PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बेहालमा पार्टीका वेबसाइट : सूचना प्रवाह कसरी हुने गर्छ नेपालका राजनीतिक दलमा?



पहिलोपोस्ट

बेहालमा पार्टीका वेबसाइट : सूचना प्रवाह कसरी हुने गर्छ नेपालका राजनीतिक दलमा?

कुनै पनि पार्टीलाई जिवन्त राख्न संचारको महत्वपूर्ण भूमिका हुन्छ। नेपालका राजनीतिक दलभित्र संचार संरचना कति बलियो छ त? सूचना प्रवाहमा उनीहरुको तदारुकता र शैली कस्तो छ त? पहिलोपोस्टका कुञ्जरमणि भट्टराईले पार्टीको सूचना प्रवाह कसरी भइरहेको छ भन्ने खोतलेका छन् :

प्रचार विभाग नबन्दा अलमलिएको नेकपा

तत्कालीन नेकपा एमाले तथा माओवादी केन्द्र पार्टी एकता भएको यति लामो अवधिमा पनि पार्टीको वेबसाइट किन सार्वजनिक गरिएन त?

‘पार्टी एकतापछि वेबसाइटको नाम पनि एकीकृत गरी राखिनुपर्छ। एक त वेबसाइटको नाम के राख्ने भन्ने टुंगो नै छैन,’ नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल भन्छन्, ‘पार्टीको प्रचार विभाग नै बनेको छैन कसले के गर्ने भन्ने अन्यौलमा छौं।’ रिजाल पत्रकारिता पृष्ठभूमिका हुन् र उनी प्रचार विभागमा लामो समयदेखि सक्रिय छन्। पार्टीको सूचना प्रवाह गर्ने वेबसाइट त्यही प्रचार विभाग अन्तर्गत पर्छ जसको अनुपस्थितिमा दुई दलको आआफ्नै सूचना प्रणाली कायमै छ।

नेकपा एमालेको www.cpnuml.org यो वेबसाइटमा एउटा सूचना छ - ncp.org.np मा चाँडै आउँदै छौं। नयाँ साइटमा जेठ ३१ को एउटा शोक वक्तव्य सबैभन्दा पछिल्लो अपडेट हो।

पार्टी एकतापछि जिम्मेवारी नतोकिँदा यसमा काम बढ्न नसकेको उनको भनाइ छ। एकतापछि ने क पा को केन्द्रीय कमिटी बैठक समेत बन्न सकेको छैन, प्रचार विभाग गठन र वेबसाइट बन्ने विषय त टाढाको कुरा। अर्को रोचक पक्ष के छ भने पार्टीको आधिकारिक वेबसाइट सक्रिय नभए पनि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका निजी वेबसाइटहरु भने निरन्तर अपडेट भइरहन्छ। 

त्यसैले ने क पा को पार्टी सर्कुलर जिल्ला कमिटीहरुले इमेल मार्फत प्राप्त गर्छन्। महत्वपूर्ण निर्णयहरु बैठक सकिएको दिनमा तथा सैद्धान्तिक निर्णयहरु जिल्ला कमिटी तथा अध्यक्षको इमेलमा जाने पठाइन्छ। पार्टी सचिवको हस्ताक्षरमा सर्कुलर जारी हुने परम्परा छ।

पार्टीको सर्कुलर इमेलबाट पठाइने गरिएको बताउँछन् नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपाल।

अन्तर संगठनका निर्देशन मेल हुनेलाई मेल मार्फत् तथा नहुनेलाई अरु माध्यमबाट पठाउने गरिएको उनले बताए। जिल्ला कमिटीको बैठक मेल आइडी हुने पदाधिकारीहरुलाई मेल मार्फत् तथा नहुने पदाधिकारीहरलाई एसएमएसबाट पठाउने गरिएको उनले बताए।

जिल्ला कमिटीका ७० प्रतिशत पदाधिकारी प्रविधिमैत्री रहेको उनले दावी गरे। पार्टीको आधिकारी वेबसाइट नहुँदा केही असर पर्ने स्वीकार गर्दै पार्टी संक्रमणकालीन परिस्थितिमा भएकाले वेबसाइट पूर्ण रुपमा आउन नसकेको उनको भनाइ छ।

परम्परागत पारामा प्रमुख प्रतिपक्षी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बेठकका निर्णयहरु जिल्ला तहमा इमेल मार्फत् पठाउने गरेको छ । बैठकका निर्णयहरु पार्टी कार्यालका मुख्यसचिवले जिल्ला समिति तथा जिल्ला सभापतिहरुलाई मेलमार्फत् पठाउँछन्।

केन्द्रीय समिति बैठकका निर्णय बैठक सकिएको केही समयमै मेलमार्फत् पठाउने गरिएको कांग्रेस केन्द्रीय कार्यालका मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए।

‘महत्वपूर्ण निर्णयहरु छन् भने मेल गरिसकेपछि चेक गर्न फोनबाट पनि जानकारी दिने गरेका छौँ,’ उनले भने। केही वर्ष अघिसम्म पत्रमार्फत् जानकारी दिने गरिए पनि प्रविधिले सहजता थपिदिएको पौडेलको बुझाइ छ।

इमेल मार्फत् आएका केन्द्रीय समितिका सामान्य जानकारीहरु फेसबुक मार्फत् सार्वजनिक गर्ने तथा महत्वपूर्ण निर्णयहरु पत्र मार्फत् तल्लो तहमा पठाउने गरेको बताउँछन्, कांग्रेसका डोटी जिल्ला सभापति प्रदीप देउवा। इन्टरनेटको सहज पहुँच नभएका कारण यो समयमा पनि पत्र मार्फत् जानकारी पठाउनु परेको उनको भनाइ छ।

‘जिल्ला समितिको बैठकको जानकारीका लागि मासिक मिटिङ तोकिएको हुन्छ त्यहीँबाट थाहा पाउँछन्। फोनबाट जानकारी दिइने गरिएको छ,’ उनले भने ।

नुवकोट जिल्ला सभापति जगदीशनरसिंह केसी जिल्ला कार्य समितिमा मेल मार्फत् जानकारी दिने गरिए पनि तल्ला कमिटीमा भने चिठ्ठी पठाउने गरिएको बताउँछन्। इन्टरनेटको सहज पहुँच नभएको ठाउँमा चिठ्ठी पठाउने र त्यसको जानकारी फोनमार्फत् दिइने उनले बताए।

वेबसाइटमा ढिलो अपडेट

नेपाली कांग्रेसको आधिकारिक वेबसाइटमा जिल्लाका निर्णयहरु पनि अपडेट हुने गरेका छन्। तर केन्द्रीय वेबसाइटमा अपडेट ढिला हुने गरेको केसीको भनाई छ।

कांग्रेस केन्द्रीय समितिको निर्णयहरुमा पहिले महामन्त्रीको हस्ताक्षर हुन्थ्यो। हाल मुख्य सचिवको हस्ताक्षर हुने गर्छ। ‘बैठकको जानकारी मुख्य सचिवले दिए पनि निर्देशन भने दिनु अपमानजनक भएको’ उनको गुनासो छ।

उनले भने, ‘पहिले महामन्त्रीले हस्ताक्षर गरेको पत्र आउँथ्यो। हाल मुख्य सचिवको हस्ताक्षर भएको पत्र आउँछ। कर्मचारीको हस्ताक्षर भएको पत्रले हाम्रो अपमान भयो भनेर पटकपटक कुरा उठाउँदा पनि सुनुवाइ भएन।’

जिल्ला समितिका निर्णयहरु भने जिल्ला सचिवले प्रवाह गर्ने गरेको उनले बताए। तर पछिल्लो पटक नेपाली कांग्रेसल गरेको जागरण अभियानको पत्रमा चाहिँ पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहित पत्र प्रवाह गरिएको थियो। तल्ला तहमा इन्टरनेटको पहुँच भइसकेपछि भने सूचना प्रवाहमा सहज हुने उनले बताए।

नेपाली कांग्रेसको वेवसाइट पार्टीकै आइटी डिपार्टमेन्टले अपडेट गर्छ जसका लागि ३/४ जना कर्मचारी छन्।

वेबसाइट अपडेट गर्न अधिवेशन कुर्दै राजपा

४८ जिल्लामा कमिटी रहेको राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय कमिटी बैठकका निर्णयहरु इमेल, फेसबुक मेसेन्जर,ह्वाटस एप, फ्याक्स मार्फत् जिल्ला तहमा पुग्ने गर्छ। सबै जिल्ला कमिटीहरुले इमेलको प्रयोग नगरेकाले सहजता अनुसार निर्णयहरु पुर्‍याउने गरिएको महासचिव केशव झाले बताए।

महासचिवको निर्देशनमा कार्यालका सचिवले तल्लो तहमा विभिन्न माध्यमको प्रयोग गरी निर्णयहरु जानकारी गराउँछन्। कतिपय जिल्लाहरुमा भने फोन मार्फत् नै जानकारी टिपाउने गरिएको झाको भनाइ छ। राजपाले केन्द्रीय बैठकको जानकारी भने फोन मार्फत् दिने गरेको छ।

राजपाको आधिकारिक वेबसाइट भए पनि यसले राम्रोसँग चलाउन नसकिएको उनले बताए। नेतृत्व व्यवस्थापनमा समस्या भएकाले पनि टेक्निकल विषयमा ध्यान जान नसेको उनी स्वीकार्छन्। अधिवेशनपछि नै वेबसाइट अपडेट गरिने उनले बताए।

सप्तरी जिल्लाका अध्यक्ष सुनिल कुमार झा बैठकका निर्णयहरु फोन मार्फत् जानकारी पाउने तथा केही समयमा चिठ्ठी पनि आउने गरेको बताउँछन्। जिल्ला तहको बैठकका लागि मेसेन्जरबाट जानकारी दिइए पनि औपचारिकताका लागि फोन गरिने उनले बताए। प्रविधिको विकासलाई सकारात्मक भए पनि सबै ठाउँमा इन्टरनेटको पहुँच नपुगेका कारण प्रविधिसँग साक्षात्कार गर्न नपाएको उनको भनाइ छ।

समाजवादीले छिट्टै ल्याउने

सूचना प्रविधिमा राम्रो दखल राख्ने पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको नयाँ शक्तिसँग एकता भएपछि संघीय समाजवादी फोरमको पुरानो वेबसाइट पनि सक्रि छैन। समाजवादी पार्टीमा यी दुई रुपान्तरण भइसकेका छन् त्यसैले पनि नयाँ वेबसाइट बनिसकेको छैन। पार्टीको तल्लो तहका कमिटीहरु असार मसान्तभित्रै टुंग्याउने क्रममा समाजवादी पार्टी जुटेको छ।

पार्टीको तहको बैठकका जानकारी पार्टीका उपमहासचिव तथा तथा कार्यालय सचिव प्रकाश अधिकारीले दिने गरेका छन्। पार्टीको बैठकको जानकारी फोन, इमेल तथा मेसेन्जरबाट दिने गरिएको उनको भनाइ छ। पार्टीको वेबसाइट केही समयभित्रै सञ्चालनमा ल्याउने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell