PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'गलबन्दी' गीत प्रति शम्भु राई आक्रामक, नाम र दामको लडाई प्रतिष्ठानमै मिल्ला या अदालत पुग्ला?



'गलबन्दी' गीत प्रति शम्भु राई आक्रामक, नाम र दामको लडाई प्रतिष्ठानमै मिल्ला या अदालत पुग्ला?

  • दुर्गा पंगेनी-

अग्रज गायक शम्भु राईले प्रकाश सपुतले ल्याएको गलबन्दी गीतको लय ‘मेरो क्रियसन, मेरो कम्पोज’ हो भनेर दाबी गरे। त्यसपछि गलबन्दी गीतको सर्जकमा ‘शम्भु राई’ को नाम लेखेर प्रकाश सपुतलाई ‘रि क्रिएटर’ या ‘पुनर्सर्जक’ का रूपमा उल्लेख गर्नुपर्ने राईको शर्त रहेको कुरा फाट्टफुट्ट सामाजिक सञ्जालहरुमा देख्न सुन्न पाइयो। 

शम्भु राईले लय मिलेको भनेर दाबी गरिएको उनको गीत यस्तो छ

आज त शम्भु राई कतिसम्म आक्रामक रूपमा प्रस्तुत भए यौटा भिडियोमा भने आफ्नो गीत गलबन्दी सँग नजुधेको भनेर गलबन्दीको समर्थनमा अभिव्यक्ति दिएका गायक भगवान् भण्डारीलाई 'डोनाल्ड ट्रम्पको दास’ सम्म भनिदिए। गायक भण्डारी हाल अमेरिकामा रहेका छन्। उनको अमेरिका बसाई र कलाकारिताबाट पलायन को सन्दर्भमा पनि राई निकै आलोचनात्मक रूपमा प्रस्तुत भएका छन्। यसको मतलब गलबन्दी गीतमाथि को उनको दाबीलाई सजिलै छोड्ने पक्षमा राई नरहेको बुझ्न सकिन्छ।  

तर प्रतिलिपि अधिकार कानुनले त्यसो भन्दैन। लोकगीत पुन प्रयोगलाई कानुनले गैरकानुनी मान्दैन। र त्यस किसिमका गीतलाई कसैको मौलिक सृजना या बौद्धिक सम्पत्ति अन्तर्गत पनि समावेश गर्दैन। सरासर हेर्दा गायक शम्भु राई र प्रकाश सपुतको कुरा बाझिएको छ। दुबैका आफ्ना आफ्ना बलिया दाबीहरू छन्। तर सर्वसाधारण दर्शकले सोचिरहेका छन्, अब के हुन्छ?

 

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनीले यो विवाद घरभित्रको विवाद भएकोले आपसमै सुल्झाउने आशय व्यक्त गरेका छन्। तर अन्य चर्चित कलाकारहरूले भने शम्भु राईको दाबीको विपक्षमा मत जाहेर गरेका छन्। गीतकार राजेन्द्र थापा, लोकगायक भगवान् भण्डारी, अधिवक्ता एवं चर्चित लोक गायक वैकुन्ठ महतलगायत कलाकारहरू खुलेरै शम्भु राईको दाबीको विरोध गरिरहेको देख्न सकिन्छ। प्रचलित लोकलय या पब्लिक डोमेन भएको खण्डमा प्रकाश निर्दोष, नत्र प्रकाशले शम्भुको चोरेकै हुन्। तर, शम्भुले चाहिँ कहाँबाट ल्याए? भन्दै राजेन्द्र थापा प्रति प्रश्न गर्छन।

यदि शम्भु राईले दाबी गरेझैँ साँच्चिकै त्यो उनको कम्पोज हो र उनले विधि बुझेरै दाबी गरेका हुन भने अब उनले यो कुरा बिचैमा छाड्न पाउदैनन। उनले आफ्नो दाबीलाई प्रमाणित गराउनु पर्छ। यो चुनौति उनी माथि छ। यो नैतिकता सँग पनि जोडिएको विषय भइसक्यो। 

यदि शम्भु राईले यो कुरा प्रमाणित गर्न सक्दैनन् भने उनको  फितलो दाबीको कारण प्रकाश सपुतको सृजनात्मक नामको जुन क्षय भयो त्यसको क्षतिपूर्ति शम्भु राईले कसरी भरपाई गर्न सक्छन् यसको जवाफ आम दर्शक श्रोताले उनीसँग माग्नेछन्। 

प्रमाणित गराउन नसक्ने कुरा बोलेर अरूको मान प्रतिष्ठामा आँच पुर्‍याउन पाईदैन। त्यसो गर्नेलाई कानुनले सजाय दिन्छ। यो कुरा प्रमाणित भएन भने शम्भु राईले प्रकाश सपुतको मान हानी गरेको ठहर्छ। 

अर्कोतर्फ गलबन्दी गीतले गरेको कमाई या आम्दानीको लोभले मात्र गरिएको दाबी हो भनेर लख काट्ने ठाउँ पनि प्रशस्तै देखाउँदै सामाजिक सञ्जालमा अभिव्यक्तिहरू आएका छन् । के यदि यो गीत यसरी सुपर हिट हुँदैनथ्यो भने शम्भु राईले यो मुद्दा उठाउँथे या उनले कुनै गीत निस्केको र आफ्नो सँग जुधेको थाहै पाउँदैन थिए? यदि खोटो नियत राखेर शम्भुले यो मुद्दा उठाएका हुन भने समयले मात्र होइन सिङ्गै नयाँ पुस्ताले शम्भुलाई सराप्ने देखिन्छ।

पैसा पाएपछि मुद्दा फिर्ता गर्ने हो भने ‘कपी हुँदाहुदैपनि पैसाको लोभमा दाबी छोड्यो’ ‘अब अरू अग्रजका पनि कपी हुनलाई बाटो खोल्यो’, बुढी मरी भन्दा पनि काल पल्क्यो भनेर अग्रजले नै शम्भुलाई सराप्ने भए।

अलिकति पैसा पाए शम्भु राईले यो क्रिएटरतिरको दाबी छोड्ने आशय हो भने त्यो सम्पूर्ण रूपमा गलत हो। 'प्रकाश सपुतले एक पैसा पनि तिर्नु या दिनु हुँदैन। शम्भु राईको कम्पोज हो भन्ने दाबीको विरोध गर्दै दर्शक श्याम जङ्ग खत्री लेख्छन्,' यो त अरुण उपत्यकामा सताब्दियौंदेखि गाइँदै आएको भाका हो। यदि यो दाबीमा सत्यता छ भने शम्भुको दाबी झन् फितलो हुने प्रस्ट छ।' 

अब शम्भु राईले आफ्नो दाबी प्रमाणित गराउने केही तरिका छन्। ती मध्ये उनले कुन अख्तियार गर्लान् यसै भन्न सक्दैन। प्रतिष्ठानकै प्रयासबाट मुद्दा नमिले प्रतिलिपि रजिस्ट्रार या प्रहरी दुई ठाउँ शम्भु जान सक्छन्। ती दुबै ठाउँमा सपुतले दाबी छोडेनन् भने शम्भु राई जाने भनेको अदालत हो। अदालतमा मुद्दा हाल्ने विचार हो भने त्यो मुद्दा १० वर्ष जतिमा छिनोफानो होला। र, त्यो समयमा मुद्दा हार्ने प्रबल सम्भावना देखिन्छ (प्रतिलिपि अधिकारमा लोकगीतको व्याख्या अनुसार)। 

लय जुधेको कुरा प्राविधिक रूपमा मिलेको भए, डिजिटल प्राविधिक रूपमा १२ सेकेन्डभन्दा बढी हुबहु भएको भए गुगल आफैले अटोमेटिक कपिराइट क्लेम गराइदिन्थ्यो। याद गरौँ शम्भु राई दाजुको गीत म्युजिक नेपाल प्लेटफर्ममा छ र म्युजिक नेपालले आफूसँग भएको गीत अलिकतिमात्र पनि जुध्यो भने या त डिलीट गराउँछ या मोनिटाइज गरेर जुधेजति लम्बाइको पैसा आफूले लैजान्छ। गलबन्दी गीत डिजिटल प्लेटफर्म युट्युबको प्रविधि अनुसार ‘नजुधेको’ क्याटेगरी मा पर्दछ।

अन्तिममा; न क्रियटरको रूपमा नाम पाउनु, न प्रकाश सपुतबाट दाम लिने कुनै आधार हुनु या पाउनु, शम्भु राईले बिना मतलबमा स्वार्थ प्रेरित दोष लगाएको जस्तो देखिँदै गयो। न अब बिना शर्त आरोप फिर्ता लिनु न प्रमाणित नै गर्न सक्नु! न लौ त नि प्रकाशकै हो भनेर लुरुक्क दिनु, न म झुक्किएँ भनेर खुरुक्क सकार्न सक्नु -बोली पासो भयो शम्भु राई दाजुलाई अब यो मुद्दा। 

नखाउँ भने दिनभरको सिकार, खाँउ भने कान्छा बाउको अनुहार..! धर्म संकट भनेको यस्तै हो-बोलीको पासो! 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell