PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

विश्वकप क्रिकेट : बाबर अजामको शतक मद्दतमा पाकिस्तानको तेस्रो जित, न्यूजिल्याण्डको अपराजित यात्रा टुङ्गियो



पहिलोपोस्ट

विश्वकप क्रिकेट : बाबर अजामको शतक मद्दतमा पाकिस्तानको तेस्रो जित, न्यूजिल्याण्डको अपराजित यात्रा टुङ्गियो

बाबर आजामले शतक प्रहार गरेपछि पाकिस्तानले आइसीसी विश्वकप क्रिकेट २०१९ मा तेस्रो जित हात पार्दै न्यूजिल्याण्डको अपराजित यात्रा टुङ्गाएको छ।

बाबरले नटआउट १०१ बनाएपछि पाकिस्तानले न्यूजिल्याण्डले दिएको २३८ रनको लक्ष्य ४९.१ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो।

७ खेलपछि तेस्रो जित हात पारेको पाकिस्तान ७ अंकसहित छंटौँ स्थानमा उक्लेको छ। बंगलादेशसमा अंक भएपनि पाकिस्तान रनरेटमा पछि रहेको हो। साथै पाकिस्तानले सेमिफाइनल पुग्ने आशा कायमै राखेको छ। उता पहिलो हारपछि ७ खेलबाट ११ अंक रहेको न्यूजिल्याण्ड दोस्रो स्थानमा यथावत छ।

ब्रिमिङहममा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर २३७ रन बनाएको थियो। न्यूजिल्याण्डको लागि जेम्स निसमले नटआउट रहँदै ९७ रन बनाए।

८३ रन हुँदा ५ विकेट गुमाएपछि निसम र कोलिन डे ग्राण्डहोमले छैटौँ विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए। निसमले ११२ बल खेल्दै ५ चौका र ३ छक्काको मद्दतमा ९७ रन बनाए। यस्तै ग्राण्डहोमले ७१ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा ६४ रन बनाए। कप्तान केन विलियमसनले ४१ रन जोडे।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले १० ओभरमा ३ मेडन राख्दै २८ रन मात्र खर्चेर ३ विकेट लिए।

२३८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानको सुरुवात खराब रहेपनि बाबर अजाम र हरिस सोहेलले इनिङ्स सम्हाल्दै जितसम्म पुर्‍याए। ओपनर फकर जमन ९ र इमाम उक हकल १९ रन बनाएर आउट हुँदा पाकिस्तान ४४-२ को अवस्थामा थियो। तर बाबर र मोहम्मद हाफिजले तेस्रो विकेटका लागि ६४ रनको साजेदारी गरे। हाफिजले ३२ रन जोडे।

त्यसपछि बाबरले हरिस सोहेलसंग शतकिय साझेदारी गर्दै पाकिस्तानको जित पक्का गरे। चौथो विकेटका लागि बाबर र हरिसले १२६ रनको साझेदारी गरेका थिए। यस विश्वकपमा पहिलो शतक प्रहार गरेका बाबरले नटआउट १०१ रन बनाए। उनले १२७ बल खेल्दै ११ चौका प्रहार गरे। हरिस सोहेलले ७६ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा ६८ रन बनाए।

अन्तिम ओभरको पहिलो बलमा कप्तान सर्फ्राज अहेमदले चौका प्रहार गर्दै पाकिस्तानलाई जित दिलाए।

न्यूजिल्याण्डले ८ बलर प्रयोग गरेपनि पाकिस्तानको ४ विकेट मात्र लिन सक्यो। कप्तान केन विलियमसनले आफैँ ८ ओभर बलिङ गर्दा १ विकेट लिए। यस्तै ट्रेन्ट बोल्ट र लकी फर्गुनले १-१ विकेट लिए। कोलिन मनरोले समेत १ ओभर बलिङ गरेका थिए।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell