PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कास्कीलाई



पहिलोपोस्ट

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कास्कीलाई

पोखरा : गण्डकी प्रदेशस्तरीय ११औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कास्कीले जितेको छ। विसं २०६५ देखि लगातार कास्कीले सो उपाधि जित्दै आएको छ। 

यही असार २६ गतेदेखि शुरु भएको प्रतियोगितामा कास्कीले १९ स्वर्ण, १३ रजत र १० कास्यसहित ४२ पदक जितेर उपाधि जितेको हो।  एथलेटिक्समा १२ स्वर्ण, करातेमा दुई, उसुमा दुई र तेक्वान्दो, कबड्डी र भलिबलमा एक÷एक स्वर्ण कास्कीले जितेको हो।

त्यसैगरी बाग्लुङले छ स्वर्ण, चार रजत र दुई कास्य गरी १२ पदक जितेर दोस्रो बन्यो। नवलपुरले पाँच स्वर्ण, छ रजत र तीन कास्यसहित तेस्रो भएको आयोजक पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए।

प्रतियोगितामा प्रथमले ट्रफीसहित नगद रु २० हजार, द्वितीयले रु १५ हजार र तृतीय हुने जिल्लाले रु १० हजार र मेडल प्राप्त गरे।

प्रतियोगितामा छात्र-छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो र उसु खेलमा प्रतिस्पर्धा भएको थियो।

विजेताहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकासमन्त्री नरदेवी पुन, राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले पुरस्कार वितरण गरे।

 

पदक विजेता खेलाडीलाई सम्मान

गण्डकी प्रदेश सरकारले विसं २०७५ चैत २७ देखि २०७६ वैशाख ११ गतेसम्म प्रदेश नं ५ का विभिन्न स्थानमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूदमा गण्डकीबाट प्रथम, द्वितीय र तृतीय हुने खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।

आज सरकारकातर्फबाट मुख्यमन्त्री गुरुङ र  सामाजिक विकासमन्त्री पुन, राखेपका सदस्य–सचिव सिलवाल, सदस्य राजेशकुमार गुरुङलगायतले सम्मान गरेका हुन्। राष्ट्रिय खेलकूदमा गण्डकीले प्रथम १८, द्वितीय २५ र तृतीय ५० गरी ९३ पदक जितेको थियो।

व्यक्तिगत प्रतिस्पर्धामा प्रथमलाई रु १० हजार, द्वितीयलाई रु सात हजार र तृतीयलाई रु पाँच हजार तथा समूह खेलबाट प्रथम, द्वितीय र तृतीयलाई रु सात हजार, पाँच हजार र तीन हजार नगदसहित सम्मान गरिएको थियो। टोली प्रशिक्षकलाई पनि प्रथम नगद रु पाँच हजार, द्वितीय रु तीन हजार र तृतीय रु दुई हजारसहित सम्मान गरियो।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकार खेलकूद मन्त्रालय र राखेपसँगको सहकार्यमा खेलकूदको विकासको लागि काम गर्न सदैव तत्पर रहेको बताए।

राखेपका सदस्य–सचिव सिलवालले खेल पूर्वाधारको विकास गरेर पोखरालाई खेलकूद गतिविधिको अन्तर्राष्ट्रिय शहरको रुपमा विकास गर्ने योजना रहेको बताए। प्रदेश सरकारले खेलाडी सम्मानका लागि खेलकूद विकास समितिलाई रु ११ लाख ७८ हजार ८०० उपलव्ध गराएको थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell