PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कला र अश्लिलता बीचको द्वन्द्व, ‘मैनदानी’ 



पहिलोपोस्ट

कला र अश्लिलता बीचको द्वन्द्व, ‘मैनदानी’ 

काठमाडौं: एन्टन चेखवको ‘द वर्क अफ एन आर्ट’बाट प्रभावित नाटक ‘मैनदानी' अनामनगरको मण्डला थिएटरमा मञ्चन भइरहेको छ।  कला र त्यससँग जोडिएका विभिन्न सामाजिक र मनोवैज्ञानिक आयामहरुलाई फरक ढंगले प्रस्तुत गरेको नाटक मैनदानीलाई संयोग गुरागाइँले निर्देशन गरेका हुन्।

नाटकमा मैनदानीलाई मैनबत्ती राख्ने भाँडो मात्र नभएर ‘न्युड आर्ट’ को रुपमा प्रस्तुत गरिएको छ । नाटकमा मैनदानीलाई न मैन राख्ने भाँडोको रुपमा प्रयोग गरिएको छ न त आर्टको रुपमा नै । यौन आसनमा रहेको न्युड जोडी आर्ट गरिएको मैनदानीलाई समाजले यौन कुण्ठाको रुपमा लिएको छ। नाटकमा कलालाई समाजले कुन दृष्टिले हेर्छ भन्ने देखाइएको छ। 

डाक्टरदेखि वकिल र गायक जस्ता शिक्षितवर्गले समेत कला र सृजनामाथि राखेको गलत धारणालाई मैनदानीले सहज तरिकाले प्रस्तुत गरेको छ। यौनको विषयमा खुलेर कुरा नगर्ने हाम्रो संकुचित सोचाइमा अडिरहेको नेपाली समाजमाथि मैनदानीले तिखो व्यंग्य गरेको छ। हाम्रो पुरातनवादी समाजले सर्जकको कला र सृजनालाई खुलेर स्विकार गर्न सकेको छैन। यही यौन र कला बीच भिन्नता नदेख्दा उत्पन्न भएको द्वन्द्वलाई मैनदानीले सन्देशमूलक ढंगले प्रस्तुत गरेको छ। 

केशव (रिजन परियार) एउटा गरिब केटा जोसँग बिरामी आमाको उपचार गर्ने पैसा हुँदैन्। उनी डाक्टर प्रतीक (आयान खड्का) कहाँ आफ्नो आमाको उपचारको लागि पुग्छन्। चिनजानको हिसाबले डाक्टरले केशवको आमाको नि:शुल्क उपचार गरिदिन्छन्। नि:शुल्क उपचार गरेबापत केशवकी आमाले डाक्टरलाई एउटा मैनदानी उपहार स्वरुप दिन्छिन्। तर भर्खरैमात्र आफ्नो चरित्र सुधार्न लागेका डाक्टर प्रतीकले नाङ्गो मूर्ति उपहार स्वरुप लिन मान्दैनन्। केशवले धेरै कर गरेपछि अन्तत: उनी उपहार लिन बाध्य हुन्छन्। आफ्नो चरित्र जोगाउनको लागि प्रतीकले उक्त नाङ्गो मूर्ति आफ्नो वकिल साथीलाई दिन्छन् । तर जीवनमा कहिल्यै नराम्रो काम नगरेका वकिलले आफ्नो इज्जत र प्रतिष्ठा गुम्ने डरले मूर्तिको महत्व बुझदैनन् र उनले र्‍यापर जोजो (अकिंत खड्का) लाई उक्त मुक्ति दिन्छन्। र्‍यापर जोजोलाई नाङ्गो मूर्ति कलात्मक लाग्छ। उनले यो उपहार स्विर्काछन्। तर समाजको डरले अन्तिममा उनले त्यो मूर्ति राख्दैनन् । अन्तत: नाङ्गो मूर्ति अन्तिममा डाक्टरको हातमा नै पुग्छ। 

उता र्‍यापर जोजोको अन्तर्वाता लिन गएकी महिला पत्रकार (देविशा लामिछाने) ले स्क्यान्डल मच्चाउनलाई नै जोजोलाई सोधेका प्रश्नहरुबाट आज भोलिका युट्युब च्यानलको अवस्था चित्रण गर्न सकिन्छ। कलाकारको स्टारडम र डाउनफल मिडियाकै हातमा हुन्छ भनेर ठोकुवा गर्ने युुटुबरहरुलाई पनि नाटकमा व्यंग्यात्मक रुपले प्रस्तुत गरिएको छ। पैसा कमाउनको लागि ट्रेन्डिङ र स्क्यान्डल मचाउने प्रवृतिका युट्युबरलाई मैनदानीले चोटिलो प्रहार गरेको छ। त्यस्तै आफ्नो श्रीमानको न्युड आर्ट प्रेमबाट आजित प्रिया (निकिता आचार्य) वकिल कँहा आफ्नो गुनासो लिएर पुग्छिन्। जहाँ उनको भेट आफ्नो भूतपुर्व प्रेमी प्रतीकसँग हुन्छ। तर न्युड आर्टसँग रमाउने प्रियाको श्रीमानलाई भने पर्दामा एकपटक पनि प्रस्तुत गरिएको छैन्।


मैनदानीलाई हरकोहीले फरक फरक तरिकाले बुझ्छन्। नाटकमा कसैले न्युड मैनदानीलाई अश्लिलताको रुपमा हेरेका छन् त कसैले मैनदानीलाई कला र सर्जकको सृजनाको रुपमा हेरेका छन्। यही कला र अश्लिलता बीचको द्वन्द्व नै मैनदानीको मूल भाव हो। मैनदानीले सामाजिक बेतिथिलाई कलाको माध्ममबाट प्रस्तुत गरेको छ। 

सिक्का इन्टरटेनमेन्ट प्रा.लिले निर्माण गरेको नाटक ‘मैनदानी’लाई युनिक केसीले निर्माण गरेका हुन्। मैनदानीमा मिलन कार्की, रिजन परियार, आर्यान खड्का, अकिंत खड्का, निकिता आचार्य, देविशा लामिछाने, विकाश पन्त लगायतका कलाकारहरुले अभिनय गरेका छन्। असार १३ गतेदेखि मञ्चन भएको नाटक मैनदानी साउन ५ गतेसम्म सोमबार बाहेक हरेक साँझ ५ः१५ देखि मञ्चन हुनेछ।  

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell