PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

युरोप घुमौं भन्दा निलम्बित सांसद यादव, 'तिब्बतसम्बन्धी कार्यक्रम थाहा पाएर बसेनौं, बसेको भए के गर्थे होलान्?'



पहिलोपोस्ट

युरोप घुमौं भन्दा निलम्बित सांसद यादव, 'तिब्बतसम्बन्धी कार्यक्रम थाहा पाएर बसेनौं, बसेको भए के गर्थे होलान्?'

काठमाडौँ : स्वतन्त्र तिब्बत सम्बन्धी कार्यक्रममा सहभागी भएका सांसदलाई समाजवादी पार्टी नेपालले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको छ। स्वन्तन्त्र तिब्बत माग्दै लाटभियामा भएको एक कार्यक्रममा दुई नेपाली सांसद सहभागी भएका थिए।

तत्कालिन संघीय समाजवादी फोरमका सांसद प्रदीप यादव र राजपा नेपालका सांसद एकवाल मियाँ कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा नेपाली सांसद् सहभागी भएसँगै चीनले चासो व्यक्त गरेको थियो। काठमाडौँस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयसमक्ष यस विषयमा चासो व्यक्त गरेसँगै मन्त्रालयले लाटभियाको कार्यक्रममा सांसदको सहभागिताको विषयमा अनभिज्ञता प्रकट गर्दै ध्यानाकर्षण भएको जनाएको थियो।

लाटभियाको रिगामा आयोजना भएको सम्मेलनमा नेपाल, भारतसहित देशका २५ सांसद सहभागी थिए।

राष्ट्रपति भण्डारीले चीनको भ्रमणमा एक चीन नीतिप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याएर फर्किएको साता नबित्दै सत्तारुढ दलकै सांसद स्वतन्त्र तिब्बत सम्बन्धी कार्यक्रममा सहभागी भएपछि आलोचना भएको थियो।

कार्यक्रममा सहभागिताको विषयमा यादवको आलोचना भएसँगै हाल फोरम र नयाँ शक्ति मिलेर बनेको समाजवादी पार्टीले यादवसँग स्पष्टिकरण सोधेको थियो। स्पष्टिकरण चित्तबुझ्दो नभएपछि उनलाई समाजवादी पार्टीले निलम्बन गर्ने निर्णय गरेको हो।

पार्टीलाई जानकारी नदिइ कार्यक्रममा सहभागी भएको र सपष्टिकरण चित्त बुझ्दो नभएकोले केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए।

यता निलम्बनमा परेका यादवले भने पार्टीले आफूलाई गरेको कारबाहीले आफू आश्चर्यमा परेको बताएका छन्।

उनले आफू जानेर कार्यक्रममा सहभागी नभएको भन्दै आफूलाई फसाइएको बताए।

'मान्छेबाट जानी नजानी गल्ती हुन्छ। लाट्भिया जानु गल्ती भयो, जानीजानी पनि गएको थिइन्ँ, ' उनले भने, 'हामी गयौँ। फ्रि तिब्बत सम्बन्धी कार्यक्रम भएको बुझेपछि कार्यक्रममा बसेनौँ।'

आफूहरु व्यक्तिगत रुपमा त्यहाँ पुगेको र कुनै संस्थाले नलगेको पनि उनले स्पष्ट पारे। 'हामीलाई कसैले पनि लगेको थिएन्। साथीले एउटा कार्यक्रम छ जाँउ न भन्नु भयो। अनि हुन्छ त नि युरोप पनि घुमौँला भनेर गयौँ,' उनले पहिलोपोस्टसँग भने, 'कार्यक्रममा बसेनौँ। कहीँ हस्ताक्षर पनि गरेनौँ।'

पार्टीले निलम्बन गरेको विज्ञप्ति जारी गरेको सुनेको भन्दै उनले आधिकारिक रुपमा पत्र नआइसकेको बताए। 'पार्टीले पनि केही सोचेर गरेको होला, त्यस्तो निर्णय भएको हो भने पनि निर्णयलाई सम्मान गर्छु। मैले आफ्नो धारणा पार्टीमा राखिसकेको पनि हुँ,' उनले भने, 'कार्यक्रममा नबस्दा त यो हालत छ। धन्न बसिएन् झन बसेको भए के हालत हुन्थ्यो होला?'

उनले पार्टीको नीति र देशको परराष्ट्र नीतिको सम्मान गर्ने पनि स्पष्ट पारे। पार्टीले कारबाही गरेको भए पनि पार्टीको कमिटीबाट गरेको भन्दै संसद भने गइरहने उनले बताए। 'पार्टीले पार्टीको पदबाट कारबाही गरेको हो। सांसद पद कहीँ पनि जाँदैन। नियमित संसद जान्छु। जनताको कुरा राख्छु जनताको आवाज बोल्छु। यसमा मलाई कसैले रोक्न सक्दैन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell