PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रश्न, चोरी किन? उत्तर, श्रीमानको उपचार खर्च जुटाउन! 

प्रश्न, चोरी किन? उत्तर, श्रीमानको उपचार खर्च जुटाउन! 

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौं : आइतवार महानगरीय प्रहरी परिसर काठमाडौँमा निकै खचाखच थियो। सेवाग्राहीको लागि सेवा दिनको लागि बनाएको हलमा आइतबार सेवाग्राही भने थिएनन्। मुखमा माक्स लगाएका अधिकांश टिनएजरले भरिएको थियो हल।

वरिपरि प्रहरीको घेराबन्दी। ८२ जना पुरुषको भिडमा चार महिला। सायद, उनीहरू पनि २० काटेका छैनन्। सबैको हातमा हथकडी। हलको पछाडिपट्टि एउटा नाबालक रोइरहेको आवाज आइरहेको थियो। मुख माक्सले  ढाकिएको, पहेलो कुर्था सुरुवाल लगाएकी एक युवती बालकलाई फकाउन ब्यस्त थिइन्।

बालक जति जोडले चिच्याउथ्यो, उनी त्यति नै सुम्सुम्याइरहन्थिन्। उनको पछाडि उभिएकी एक महिला प्रहरी जवानले घरीघरी बच्चालाई लिइरहेकी थिइन्। प्रहरीले लिएपछि बालक चुप हुन्थ्यो।

प्रहरीले आइतबार काठमाडौँको सार्वजनिक स्थान र सवारी साधनमा चोरी, लुटपाट र अभद्र व्यववहार गर्ने ८२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। त्यही भिडमा थिइन, असमी खातुन।

‘मलाई प्रहरीले टिचिङ अस्पताल नजिकैबाट पक्राउ गरेर ल्याएको हो,' आफ्नो गल्ती भएपछि सार्वजनिक गर्दा सबैले घोसेमुन्टो लगाएर लुकिरहेको अवस्थामा खातुन भने केही खुलिन्। हामीसँगको कुराकानीमा खातुनले चोरी गर्नुको कहानी नै सुनाइन्।

‘अस्पताल अगाडि एक महिला उभिरहनु भएको थियो। उहाँसँग पैसा भएको चाल पाएको थिएँ। नजिकै भएर ब्यागबाट पैसा झिकेको हुँ,' खातुनले आफूले चोरी गरेको स्वीकार गर्न अलिकति पनि हिचकिचाहट मानिनन्। ब्यागमा १० हजार रुपैयाँ थियो। तर, यसपटकको चोरीको प्रयासले उनलाई यहाँसम्म ल्यायो।

सुनसरीको इटहरी घर भएको बताउने उनले बाध्यताले चोरी गरेको दाबी गरिनन्। ‘श्रीमान् दुई सातादेखि अस्पतालमा हुनुहुन्थ्यो। साढे तीन लाख रुपैयाँ चाहिएकाले उहाँको ज्यान जोगाउन चोरी गरेको हुँ,' उनले दावी गरिन्। उनका अनुसार श्रीमान् सवारी दुर्घटनामा परे। दुवै खुट्टा काट्नु परेकाले अस्पतालमा राखियो।

हाउभाउ हेर्दा उनी निर्दोष देखिन्थिन्। र, बच्चा सँगै थियो खातुनको। तर, उनले जे बोलिन् त्यो सहि हो त?

‘प्रहरीबाट बच्न धेरैले यस्तो बहाना गर्छन्। बच्चा हुँदा छुट होला भन्ने नाटक पनि गर्ने गरेको पाइयो। चोरी गर्दागर्दै ल्याइएको हो,' महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले भने।

पक्राउ परेका अधिकांश लुटेरा एचआइभी सङ्क्रमित

महानगरीय प्रहरी परिसर काठमाडौँले  सार्वजनिक सवारीमा चोरी, लुटपाट र अभद्र व्यवहारका घटना बढेको भन्दै गत जेठ १ गतेबाट विशेष अप्रेसन सुरु गरेको थियो।

एक महिनाको अवधिमा यस्ता गतिविधि गर्ने ८२ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो। ‘रिङरोडमा चल्ने सवारीमा बढी चोरी लुटपाट भएको देखियो। साझा यातायात भन्दा अरूमा गतिविधि बढेको छ,' परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने।

प्रहरीले पक्राउ गरेका अधिकांश लुटेरा १७ वर्षदेखि २५ वर्ष उमेर समूहका छन्। उनीहरू मध्ये अधिकांशमा एचआइभी र हेपटाइटिस लगायतको संक्रमण छ। ‘धेरैमा एचआइभी र हेपटाइटिस भएको भेटियो। यसले पनि हिरासतमा राखेर अनुसन्धान गर्न केही समस्या भएको छ,' डिएसपी होविन्द्र बोगटीले भने।

उनीहरूले अफिस समयको बेला धेरै चोरी र लुटपाट गर्ने गरेको देखिएको छ। पक्राउ परेकामध्ये केही पहिले पनि चोरी र लुटपाटमा परेर छुटेका व्यक्ति भएको एसएसपी सुवेदीले बताए। ‘सङ्गठित भएर चोरी गर्ने देखियो। जेलबाट छुटेपछि पुन: चोरीमा लाग्ने गरेको देखिन्छ,' एसएसपी सुवेदीले भने।



ट्रेन्डिङ पोस्ट

Ncell