PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सुन तस्करीको बल्छीमा विदेशबाट फर्किने युवा: सेम्पु लगिदे भन्दै सुनका पोका भिडाउँदै



सविन ढकाल

सुन तस्करीको बल्छीमा विदेशबाट फर्किने युवा: सेम्पु लगिदे भन्दै सुनका पोका भिडाउँदै

काठमाडौं: तीन वर्षपछि लीलाबहादुर बस्नेत नेपाल फर्किँदै थिए। वैदेशिक रोजगारीका लागि कतार पुगेका बस्नेतको मनमा आफन्त र परिवारसँगको भेटघाटलाई लिएर छुटै उमङ्ग थियो। आइतवार बिहान हिमालयन एयरलाइन्सको विमानबाट उनी त्रिभुवन विमानस्थलमा अवतरण गरे।

विमानस्थलबाट बाहिरिन नपाउँदै उनी अपरिचित व्यक्तिको कब्जामा परे। कानमा मुन्द्रा, घाँटीमा सिक्री लगाएका हेर्दै गुन्डाजस्ता देखिने केही मानिसले उनलाई काम छ भन्दै नियन्त्रणमा लिए। विमानस्थलभित्र रोकी राखेको एउटा गाडीमा राखे। लीलाबहादुर अलमलमा परे, मनमा डरले पलायो। को हुन्? कहाँ लैजाँदै छन्?

विदेशबाट कमाएर ल्याएका सामाग्री लुटिने पो हुन् कि भन्ने चिन्ता पनि उत्तिकै थियो। तर केहीबेरमा नै उनको त्यो चिन्ता परे हट्यो, जब उनीहरूले आफूहरू प्रहरी भएको सुनाए। लीलाबहादुरको मनमा झन् अर्को डरले पस्यो। सादा पोशाकका प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। के गल्ती गरेँ भन्ने प्रश्न गरि नै रहे।

मोरङको कानेपोखरी घर भएका लीलाबहादुर घर होइन महानगरीय प्रहरी परिसर काठमाडौँ आइपुगे। घरमा श्रीमतीलाई विमानस्थलमा ल्यान्ड भएको खबरसमेत सुनाउन भ्याएका थिएनन्। पहिलोपोस्टसँग सम्पर्कमा आएका लीलाबहादुरले भने, ’मलाई केही पनि थाहा थिएन। कतिखेर परिवारलाई भेटौं भन्ने थियो तर यहाँ पो आइपुगेँ।‘

लीलाबहादुरले कतारबाट ल्याएको एउटा झोला प्रहरीले खोल्न थाल्यो। उनी छेउमा बसेर हेरिरहेका थिए। प्रहरीले ओला खोलिरहँदा उनी भन्दै थिए, ’यो मेरो सामान होइन। एक जनाले मेरो परिवारलाई पठाएको सेम्पु हो।‘ उनको कुरा प्रहरी सुन्ने पक्षमा थिएन। प्रहरीले झोला खोल्दै गए।

झोलामा केही थान डाइपर भेटिए। त्यसपछि एउटा पिलास मगाए। डाइपरको टाँक भटाभट खोल्न थाले। तर अचम्म टाँकभित्र पट्टी खोलेर हेर्दा सुन भेटियो। प्रहरीले अन्य डाइपरका टाँचा खोल्यो, त्यसरी नै सुन भेटिए। डाइपरका टाँक त सुनले भरिएका रहेछन्। लीलाबहादुर यो दृश्य हेरिरहेका थिए।

‘मलाई केही थाहा छैन। एउटा सँगै बस्ने भाइको चिनेको साथीले सामान नेपाल लग्दिनु भनेर हाल्दिएको थियो। सेम्पु छ दुई केजी भनेको थियो। अरू थाहा भएन,‘ लीलाबहादुरले भने।

सरकारले विमानस्थल हुँदै भित्रिने तस्करीको सुनमा कडाई गरेपछि तस्करले विभिन्न शैली अपनाएर सुन तस्करी गर्ने गरेका छन्। कहिले सुनको झोला जिब्रो मुनिदेखि मलद्वारसम्म सुन हालेर ल्याउने गरेका थिए। ‘यो एउटा नयाँ शैली हो तस्करीको। हामीले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएका हौँ,’ परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए।

आफ्नो अगाडि नै आफूले ल्याएको झोलामा सुन भेटिएपछि लीलाबहादुर निःशब्द बनेका थिए। एउटै वाक्य भन्थे, ‘मलाई यसमा के छ भन्ने थाहा थिएन।‘ तर उनी फसिसकेका थिए। प्रहरीले रङ्गे हात नियन्त्रणमा लिएको थियो। घरमा सम्पर्क त गर्न पर्‍यो। प्रहरीले फोन मागेर श्रीमतीलाई फोन गरेर घटना सुनाए।

विदेशमा बस्ने सुन तस्करले यसरी वैदेशिक रोजगारीमा भएका युवालाई आफ्नो जालमा पार्ने गरेका छन्। प्रहरीले नेपालमा लीलाबहादुरले ल्याएको सुन बुझ्न विमानस्थल आएका दुईजनालाई समेत नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार: 

सुन तस्करीको नयाँ शैली : कतारबाट फर्केका बस्नेतको साथमा रहेको 'डाइपर'मा भेटियो सुन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell