PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

पूर्व मन्त्री ज्ञानेन्द्र कार्कीको कसियो लगनगाँठो : को हुन् उनकी तेस्री पत्नी?



नेत्र तामाङ

पूर्व मन्त्री ज्ञानेन्द्र कार्कीको कसियो लगनगाँठो : को हुन् उनकी तेस्री पत्नी?

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो विवाह गरेका छन्। बुढ्यौली लाग्दै गर्दा सहाराको खोजीमा रहेका कार्कीले आइतबार लगनगाँठो कसेका हुन्।

पूर्व अर्थ मन्त्रीसमेत रहेका कार्कीले राजधानीको त्रिपुरेश्वरस्थित बोगेनभिल्ला व्याङ्क्वेटमा राणा परिवारकी युवतीसँग बिहे गरेको पारिवारिक स्रोतले जनायो।

६२ वर्षीय कार्कीकी दोस्री पत्नीको एक वर्ष अगाडिमात्रै निधन भएको थियो। राणा परिवारबाटै रहेको आवु राणाको क्यान्सरका कारण निधन भएको हो। त्यसपछि बुढेसकालको लाठी खोज्ने क्रममा उनलाई राणा परिवारबाटै बधु मिलेको हो।

को हुन् कार्की ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ससुराली साइनोका कारण पनि उनको विशेष सम्बन्ध छ। पछिल्लोपटक २०७४ मा गठन भएको देउवा नेतृत्वको सरकारमा उनी अर्थ मन्त्रीसमेत भएका थिए।

२०६३ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित अन्तरिम सरकारमा कार्की जलश्रोत राज्यमन्त्री भएका थिए। सोही समयमा उनको जेठी श्रीमतीको निधन भएको थियो। जेठीबाट कार्कीको एक छोरी छिन्।

भोजपुर देउरालीका कार्कीलाई आफ्नो जिल्ला भने निर्वाचनका लागि कहिल्यै फापेन। २०५१ सालको मध्यावधिमा भोजपुर १ मा उम्मेद्वार रहेका उनी एमालेका हेमराज राईसँग पराजित भएका थिए। २०५६ को निर्वाचनमा भोजपुर १ बाट पुनः चुनाव लडेका उनका प्रतिस्पर्धी एमालेका घनेन्द्र बस्नेत निर्वाचित भए।

पहिलो संविधान सभामा पनि कार्की भोजपुर १ बाट चुनाव लडे तर माओवादीका पदम राई निर्वाचित भए। र, उनी दोस्रो संविधान सभामा समानुपातिक तर्फबाट सांसद बने। र, यही समानुपातिक आधारमा टेकेर अर्थ मन्त्री बन्न सफल भए।

अर्थ मन्त्री भएपछि कार्की प्रतिनिधि सभाको निर्वाचनमा सुनसरीमा झरे। सुनसरी ४ बाट प्रतिनिधि सभामा उनी एमालेका उम्मेदवार राजेन्द्र श्रेष्ठलाई ६ हजार ५ सय ९७ मतान्तरले हराउँदै निर्वाचित भए। कार्की हाल काठमाडौंको हात्तीगौंडामा बस्दै आएका छन्। २०३६ सालमा नेविसंघको सभापति बनेका कार्की कृष्णप्रसाद भट्टराईसँग समेत निकट सम्बन्ध राख्ने नेता हुन्।

को हुन् कार्कीकी तेस्री पत्नी?

सांसद कार्कीकी तेस्री श्रीमतीका रुपमा भित्रिएकी राणा परिवारकी युवती हुन्, नविना शमशेर। दोस्री श्रीमती आबु पनि राणा परिवारबाटै भएकाले उनको अवस्थालाई ससुरालीले विशेष सम्बोधन गरेका हुन्।

जयशमशेर राणा र मिलन राणाकी छोरी नवीना निजी व्यवसायमा संलग्न छिन्।

३६ वर्षीया उनको यो पहिलो विवाह भएको पारिवारिक स्रोतले जनाएको छ। नविनाका बुबा र आमाको यसअघि नै मृत्यु भइसकेकाले उनलाई दाजु भाउजुले कन्यादान दिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell