PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

एउटै मञ्चमा सम्पूर्ण नेपाल झल्किने नृत्यः राउटेहरुको जनजीवन देखि किराँतहरुको संस्कृति सम्म

एउटै मञ्चमा सम्पूर्ण नेपाल झल्किने नृत्यः राउटेहरुको जनजीवन देखि किराँतहरुको संस्कृति सम्म

मन्दिरा खत्री/पहिलोपोस्ट


काठमाडौंः जंगलममा बस्ने राउटे समुदायले नाच्ने नृत्यदेखि हिमाल, पहाड तराई तथा पूवै र पश्चिमको प्रतिनिधित्व हुने नृत्यहरु एकै मञ्चमा देखियो।

सोमवार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय नृत्य महोत्सव २०७६’ मा सुदुर पश्चिम र मध्यपश्चिमको दैलेख हुम्ला, जुम्ला तथा कर्णाली क्षेत्रका विभिन्न स्थानमा बस्ने राउटे समुदायहरुको नृत्य प्रस्तुत भयो। जंगलमै बस्ने गुना मारेर खाने काठको भाँडा बनाउने यस जातिको जनजीवनलाई समेटिएर ‘नानो नो मानाङ्ग’ बोलको गीतमा अर्जुन कुमार विसीलगायतको टोलीले नृत्य प्रस्तुत गर्‍यो। 

देशभरका नृत्यहरु छनौट गरी प्रतिनिधिगत रुपमा धेरै संस्कृतिलाई एउटै मञ्चमा प्रस्तुत गरिएको महोत्सवमा नेपालका पूर्व देखि पश्चिम सम्म र तराई देखि हिमाल सम्म प्रतिनिधित्व गर्ने गरी विभिन्न सांस्कृतिक नृत्यहरु प्रस्तुत भए। एक दिने महोत्सवमा कर्णाली कला संस्कृति समाजले पश्चिमको देउडा नृत्य प्रस्तुत गर्‍यो। ‘रारा जाने मुल बाटो’बोलको गीतमा नृत्य प्रस्तुत गरिएको थियो। 

महोत्सवमा देवी शक्तिको विश्वासलाई चित्रण गर्दै नाचिने तन्त्र साधाना सहितको नृत्य अष्टमातृका नृत्यसमेत प्रस्तुत भयो। श्री नाश: कल्चर सेन्टरका कालाकारहरुले यो नृत्य देखाएका थिए। 

त्यस्तै ‘झुपुमा झुपु’ बोलको गीतमा न्यू सत्यासाइ कला केन्द्र बुटवलका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए। नेपाल संगीत कला केन्द्र रौतहटका कलाकारहरुले ‘छमराके बेटा मे’ बोलको गीतमा तराई क्षेत्रमा बसोबास गर्ने मैथिली भाषिको परम्परागत नृत्य जटजटिन नृत्य प्रस्तुत गरेका थिए।  

महोत्सवमा धरानबाट आएका कलाकारहरुले साकेला नृत्य प्रस्तुत गरे। त्यस्तै किराँत राईहरुको ‘नमशेवल (नमस्ते) नृत्य’ काठमाडौंको ख्वापकिमी कला संस्थाले प्रस्तुत गरेका थियो। 

त्यस्तै पहाडी इलाकामा प्रचलित घाटु नृत्य देखि पश्चिमाञ्चलको तनहुँ क्षेत्रमा नाचिने कौरा नृत्य पनि प्रस्तुत भएको थियो। त्यस्तै टप्पा, तामाङ सेलो र झ्याउरेसमेत महोत्सवमा देखाइएको थियो। 

महोत्सवमा सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए। 



ट्रेन्डिङ पोस्ट

Ncell