राजनीतिमा किन आएको? भन्ने प्रश्नको जवाफै नभएकाहरु आएका छन्। ” उनले नयाँ पुस्तालाई मूल्यमान्यतासहितको संस्कृति निर्माण जरुरी रहेको बताए। 

कांग्रेस नेता महेश आचार्यले जोशीसँग ०४८ सालको मनित्रपरिषद्मा सँगै बसेर काम गर्दै थुप्रै कुराहरु सिक्न पाएको भन्दै जोशीलाई आफ्नो अभिभावकका रुपमा स्मरण गरे। “उहाँ राजनीतिलाई सत्ता होइन समर्पणसँग जोड्ने पुल बनेर आउनुभयो,” आचार्यले भने, “समताको संस्कृतिलाई कांग्रेसमा भित्राउने नेताका रुपमा उहाँलाई लिन्छु।” संस्कतिविद् डा रामदयाल राकेशले जोशीको साहित्यिक पाटोका बारेमा चर्चा गरे। 

जोशीको दुई वर्षअघि ९३ वर्षको उमेरमा निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell