PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

श्रीलंकामा सिंहालीसँग मिल्न मुस्लमानले नै तोडे मस्जिद



श्रीलंकामा सिंहालीसँग मिल्न मुस्लमानले नै तोडे मस्जिद

२०१९ अप्रिल १९ मा श्रीलंकामा इसाई धर्मावलम्बीहरु इस्टर पर्व मनाइरहँदा चर्च र होटलहरु लक्षित आक्रमण भयो। २५० जनाको मृत्यु हुँदा ५०० जनाभन्दा बढी घाइते भए। श्रीलंका सरकारले आक्रमणमा इस्लामिक स्टेटसँग नजिक रहेको स्थानीय मुस्लिम कट्टरपन्थी समूह जिम्मेवार रहेको बतायो।

मुस्लिमहरुले मनाउने पवित्र पर्व रमदानमा मानिसहरु उपवास बस्छन्। मस्जिदमा पुगेर नवाज पढ्छन्।  तर, श्रीलंकाका एक मुस्लिम समुदायका सदस्यहरुले भने मस्जिद नै तोडफोड गरेका छन्। आफूहरु ती हिंस्रक मुस्लिम समूहबाट नभएको भन्दै उनीहरुले एक मस्जिद तोडेका हुन्।

श्रीलंकाको मदतुंगमामा रहेको मुख्य मस्जिदका ट्रस्टी अकबर खान भन्छन्, 'उक्त आक्रमणपछि प्रहरी यो मस्जिदमा बारम्बार आइरहन्थे। प्रहरीहरु आउजाउ गर्दा मानिसहरु सशंकित भए। सो आक्रमणका कारण हाम्रो र अन्य समुदायका मानिसबीच विश्वास घट्दै गयो।'

प्रतिबन्धित चरमपन्थी संगठन तौहीद जमातका सदस्यले कथित रुपमा उक्त मस्जिदको उपयोग गर्दै आएको बताइन्छ।

तर, मदतुंगमामा रहेको सो मस्जिद ऐतिहासिक, धार्मिक र सांस्कृतिक रुपमा महत्त्वपूर्ण थिएन। उक्त मस्जिद श्रीलंकाको अति कट्टर रुढीवादीले संचालन गर्दै आएका थिए जसको इस्टर आक्रमणसँग कुनै सम्बन्ध छैन।

इस्टर आक्रमणमा तौहीद जमातको संलग्नता रहेको भन्दै श्रीलंकाली सरकारले संगठनका सदस्यहरुलाई लक्षित गर्दै अनुसन्धान अघि बढायो। सरकारी अधिकारीहरुले सो समूहले पूर्वी क्षेत्रमा संचालन गरेको भनिएको एक मस्जिद नै बन्द गराएका थिए।

त्यसैले मदतुंगमामा बसोवास गर्दै आएका मुस्लिम समुदायका मानिसहरु चरमपन्थीहरुबाट छुटकारा पाउनका आफैमा संघर्ष गर्दैछ।

त्यही संघर्षको उपज हो-  मस्जिद तोड्ने निर्णय।

एमएचएम अकबर भन्छन्, 'हाम्रो टोलमा पहिला एउटा मस्जिद थियो। त्यहाँ मानिसहरु मिलेर नमाज पढ्थे। तर, केही वर्ष पहिलामात्रै केही मानिसहरुले यहाँ अर्को मस्जिद बनाए।'

नयाँ बनेको मस्जिदका कारण त्यहाँको वातावरण बिग्रिँदै गएपछि पुरानो मस्जिदका एक सदस्यले मे महिनामा बैठक बोलाए। त्यहाँ सर्वसम्मत एउटा निर्णय भयो – विवादित मस्जिदलाई भत्काउने।

त्यसपछि त्यहाँका मुसलमानहरुले हातमा हथौडा लिए र मस्जिद तोडे।   

अकबरका अनुसार उनीहरुले मस्जिदको मीनारें र नमाज पढ्ने कोठाहरु भत्काइ जग्गालाई सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरे।

श्रीलंकामा करिब ७० प्रतिशत मानिस बौद्ध धर्म मान्छन र उनीहरु सिंहली भाषा बोल्छन्। हिन्दुहरु १२ प्रतिशतको हाराहारीमा छन्। १० प्रतिशत मानिस मुसलमान छन् भने ७ प्रतिशत मानिस इसाइ धर्म मान्छन्।

धेरै जसो मानिसहरु तमिल भाषा बोल्छन। तर, जटिल राजनीतिक र ‌ऐतिहासिक कारणहरुले गर्दा मुस्लिमले तामिल बोल्ने अन्य जातिभन्दा फरक जातीय समूह मानिन्छ।

यता, मस्जिद तोड्ने विषयलाई सबैले स्वागत भने गरेका छैनन्। इस्लाम सम्बन्धी धार्मिक मुद्दाहरुमा वकालत गर्ने प्रमुख संस्था 'सीलोन जमायतुल उलेमा' ले प्रार्थना गर्ने स्थानलाई तोड्न नहुने मत राखेको छ।

उक्त संस्थाले एक विज्ञप्ति मार्फत् सबै मस्जिदहरु अल्लाहको भएको बताउँदै त्यसको प्रबन्ध गर्ने व्यक्ति वा संस्थाका कारणले मस्जिदमा नोक्सानी पुर्‍याउनु इस्लामको विरुद्ध भएको बताएको छ।

यस्तै, श्रीलंकाको साउथ इस्टर्न विश्वविद्यालयको मनोविज्ञान विभागका प्रमुख डा. ए रमीज भन्छन्, 'समुदायले त्यसलाई पुस्तकालय या स्वास्थ्य चौकीका रुपमा विकास गर्न सक्थ्यो। तर, हामी मस्जिदहरु नष्ट गर्ने दिशा तर्फ उन्मुख भयौं भने यस्तै सयौं मस्जिदहरु भत्काउनु पर्ने अवस्था सिर्जना हुनेछ।'

उनका अनुसार श्रीलंकामा रहेका हजारौं मस्जिदहरुमध्ये १० देखि १५ प्रतिशत मस्जिदहरु कट्टरपन्थी समूहहरुले संचालन गरिरहेका छन्।

श्रीलंका कूल २ हजार ५ सय ९६ सूचीकृत मस्जिद रहेका छन्। त्यसमध्ये २ हजार ४ सय ३५ मस्जिदहरु संचालनमा छन्। कतिपय मस्जिदहरुको संचालन कसले गरिरहेको छ भन्ने सरकारसँग तथ्यांक नै छैन।

मे महिनाको दोस्रो हप्तामा बहुसंख्यक सिंहाली भाषीले मुसलमान बाहुल्य क्षेत्रमा आक्रमण गरी घर र पसल जलाइदिएका थिए। जानकारहरु सो घटनापछि मुस्लिममाथि दुर्व्यवहार बढ्दै गइरहेको बताउँछन्।

डा. ए रमीज भन्छन्, 'म सहित चारजना आफ्नो एक सहकर्मीलाई भेट्न जेल गएका थियौं। जब हामी बाहिर निस्कियौं एक व्यक्तिले हामीलाई गाली गर्न थाल्यो। ती व्यक्तिले मुसलमानहरुले आफ्नो कारमा बम लगिरहेको तर्क गरे। अवस्थालाई मध्यनजर गर्दै हामी त्यहाँबाट बाहिरियौं।'

मस्जिद तोडिएपछि भने मदतुंगमामा सिंहाली र तमिलभाषी बीचको सम्बन्धमा पहिला भन्दा बदलाव देखिन सुरु भएको छ। अकबर भन्छ्न्, 'ईस्टर आक्रमणपछि हाम्रो बस्तीका गैर मुस्लिमानहरुले हामीलाई आतंकवादीको नजरबाट हेर्थे। मस्जिदको विध्वंसपछि भने दुई समूह बीचको सम्बन्धमा दुश्मनी अलि भएको छ। सिंहाली र तमिल भाषीहरु  छिमेकीका रुपमा सहकार्य थालेका छन्।'

बीबीसीमा प्रकाशित सामग्रीको भावानुवाद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell