PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

संक्रमणकालीन व्यवस्थामा टेकेर अघि बढ्यो कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया, होला त 'टाइम्ली' महाधिवेशन?



नेत्र तामाङ

संक्रमणकालीन व्यवस्थामा टेकेर अघि बढ्यो कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया, होला त 'टाइम्ली' महाधिवेशन?

  • नेत्र तामाङ -

अर्ली अधिवेशन माग्दै जिल्ला जिल्लमा भेला भएका नेपाली कांग्रेसका कतिपय केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुको आवाज यतिबेला खासै सुनिदैन। सायद, कांग्रेसको केन्द्रीय समितिमा आउँदो अधिवेशनले प्रवेश पाएका कारणले पनि हुन सक्छ।

'टाइम्ली' महाधिवेशनको पक्षमा रहेका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायत नेताहरुको अथक प्रयासपछि केन्द्रीय समितिमा १४ औं महाधिवेशनले प्रवेश पाएको हो।

भातृ संगठन र विभागहरु लथालिंग छाडेर पार्टी सभापति शेरबहादुर देउवाले कार्यकाल बढाउन लागि परेको आशंकामा देउवाइतरका नेताहरुले 'अर्ली'देखि 'टाइम्ली' महाधिवेशनको माग गरेका थिए।

होला त 'टाइम्ली' महाधिवेशन?

अर्ली महाधिवेशनको समय टरिसकेको छ। विधानमा व्यवस्था भएको विशेष महाधिवेशनको माग खासै गुञ्जियएन। अब भने टाइम्ली महाधिवेशनको पालो आएको छ।

२०७२ को फागुन २४ गते केन्द्रीय सभापतिमा चुनिएका देउवाको कार्यकाल ८ महिनामात्र बाँकी छ। कांग्रेस विधानअनुसार सभापतिको कार्यकाल ४ वर्षको मात्र हुने भएकाले आउँदो फागुनमा देउवाको कार्यकाल सकिन्छ। लगत्तै नयाँ केन्द्रीय समिति र नयाँ निर्वाचित सभापति आउनुपर्ने व्यवस्था छ।

तर, कांग्रेसको जागरण अभियान देउवाको कार्यकालको अन्तिम समयसम्म तन्काइएकाले टाइम्ली महाधिवेशन हुने छाँट देखिँदैन। त्यसैले विधानले तोकेको कार्यकाल भित्र महाधिवेशनको सम्भावना झिनो छ।

तीन चरणमा सकिने गरी तय गरिएको जागरण अभियानको पहिलो चरण समापन भइसकेको छ।

‘हिमाल, पहाड, तराई मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नारासहित वैशाख २५ बाट शुरु प्रथम चरणको अभियान जेठ २५ गते सकियो।

दोस्रो चरण भदौ २४ गतेबाट शुरु भइ असोज ७ गते समापन हुने तालिका रहेको छ भने तेस्रो चरणको अभियान पुस ७ गते शुरु भइ पुस १६ गते (मेलमिलाप दिवस) समापन हुनेछ।

कार्यकाल सकिएपछिको व्यवस्था के छ?

आउँदो फागुनमा सकिँदैछ 'देउवा टिम'को कार्यकाल। यो अवधि सम्ममा महाधिवेशन नहुने पक्कापक्की देखिन्छ। कार्यकाल सकिएपछि के गर्ने त?

यस्तै बेलाको लागि कांग्रेसले विधानको पुच्छारतिर धारा ४३ को व्यवस्था गरिएको छ।

पदावधि विषयमा यस धारामा भनिएको छ, 'पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि चार वर्षको हुनेछ। असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्नेछ।' यही स्थिति देखाउँदै देउवाले कार्यकाल लम्ब्याउने र सोही अवधिमा महाधिवेशन गराउने देखिन्छ। पार्टीको वर्तमान अवस्था र कार्यसञ्चालन शैली हेर्दा देउवाले पार्टी अधिवेशन २०७७ को फागुनतिर आह्वान गर्ने देखिन्छ।

यद्यपि, असार २२ मा बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको १४ एजेन्डामध्ये एक एजेन्डामा १४ औं महाधिवेशन पनि परेको छ।

महामन्त्री खड्काले पेश गरेको एजेन्डाको दोस्रो बुँदामा भनिएको छ, 'पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्बन्धमा।'

के छ धारा ७४ को ४ मा?

नेपाली कांग्रेसको संशोधित विधान(२०७५ फागुन १२)को धारा ७२ मा संक्रमणकालीन व्यवस्था उल्लेख छ।

यसको उपधारा ४ मा पार्टी संगठनको अन्तरिम व्यवस्था उल्लेख छ। देश संघीयतामा गइसकेको अवस्थामा कांग्रेसले आफूलाई संघीयताको ढाँचामा अहिलेसम्म ढालेको छैन। यद्यपि, यही व्यवस्थामा कांग्रेसले आफ्नो संरचना बदल्ने व्यवस्था रहेको छ।

टोले कार्यसमिति गठनदेखि प्रदेश अधिवेशन कहिले?

कांग्रेसको संशोधित विधानअनुसार सबैभन्दा तल्लो तह टोल कार्यसमिति गठनका लागि नै दुई महिनाको अवधि दिइएको छ। वडा कार्यसमितिले आवश्यकता अनुसार नेपाली कांग्रेसको सदस्यबाट टोल कार्यसमिति गठन गर्ने विधानमा उल्लेख छ।

अन्तरिम व्यवस्थामा गाउँपालिका नगरपालिका वडा कार्यसमिति गठन भएको बढीमा दुई महिनाभित्र वडा कार्यसमितिले मातहतका टोल कार्यसमिति गठन गर्ने उल्लेख गरिएको छ।

त्यसपछिको माथिल्लो तह होवडा कार्यसमिति। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिकार महानगरपालिकामा यो कार्य समिति रहनेछन्। वडा अधिवेशनबाट यी कार्यसमिति बन्न २ महिना लाग्न सक्ने देखिन्छ।

त्यसपछिको माथिल्लो तह हो गाउँपालिका, नगरपालिका, उपमहानगरपालिकार महानगरपालिकामा कार्यसमिति। अधिवेशन र सम्मेलनबाट यी कार्यसमिति बन्न पनि कम्तीमा दुई महिना लाग्ने देखिन्छ।

यसपछिको माथिल्लो तह हो प्रदेश सभा क्षेत्रीय अधिवेशन। यसैगरी प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन। यी दुवै तहको क्षेत्रीय अधिवेशन गर्न कम्तीमा तीन महिना लाग्ने देखिन्छ।

त्यससँगै जिल्ला सम्मेलन र प्रदेश सम्मेलनले पनि लामै समय लिने देखिन्छ। कांग्रेसको विवादको रोग सबैले थाह भएकै कुरा हो। टोलदेखि केन्द्रसम्म विवादले समयमा अधिवेशन नसकिए केन्द्रीय महाधिवेशन स्वत: लम्बिन्छ।

महाधिवेशनको प्रकिया शुरु भइसक्यो : प्रवक्ता शर्मा

स्थानीय तहको कार्यसमिति, प्रदेश र प्रतिनिधि सभाको क्षेत्रीय सम्मेलन र जिल्ला सम्मेलन सकेर प्रदेश सम्मेलनमा आइपुग्दा १ वर्ष बढी समय खर्च हुने देखिन्छ। यसका लागि पार्टी वर्षदिन अघि नै कार्यतालिका बनाउनुपर्ने देखिन्छ। नभए म्यादी सभापतिले थपिएको एक वर्षमा पनि महाधिवेशन गर्ने छाँट देखिदैन।

तर, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भने महाधिवेशनको प्रकिया शुरु भइसकेको बताउँछन्। असार २७ गते को केन्द्रीय समितिबाटै १४ औं महाधिवेशनको प्रक्रिया शुरु भएको प्रवक्ता शर्माले बताए। उनले भने, 'असार २७ बाट नियमावलीबारे छलफल हुन्छ। त्यसपछि अन्तरिम संरचना बन्छ। त्यसलगतै क्रियाशील वितरण हुन्छ। यो नै महाधिवेशनको प्रक्रिया हो।'

'जागरण अभियानले नै ८ महिना सकिने देखिन्छ। फेरि आन्तरिक संरचना सकिन पनि एक वर्ष बढी लाग्ला?महाधिवेशन मिति त धेरै पर धकेलिने देखियो नि?'

पहिलोपोस्टको यस जिज्ञासामा प्रवक्ता शर्माले जागरण अभियानको दोस्रो चरण नसकिँदै अन्तरिम संरचना बनिसक्ने दाबी गरे।

महाधिवेशनको कार्यतालिका भने पार्टीको आन्तरिक संरचना बनिसकेर क्रियाशील सदस्यता वितरण सकिएपछि केन्द्रीय समितिले तय गर्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell