PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मरेको बाघको जुँगा उखेल्दा पाँच लाख जरिवाना



रासस

मरेको बाघको जुँगा उखेल्दा पाँच लाख जरिवाना

  • सरोज कामत -

राजापुर : नेपालीमा एउटा उखान छ- मरेका बाघको जुँगा उखेल्ने। कसैको बहादुरीको खिल्ली उँडाउन प्रयोग गरिने यो उखान गेरुवा गाउँपालिका ४ शान्तिपुर धकनियाका सुन्दरलाल चौधरीलाई भने महँगो परेको छ। चौधरीले मरेको बाघको जुँगा उखेल्दा पाँच लाख रुपैयाँ तिर्नुपरेको छ। उनलाई अदालतले बाघको जुँगा उखेलेर घरमा लुकाएको आरोपमा पाँच लाख जरिवाना गरेको हो।

उनलाई बाघ मारेको आरोपसमेत लगाई पक्राउ गरिएको थियो। तर, बाघ मारेको प्रमाण फेला नपरेपछि जिल्ला अदालतले बाघको जुँगा उखेली घरमा लुकाएको अभियोगमा पाँच लाख जरिवाना तिर्न लगाई रिहा गरिदिएको छ।

बर्दिया जिल्ला अदालतका मुख्य न्यायाधीश किरणकुमार पोखरेलको इजलासले बाघ मारेको आरोपमा पक्राउ परेका चौधरीलाई पाँच लाख जरिवाना तिराएको हो। फैसलामा अभियुक्त चौधरीले गत पुस २८ गते बाघको जुँगा उखेलेर घरमा लुकाई राखेको प्रमाण फेला परेको र बाघको जुँगा घरमा राख्नु गैरकानूनी भएको उल्लेख गर्दै उक्त जरिवाना तोकिएको हो।

वन्यजन्तु मारेको र अङ्ग ओसारपसारमा संलग्न अभियुक्तलाई पाँचदेखि १५ लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी प्रावधान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell