PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'नेपाल नृत्योत्सव २०७६' हुँदै, सात प्रदेशका सात लोक नृत्य प्रस्‍तुत हुने



पहिलोपोस्ट

'नेपाल नृत्योत्सव २०७६' हुँदै, सात प्रदेशका सात लोक नृत्य प्रस्‍तुत हुने

‘तपाईंलाई संस्कृति मनपर्छ भने हामी फेरी एकपटक भेट्नेछौं, तपाईँलाई नृत्य मनपर्छ भने हामी पटकपटक भेट्नेछौं’ भन्ने नाराका साथ नेपाल नृत्योत्सव हुने भएको छ। सोमबार कार्यक्रम आयोजना गरी एस्थेटिक डान्स स्टुडियोको पहिलो नृत्य महोत्सव घोषणा गरिएको हो।

कार्यक्रममा भारतबाट आएका नृत्य प्रशिक्षकहरु कत्थक नृत्याङ्गना लीना मालाकार र भरत नाट्यम नृत्याङ्गना अरुपा लेहेरी, त्यस्तै नेपालकी कत्थक नृत्याङ्गना सुविमा श्रेष्ठ र लोक नृत्य प्रशिक्षक राम राईको प्रमुख आतिथ्य रहेको थियो।

महोत्सव असार १९ गतेदेखि २१ गतेसम्म राष्ट्रिय नाचघरमा चल्नेछ। भारतबाट आएका नृत्याङ्गनाहरुले नेपाली नृत्य कलाकारहरुलाई प्रशिक्षण दिनेछन्। असार चार गतेदेखि सिकेका प्रशिक्षार्थीहरुले महोत्सवको अन्तिम दिन प्रस्तुति दिनेछन्। 

असार १० गतेदेखि १३ गतेसम्मका लागि कर्णालीको हुड्के नाचको समेत कार्यशाला रहेको छ। त्यस्तै नेपाली प्रशिक्षकहरु सुविमा श्रेष्ठ, सुम्निमा साम्पाङ र राम राईले नेपालमा नृत्यका विविध विषयमा कार्यपत्र, प्रशिक्षण र प्रस्तुति गर्नेछन्। लोक अनुसन्धनदाता तुलसी प्रभासले पनि नेपाली नृत्यको समाजशास्त्रमाथि विवेचना गर्ने बताइएको।

महोत्सवको उद्देश्य बारे आयोजक सोमनाथ खनालले भने,’नेपाली नृत्य परम्परालाई उत्सव मार्फत उजागर गर्ने कोशिश गरेका छौं। महोत्सवले नेपालको लोक तथा परम्परागत नृत्यको ज्ञान र अभ्यास बलियो बनाउने प्रयत्न गर्नेछौं।’

महोत्सव निर्देशक नम्रता केसीका अनुसार महोत्सवमा सात प्रदेशका सातवटा फरकफरक लोक नृत्य प्रस्तुति केन्द्रमा रहेको छ। प्रदेश एकबाट धिमाल, प्रदेश दुईबाट पमरिया, प्रदेश तीनबाट कार्तिक नाच, प्रदेश चारबाट हनुमान नृत्य, पाँचबाट सखिया पैया, छबाट हुड्के नाच ल्याइदै छ। प्रदेश सातबाट ल्याइने नाचबारे भने केही दिनमा जानकारी सार्वजनिक गर्ने बताइन्। 

महोत्सव राष्ट्रिय नाचघरमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell