PahiloPost

Aug 20, 2019 | ३ भदौ २०७६


'कलकत्ते काइँयो केश मेरो बाङ्गो टेबलमा ऐना छ…' कोलकाता डायरीमा नअटाएको त्यो काइँयो


वसन्तराज उप्रेती

'कलकत्ते काइँयो केश मेरो बाङ्गो टेबलमा ऐना छ…' कोलकाता डायरीमा नअटाएको त्यो काइँयो

काठमाडौं : सानो छँदा एयरपोर्ट नजिकैको घरबाट उडिरहेको जहाज नियालिरहन्थेँ। स्कुलबाट फर्केपछि छतमा पुग्यो। माछा आकारका ढुंगा खोज्यो अनि त्यही ढुंगाको पाइलट बनेर खुबै उडाइन्थ्यो जहाज। कौशीको पर्खालमा घोटेर ढुंगाको जहाज उडाउँदा धरर कोरिएर आएको आवाज र तानिएका लामा धर्काहरु प्लेनले छोडेको धुँवा जस्तै लाग्थ्यो।

गत जेठ १७ गते शुक्रबार विहान आठ बजे पहिलोपटक काठमाडौं-कोलकाता सिधा उडानका लागि बुद्ध एयरको एटिआर ७२ जहाज स्टार्टअप गरिरहँदा म बाल्यकालतिरै फर्किएको थिएँ। बुद्ध एयरको जहाजसँगको यो उडानमार्फत् म कोलकाता जाँदै थिएँ। मनमनै गम्किएँ- ‘यतिबेला म सानोबेलाको जस्तो ढुंगाको जहाजको पाइलट होइन, सेतो र निलो रंगको जहाजको प्यासेन्जर पो हुँ।‘

पहिला जहाज उडिसकेपछि आँखाले भ्याउन्जेलसम्म हेरिरहन्थेँ। माछाजस्ता लामा जहाजहरु उडिसकेपछि साना थोप्लाजस्ता हुँदै पर पुग्थे। म एकटकले आँखा झिम्म नगरी उडिरहेको जहाज हेर्थेँ। कतिपटक आँखा झिम्म गर्दा त्यो एक झिम्क्याइमा जहाज आकाशमा बिलाइसक्थ्यो। मन खिन्न हुन्थ्यो। अर्को पटक त जहाज उम्किएला कि जस्तो गरी सासै रोकेर एकटक हेरिबस्थेँ। तर जाँदाजाँदै पर कतै बिलाउँथ्यो त्यो पनि! ओहो यतिबेला त म आफैं जहाजभित्र छु।

जहाजले झण्डै साढे आठ बजे भुईं छोड्यो। कुनै ठडिएका कुनै कोल्टे परेका बादलका थुम्काहरु काट्दै गर्दा मैले सम्झिएँ जयनन्द लामाले गाएको 'कलकत्ते काइँयो केश मेरो बाङ्गो टेबलमा ऐना छ...।

कोलकाता टेक्ने मेरो उत्साहलाई गीतले झनै बढाइदिएको थियो। साँच्चै त्यो कलकत्ते काइँयो कस्तो पो थियो होला जसबाट यति रमाइलो लोकगीत प्रचलनमा आयो।

काठमाडौंदेखि कोलकाता उडानको त्यो डेढ घण्टा मैले ‘फ्ल्यास ब्याक’मै बिताएछु। पत्तै भएन कतिबेला कोलकाताको सुवाशचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो।

जहाजबाट ओर्लिँदा ३८ डिग्रीको तातो। ओहो! एकैपटक तातो हावाले छोप्यो। तर, कोलकाता हेर्ने उत्साहका सामुन्ने गर्मी के टिक्थ्यो र। विमानस्थल गज्जबको रहेछ। अध्यागमनको प्रक्रिया सकेर बाहिर निस्कँदा टोयोटाको इनोभा हामीलाई पर्खिरहेको थियो। कोलकातामा ट्याक्सीको रुपमा एम्बेस्डर, टोयोटा, हुण्डाइ, सुजुकी लगायतका कम्पनीका गाडी प्रयोग हुँदा रहेछन्।

धेरै सवारीसाधनको चाप भए पनि कोलकातामा धुँवाधुलो र ट्राफिक जाम थिएन। काठमाडौंको धुँवा धुलो र जामबाट उम्किएको म एकछिन त चकित भएँ।

ब्यवस्थित सडक, ठाउँठाउँमा राखिएका ओभरहेड ब्रिज र ट्राफिक लाइटले भिडभाडलाई सहजै ब्यवस्थापन गर्ने रहेछ। व्यवस्थित सडक पूर्वाधार भए शहरको सौन्दर्य नै गज्जबको हुने रहेछ भन्ने कोलकातालाई देखेर महसुस गरेँ। बाटोमा पुराना घरहरु लहरै थिए। कंक्रिट भन्दा रुखहरु धेरै भएकाले सफा र सुन्दर देखियो कोलकाता शहर।

'न्यू मार्केट' सँगै रहेको द होटल लिण्ड्सेमा केहीबेर थकाई मारेपछि हामी शहर डुल्न थाल्यौं। हिन्दुहरुको शक्तिपीठ 'कालीघाट', अंग्रेजले निर्माण गरेको भिक्टोरिया प्यालेस, मदर टेरेसाको समाधि, हावडा ब्रिज, गंगासागर जस्ता ठाउँहरु जाँदा कोलकाता बिबिधताको समिश्रण जस्तो लाग्यो।

बजारमा चहलपहल उत्तिकै छ। भिडभाड उस्तै। मैले भने बजार घुमिरहँदा कलकत्ते काइँयो नै सम्झिरहेको थिएँ। कहाँ पाइएला? कसैलाई सोधुँ कि? गीतले भनेजस्तो काइँयो कस्तो हुन्छ? बजार घुम्दा मैले कहीँ पनि त्यो काइँयो देखिन। सोधुँ भने पनि नेपालमा बखान चलेको त्यो काइँयोबारे कोलकाता कतिको जानकार होला? किन्न नपाए पनि मनमा काइँयो बोकेरै म शहर घुमिरहेँ।

कुनै बेला धनाढ्य, राजनेता र बिशिष्ठ अधिकारीहरुले मात्र चढ्ने गरेका सेता रंगका एम्बेस्डर यतिखेर व्यवसायिक रुपमा सर्वसाधरणको ट्याक्सी बनेको रहेछ। पहिला साइरन सहित देखिने त्यो सेतो एम्बेस्डर अहिले पहेँलो रङमा देखिएका छन्। कोलकाता शहरमा १० हजार भन्दा बढी एम्बेस्डर गाडी ट्याक्सीको रुपमा संचालन हुँदै आएको सुन्दा रमाइलो लाग्यो। यहाँका घरहरु, मान्छेको लवाई र रहनसहन पनि पुराना हिन्दी सिनेमाका दृश्य जस्तो।

भोलिपल्ट हाम्रो यात्रा कोलकातादेखि भुवनेश्वर 'विजु पटनायक अन्तर्राष्ट्रिय विमानस्थल' तर्फ थियो। करिब पाँच सय किलोमिटर दुरीमा रहेको यो गन्तब्यमा इन्डिगोको जेट जहाजमार्फत् ५० मिनेटको यात्रा गरियो। बजेट एयरलाइन्समा भएको इन्फ्लाइट सपिङ देख्दा नेपाल वायुसेवा निगमलाई सम्झिएँ। झण्डै एक वर्ष अगाडि निगमले पनि यसैगरी इन्फ्लाइट सपिङ सुरु गर्ने भनेको थियो। तर, अहिलेसम्म त्यो योजना थाँती नै छ। वाटर बोटल, ब्याग, लगेज, श्रृंगारका सामान, खानेकुरा जहाजभित्रै किन्न मिल्ने रहेछ। त्यसमाथि कार्ड स्वाइप गरे २० प्रतिशत छुट।

भुवनेश्वर झरेपछि हामी पुग्यौँ कोनार्क। संसारमा सबैभन्दा सुरुमा सूर्यको किरण ठोक्किने स्थान हो कोनार्क।

विमानस्थलबाट ६५ किलोमिटर दुरीमा रहेको कोनार्क सूर्य मन्दिर पुग्दा निकै आश्चर्य लाग्यो। १३ औँ शताब्दीमा राजा नर्सिंह देवले बनाएका यो मन्दिरमा २४ चक्के रथमा सातवटा घोडाले भगवान सुर्यलाई स्वर्ग लगेको किम्बदन्ती कुँदिएको छ।

दन्त्यकथाका अनुसार सूर्य भगवानको पूजा गर्नका लागि भगवान कृष्णका छोरा साम्बले यहाँ मन्दिर निर्माण गरेका थिए। इतिहासमा सूर्य मन्दिरको निर्माण गंगवंशका पहिला राजा नरसिंह देवले १३औं शताब्दीमा निर्माण गरेको उल्लेख छ। यस मन्दिरमा प्रयोग भएका ढुंगा राजस्थानबाट ल्याइएको त्यहाँका संरक्षकले हामीलाई जानकारी दिए।

कोनार्कपछि हामी ३५ किलोमिटर दुरीमा रहेको जगन्नाथ पुरी पुग्यौँ। चारधाम मध्ये एक जगन्नाथ पुरी १२ औँ शताब्दीमा गुरु शंकराचार्यले चिनाएका हुन् भने गंगा राजकुलले निर्माण गरेका हुन्।

बद्रीनाथ, रामेश्वरम, पुरी जगन्नाथ र द्वारिका लगायत चारधाममध्ये जगन्नाथ पुरीलाई कलियुगका देवता भनेर चिनिन्छ। सत्ययुगमा बद्रिनाथ, त्रेता युगमा रामेश्वरम्, द्वापर युगमा द्वारिका र कलियुगमा जगन्नाथको युग रहेको धार्मिक आस्था रहेको छ।

प्रसादलाई 'पुरी'को पर्यायवाची मानिँदै आइएको यो मन्दिरमा भगवानलाई दैनिक ६ पटक खाना खुवाइँदो रहेछ। हिन्दु धर्म बाहेक अन्य धर्मावलम्बीलाई दर्शनका लागि अनुमति नदिइने यो मन्दिरमा नेपालको राजा बाहेक अन्य कसैले पनि मुख्य पुजाकोठामा प्रवेश नपाएको हाम्रा गाइड सौभाग्य पटनायकले सुनाउँदा रमाइलो लाग्यो।

मन्दिरको मुख्य कक्षमा जगन्नाथ, बलराम र सुभद्राको मुर्ति रहेको छ। राजाको शासन समाप्तिपछि जगन्नाथमा राजाको एकल पुजाआजा पनि बन्द भएको उनले बताए। उनका अनुसार हरेक असारमा जगन्नाथको रथ यात्रा हुने गर्छ।

जगन्नाथ दर्शनका लागि दैनिक हजारौँ भक्तजन लाम लाग्दा रहेछन्। हामी पनि लाइन लागेर दर्शन गर्यौं। जगन्नाथ दर्शनको भोलिपल्ट हामी पुरी किनार पुग्यौँ। गर्मी मौसम भएकाले छालसँग खेल्न त्यहाँ मानिसहरुको भिड थियो। त्यहाँ मनोरञ्जनका लागि उँट र घोडा प्रशस्तै थिए। उँट वा घोडामा समुन्द्री किनार घुम्दा नरमाउने को पो होला र? नौलो अनुभव थियो मेरो पनि।

हामी फेरि इन्डिगो जहाज चढेर भुवनेश्वरबाट कोलकाता फर्कियौँ। साँझ छ बजे कोलकाता आएपछि न्यू मार्केट घुम्दा छुट्टै संसारमा आइपुगेको अनुभव भयो। सडकमा पसलदेखि ठूला सपिङ कम्प्लेक्समा सामान किन्नेको भिड थियो। दैनिक उपभोग्य सामान एउटै बजारमा पाइने। त्यो बजार सँधै यतिकै भिडभाड हुने गर्दोरहेछ। व्यापारिक केन्द्र बनिसकेको कोलकातामा दैनिक बंगलादेशबाट समेत व्यवसायी आएर व्यापार गर्ने गरेको स्थानीयसँगको कुराकानीबाट थाहा पाइयो। यो बजारमा पनि मेरो आँखाले त्यो गीतको 'कलकत्ते काइँयो' खोजिरह्यो।

कोलकाताको हाम्रो बसाईं छोटो थियो। सोमबार(जेठ २० गते) बुद्ध एयरको ७२ सिटे एटिआर ७२ जहाजबाट फेरि हामी काठमाडौं आइपुग्यौं। जहाजबाट ओर्लिदा मसँग कलकत्ते काइँयो त थिएन तर त्यो सदाबहार शहरमा बिताएका केही सुखद पलहरुको सम्झना थियो।



'कलकत्ते काइँयो केश मेरो बाङ्गो टेबलमा ऐना छ…' कोलकाता डायरीमा नअटाएको त्यो काइँयो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट