PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नक्कली डिएसपी सक्कली प्रहरीद्वारा पक्राउ, 'रेडियो सेट' बोकेर ठग्ने धन्दामा सक्रिय



पहिलोपोस्ट

नक्कली डिएसपी सक्कली प्रहरीद्वारा पक्राउ, 'रेडियो सेट' बोकेर ठग्ने धन्दामा सक्रिय

काठमाडौं : आफूलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले धादिङ धुनिबेसी नगरपालिका वडा नम्बर २ घर भएका ३८ वर्षीय राजेन्द्र प्रसाद लुइँटेललाई पक्राउ गरेको हो। ठगी गरेको अभियोगमा राजेन्द्रलाई काठमाडौँको सितापाइलाबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्तका डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।

राजेन्द्रले आफू केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) मा कार्यरत डिएसपी भएको भन्दै ठगी गरेको प्रहरीको दाबी छ। लुइँटेलले चन्द्रागिरी नगरपालिका बस्ने विजय तामाङलाई आफ्नो सेक्युरिटी कम्पनी रहेको र कम्पनीमा पाँच प्रतिशत सेयर हाल्न १ लाख ६० हजार रुपैयाँ मागेका थिए। तामाङले मागेको मध्ये १० हजार रुपैयाँ समेत दिएको प्रहरी अनुसन्धानमा खुलेको छ।

लुइँटेलले विभिन्न व्यक्तिसँग म अप्रेसनमा छु तपाईँको मोटरसाइकल दिनुपर्‍यो भन्दै लिएर बेपत्ता हुने गरेको समेत खुलेको छ।

‘मोटरसाइकल, मोबाइलदेखि पैसासम्म लगेर बेपत्ता हुने गरेको देखियो,' डिएसपी थापाले भने।

प्रहरीले उनको साथबाट रेडियो सेट थान १ र दश हजार रुपैयाँ समेत बरामद गरेको छ। सेक्युरिटी कम्पनीले प्रयोग गर्ने कम रेन्जको रेडियो सेट बोकेर आफू प्रहरी भएको भन्दै हिँड्ने गरेका थिए। उनी सशस्त्र प्रहरीको भगौडा जवान समेत भएको प्रहरीको दाबी छ। लुइँटेल परिवारसँगै स्वयम्भू नजिकैको ढुङगेधाराको एक मन्दिरको कोठा भाडामा लिएर बसेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

लुइटेललाई २०७३ सालमा पनि प्रहरीले पक्राउ गरेको थियो। सार्वजनिक मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिएको थियो। ‘प्रारम्भीक अनुसन्धानमा पहिलेदेखि नै ठगी गर्दै हिँड्ने देखिएको छ,' डिएसपी थापाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell