PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मोस्ट वान्टेड 'सिरियल किलर' नसिम खाँ कुन मिसनका लागि आए काठमाडौं?



पहिलोपोस्ट

मोस्ट वान्टेड 'सिरियल किलर' नसिम खाँ कुन मिसनका लागि आए काठमाडौं?

काठमाडौं : प्रहरीको खोजी सूचीमा रहेका कपिलबस्तुका नसिम खाँ पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो( सिआइवी)को टोलीले खाँलाई पक्राउ गरेको हो। अपहरण, हत्या लगायत आधा दर्जन घटनामा संलग्न भनिएका खाँलाई व्यूरोले शनिवार काठमाडौंको नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको हो।

‘काठमाडौं आएको सूचनाका आधारमा नियन्त्रणा लिएका हौं। थप अनुसन्धान भइरहेको छ,' व्यूरोका एसपी दीपक रेग्मीले भने।

पछिल्लो पटक कपिलबस्तुमा २०७४ फागुनमा एक बालकको अपहरणपछि हत्या गरेको अभियोग उनीमाथि छ। बालकको शव तीन दिनपछि घर नजिकै फेला परेको थियो। चार वर्षीय मोहम्मद अहेमानको हत्यागरी उनी फरार रहेको प्रहरीको दावी छ।

उनी विरुद्ध २०६३ साल यता आठवटा हत्याका मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। उनी सुयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रिय सदस्य समेत भएको खुलेको छ।

खाँ भारतमा बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो। उनी काठमाडौं किन आए भन्ने चाहिँ खुल्न सकेको छैन। व्यूरोले थप अनुसन्धान र कारबाहीको लागि खाँलाई जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा बुझाउने तयारी गरिरहेको छ।

अपराधिक यात्राको श्रृङ्खला नै

२०६३ जेठ १९ गते कपिलबस्तु फुलिका ३ बस्ने धर्मराज बराईको छोरालाई धारिलो हतियार प्रहार गरी हत्या भयो। नसिम खाँविरुद्ध किटानी जाहेरी पर्‍यो। २०६३ साउन १४ गते जिल्ला अदालत हुँदै तत्कालीन पुनारावेदन अदालत पुग्यो मुद्दा। अहिले उच्च अदालतमा मुतलवीमा रहेको प्रहरीले जनाएको छ।

२०६४ वैशाख १७ गते सन्दीप कुमार गुप्ताको गाडी रोकेर रकम लुटियो। महेन्द्रा जिपलाई रोकी बन्दुक देखाएर दुई लाख रुपैयाँ लुटिएको थियो। यसमा पनि खाँकै संलग्नता देखियो। २०६४ चैत २५ गते अदालतमा पेश भएको खाँ संलग्न रहेको मुद्दाको मिसिल सर्वोच्च अदालतमा रहेको प्रहरीले जनाएको छ।

२०६४ फागुन ६ गते जी. भुवन भन्ने प्रेम परियारलाई गोली हानी हत्या गरेको पनि उनीमाथि आरोप छ।

२०६५ कार्तिक ९ गते गाविस सचिव राम मिलन प्रसाद गुप्तालाई गोली हानी हत्या गरेको भन्दै उनीविरुद्ध किटानी जाहेरी भयो। यसको पनि मुद्दा किनारा लागिसकेको छैन।

२०६७ वैशाख १३ गते ३५ वर्षीय राजेन्द्र प्रसाद तिवारीको हत्या भयो। यसमा पनि उनकै नाम जोडियो।

२०६४ चैत ९ गते रामहर्षप्रसाद कुर्मीका छोरा शिवपुजन कुर्मीलाई गोली हानी हत्यामा पनि यिनकै संलग्नता देखिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell