PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

किन ‘गणेश थापा कारखाना’कै उत्पादन हाबी छन् एन्फामा?



पहिलोपोस्ट

किन ‘गणेश थापा कारखाना’कै उत्पादन हाबी छन् एन्फामा?

  • राधेश्याम दाहाल-

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले केही दिन अगाडि भने ‘हामीले हिलोमा जग बसाउन खोज्यौँ, त्यसैले समस्या भयो।’ अर्थात् उनको अभियव्यक्ति सहानुभूतिको महसुस गर्दै गरिएको जस्तो देखिन्थ्यो। पछिल्लो समय उनीविरुद्ध पनि प्रहार सुरु भएपछि रक्षात्मक बन्ने प्रयास स्वरूप उनले यसो भनेका थिए। यो भनाइले उनको रक्षा गर्नेभन्दा पनि क्षमता र प्रवृत्तिमा शङ्का उत्पन्न गर्ने काम गरेको छ।

एन्फाको निर्वाचन दौरान पनि शेर्पाले तयार पारेको टिम र निर्वाचन जित्न गरेका हत्कण्डाले परिवर्तन नदेखिने संकेत गरेको थियो। आज ती विषय क्रमशः पुष्टि हुँदैछन्।

गणेश थापा नामक ‘खराब कारखाना’बाट उत्पादितहरूले नै अहिले एन्फामा राज गरिरहेका छन्। शेर्पाकै कुरा गर्ने हो भने पनि उनी समेत लामो समय थापासँग सहकार्य गरेकै व्यक्ति हुन। थापाको राज सकिएपछि एन्फामा परिवर्तनको अपेक्षा गर्नेहरू नभएका हैनन्। अपेक्षा गर्नु राम्रै पनि हो। तर, थापा कारखानाका उत्पादनहरूले गर्ने असरबारे सबै बेखबर नै थिए वा थाहा पाएर पनि चुप थिए। सुधारको त्यो चामत्कारिक खुबी कर्मामा थिएन पनि।

जसले अपेक्षा गरेका थिए उनीहरू निराश भएर कर्मालाई छाडेर हिँडिसकेका छन्। पछिल्लो उदाहरण हुन नवीन पाण्डे। पाण्डेलाई नेपाली फुटबलसँग केही लिनु छैन। नेपाली खेलको प्रयोग गरेर विदेश जानु पनि छैन। फुटबललाई 'ब्रेड एण्ड बटर' बनाउनु पनि छैन। त्यसैले त कर्माका पछिल्ला गतिविधिबाट असहमति जनाएर उनले साथ छाडे।

अहिले कर्मा त्यही गरिरहेका छन् जो हिजो गणेश थापाहरू गर्थे। कर्मा त्यसको पुनरावृत्ति मात्र गर्दैछन्। पात्रमात्रै परिवर्तन कथा र पटकथा उही र उस्तै छन्। कर्मालाई उनका गतिविधिबारे कसैले केही सोध्यो भने जवाफ एउटै छ -सबैलाई मिलाएर लानुपर्ने भएकाले। थापाले पनि हिजो मिलाएर लाने नाममा सबैखाले सम्झौता गरे।

त्यस्तै गर्ने हो भने ठूलै परिवर्तनको हवाला दिनुपर्ने आवश्यकता के थियो?

कर्मालाई साथ छाड्नेहरु भन्छन् –गणेश थापा कारखानाबाट उत्पादित रहेछन् कर्मा पनि। केही हुन्छ कि भनेर लागियो तर सम्भव भएन। त्यसैले छाडियो। व्यक्ति परिवर्तन भएर एन्फामा केही नहुने रहेछ। घटनाक्रमले यही पुष्टि गर्छ।

फुटबलमा मात्र होइन नेपालको खेल क्षेत्रमा नै एउटा प्रवृत्ति हाबी छ। खेललाई 'ब्रेड एण्ड बटर' बनाउन खोज्ने खेल अधिकारी। खेल क्षेत्र खेलाडी र प्रशिक्षकका लागि कहिले पनि 'ब्रेड एण्ड बटर' साबित हुन सकेन तर खेल संघमा लाग्ने वा नेतृत्व सम्हाल्नेहरूका लागि पटक-पटक 'ब्रेड एण्ड बटर' भयो।

कर्मा आएपछिको पार्क भिलेजमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा मात्रै झन्डै पाँच लाख रुपैयाँ खर्च गरिएछ। एन्फाको विधान र फिफाको आचारसंहिताले कार्यसमितिको बैठक त्यसरी बस्न हुँदैन भन्छ। तर उनीहरू बसे। लाखौँ रुपैयाँ खर्च गरे। विदेश जाने बेला अहिले पनि नजिक र आसेपासेलाई पठाउने क्रमले निरन्तरता नै पाएको छ। प्रतियोगिताका लागि प्रशिक्षक छनोट गर्ने र विशेष प्रशिक्षणका लागि विदेश पठाउँदा पनि कुनै मापदण्ड बिना आफूलाई सहज हुने व्यक्ति पठाउने क्रम निरन्तर नै छ। अनुशासन समितिले कारबाही सिफारिस गरेको रेफ्रीलाई समेत एन्फा पदाधिकारी निकट मान्छे भएकै कारण प्रतिवेदनै अर्को बनाउन दबाब दिनेसम्मका काम भइरहेकै छन्। घटना बाहिर आइरहेका छन्। यी सबै गतिविधिले गणेश थापा कारखानाबाट उत्पादित बस्तुहरूको असर कतिसम्म भइरहेको छ भन्ने पुष्टि हुन्छ।

सबै पार्टी मिलाउने, आफूलाई अप्ठेरो पार्न खोज्नेलाई सामसुम पार्ने, आफूविरुद्ध समाचार लेख्नेलाई खोजी-खोजी प्रभावमा पार्न खोज्ने, अवसर दिन खोज्ने जस्ता काम वर्तमान एन्फाले पनि जारी नै राखेको छ। एन्फाको नयाँ कार्यसमिति आएपछि चार वर्षका लागि निश्चित योजना बनाएर चार्ट अनुसार अगाडि बढेको पाइएन।

कर्मा एन्फामा आउने बित्तिकै हिलोमा जग हाल्ने विषय थाहा नभएको होइन। तर हिलो सफा गरेर जग हाल्ने प्रयास नै उनले गरेनन्। किनकी उनी ‘गणेश थापा कारखाना’कै उत्पादन थिए। उनले पनि हिलो सफा गर्दा आफूलाई कठिन हुने र सफा नगर्दा आफूलाई र आफूले चाहेका सबैलाई फाइदा हुने देखे। त्यसैले उनी नेपाली फुटबलको भविष्य बलियो बनाउने भन्दा पनि आफ्नो भविष्य बनाउनेतर्फ मात्रै लागे। उनलाई यो अवस्थामा लैजान प्रेरित गर्नेहरू एन्फामा उल्लेख्य छन्।

एन्फामा रहेका अधिकांश पदाधिकारी हिजो गणेश थापाको कार्यकालका हाली–मुहालीकर्ता नै हुन्। बेला–बेलाको विदेश भ्रमण, केही प्रलोभन, देशभित्र हुने मान र सम्मान, राजनैतिक शक्ति केन्द्रको चासो, आफूले चाहेर कतिलाई केही गर्न सकिने, यस्ता धेरै विषयले सत्ताधारीलाई कमजोर बनाउँदो रहेछ। कर्मा पनि त्यसैमा रुमलिए। वर्तमान सत्ताधारीहरूलाई खुसी बनाउनु, केही सञ्चारकर्मीलाई निकट बनाइरहनु, एन्फामा सानो लोभका लागि असन्तुष्ट बन्नेलाई प्रलोभन दिनु, अनि अरू केहीलाई मिलाउन खोज्नु, आर्थिक हिसाब-किताब पनि मिलान गरेर बिल पेस गर्नु, फुटबल संघको दैनिकी जस्तो बनेको छ। कतै विगतमा जस्तो विदेश पठाउँदा एउटा र नेपालमा देखाउँदा अर्को अडिट रिपोर्टको शैलीलाई अहिले पनि जारी राखिएको त छैन< यसतर्फ पनि सरोकारवालाको ध्यान जाओस्। राज्य यस्ता विषयमा चनाखो बनोस्। खेल हेर्ने निकायले खेल क्षेत्रमा भइरहने झेलहरूलाई बेलैमा नियन्त्रण गर्न जरुरी छ। अन्यथा खेलको बिजोग हुन धेरै बेर लाग्दैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell