PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'मनसुन'ले कतै पहिरो, कतै बाढी : रानीपोखरीमा भने जम्दै पानी

'मनसुन'ले कतै पहिरो, कतै बाढी : रानीपोखरीमा भने जम्दै पानी

सहयोग रञ्जित/पहिलोपोस्ट


काठमाडौं: गत बिहिवारदेखि परेको अविरल वर्षाले देशका विभिन्न स्थानमा बाढीपहिरो गइरहेको छ। कुनै क्षेत्र डुबानमा परी विपद् निम्तिएको छ। यही झरीले बन्दै गरेको रानीपोखरीलाई भने फाइदा भइरहेको छ। अहिले रानीपोखरी जल मग्न भएको छ।

आज केही बेर वर्षा रोकिएर घाम लाग्दा पोखरीमा पानीको सतह केही घटे पनि पोखरीको पश्चिम भागमा भने पानी जमेको देखिएको छ।

भूकम्पमा क्षति पुगेको रानीपोखरीमा पानी अड्याउन भक्तपुरबाट करिब ६० जना प्राविधिकहरु खटिरहँदा प्राकृतिक रुपमा नै पानी अडिएको हो। पानी अड्याउन हाल पोखरीमा भक्तपुर र साँखुको कालोमाटोलाई पोखरीमा सलामी दिने काम भइरहेको छ।

यता, मनुसुने वर्षासँगै यसरी प्राकृतिक रुपमा नै पानी जमेपछि रानीपोखरीमा आगामी दिनमा पानी अडिने निश्चित भएको भक्तपुरको टोलीको नेतृत्व गरिरहेका कृष्णप्रसाद दुमरुले बताए।

पानी भरिँदा पुनर्निर्माणको काममा केही समस्या आए पनि पानी नजमेको स्थानमा भने काम भइरहेको छ।

दुमरुले हाल पानी जमेको स्थानलाई नसुकाइ पानी अन्यत्रै स्थानतरण गरी काम सुरु गर्नेसमेत बताए। त्यसैका लागि हाल पोखरीमा पाल लगाउने र पानीलाई छेक्ने काम भइरहेको छ।

आगामी तिहारसम्म रानीपोखरीमा पानी अड्याउने गरी पुनर्निर्माणको काम भइरहेको छ। यस्तै पोखरीको बीचमा रहेको बाल गोपालेश्वर मन्दिर र पुलको पुनर्निर्माणको काम समेत केही दिनमै सुरु हुने बताइएको छ।

पानी अड्ने सुनिश्चित गर्न रानीपोखरी मै दुई साना पोखरी निर्माण गरी कालो माटो राखेर परीक्षणसमेत भइरहेको छ। दुवै पोखरीबाट हालसम्म पानी चुहावट नभएको बताइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell