PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अमेरिका- इरान विवाद: ओमनमा तेल बोकेको ट्याङ्करमा कसले गर्‍यो आक्रमण



अमेरिका- इरान विवाद: ओमनमा तेल बोकेको ट्याङ्करमा कसले गर्‍यो आक्रमण
: THE NATIONAL

ओमनको खाडीमा तेल बोकेको दुईवटा ट्याङ्करमा आक्रमण भएको छ।

बिहिवार भएको पानीजहाज आक्रमणमा अमेरिकाले इरानको संलग्नता रहेको आरोप लगाएको छ। इरानले भने अमेरिकी आरोपको खण्डन गरेको छ।

आक्रमणपछि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इरानले आक्रमण गरेको बताएपछि दुवै राष्ट्रबीच विवाद बढेको हो। जापानको कोकुका करेजियस र नर्वेको फ्रन्ट अल्टारको स्वामित्व रहेको तेल ट्याङ्करमा आक्रमण भएको हो।  

आक्रमणपछि ट्याङ्करमा रहेका मानिसहरुको उद्धार गरिएको थियो। दुवै इरान र अमेरिकाले आफूहरुले उद्धार गरेको दाबी गरेका छन्।

गत महिनामा समेत संयुक्त अरब इमिरेटसमा तेल बोकेको पानीजहाजमाथि आक्रमण भएको थियो। अमेरिकाले त्यसको जिम्मेवार पनि इरान रहेको आरोप लगाएको थियो।  

गत अप्रिलमा इरानले अमेरिकालाई 'आतंकवादको प्रायोजक' घोषणा गर्दै आफ्नो भूमिमा रहेका अमेरिकी सैनिकलाई 'आतंकवादी संगठन' घोषणा गरेको थियो।

अमेरिकाले इरानी सेनाको एक समूह 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प' लाई 'आतंकवादी संगठन' घोषणा गरेको बदलामा इरानले समेत अमेरिकालाई काउन्टर दिन यस्तो निर्णय गरेको थियो।

इरानसँग युद्ध नै लड्ने घोषणा गरेको अमेरिकाले इरानले आफ्नो सहयोगी राष्ट्रका साथै त्यस क्षेत्रमा रहेका आफ्ना सेनामाथि आक्रमण गर्न सक्ने भन्दै मध्यपूर्वी क्षेत्रमा मिसाइल र युद्धपोत तैनाथ गरेको छ। यस्तै केहीदिन अघि मात्रै मध्यपूर्वी क्षेत्रमा सेनाको संख्या बढाउँदै अमेरिकाले इरानमाथि दबाव सिर्जना गरेको थियो।

इरानले भने मध्यपूर्व क्षेत्रमा अमेरिकाले अशान्ति फैलाउन खोजिरहेको आरोप लगाउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell