PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

हत्यामा आफन्तकै हातः पाँच बर्षमा ३ हजार मानिस मारिए



पहिलोपोस्ट

 हत्यामा आफन्तकै हातः पाँच बर्षमा ३ हजार मानिस मारिए

काठमाडौंः पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार दुई परिवारका नौ जनाको विभत्स हत्या भयो। स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।

धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको थियो। हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भइन्। मध्यरात भएको घटना स्थानीयबासीले बिहान मात्रै थाहा पाएका थिए। घाइते सीताले स्थानीयबासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो।
म‌‌गलवार दिउँसो घटना भएको केहीपर मानबहादुर माखिम झुन्डिएको अवस्थामा फेला परे। माखिम बमबहादुरका ज्वाइ हुन्।

प्रहरीको अनुसन्धानको सुई अहिले माखिम तिर नै सोझिएको छ। माखिमले नौ जनाको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।' हामी  विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं। हत्यापछि आत्महत्या गरेको पनि हुनसक्छ। तर अनुसन्धान पुरा भएपछि यही हो भन्न सकिएला।' नेपाल प्रहरीका प्रवक्ता  डिआइजी विश्वराज पोखरेलले भने।

प्रहरीले घटनास्थलबाट धारिलो हतियार समेत बरामद गरेको छ। १२ वर्षीय सिताले दिएको बयानको आधारमा हत्याराको स्केच तयार पारेर अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ। माखिमको पहिलेदेखि नै ससुरासँग झगडा समेत भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। 
प्रहरीको तथ्याङक हेर्ने हो भने बर्षेनी हत्याको सङख्या बढ्दै गएको छ। प्रत्यक बर्ष ६ सय भन्दाबढी व्यक्तिको हत्या भइरहेको छ। प्रहरी भने पछिल्लो समय सामाजिक विकृतिका कारण हत्याको सङख्या थपिएको दावी गर्छ।

पाँच वर्षमा ३ हजारको हत्या

गत भदौको महिनामा मात्र ७१ जनाको हत्या भएको प्रहरीको तथ्याङ्कले देखाउँछ। चालु आर्थिक वर्षको ९ महिनामा ४ सय ९२ जनाले विभिन्न हतियार प्रहार गरेर हत्या गरेको छन्। यसरी मृत्यु हुनेहरुमा सबैभन्दा बढी महिला रहेका छन्।

विगत पाँच वर्षको तथ्याङ्क हेर्दा ३ हजार मानिसको हत्या भएको देखिएको छ। २०७१/७२ मा कुल ६०८ जना हत्या भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। जसमा ३११ जना पुरुष, २२३ जना महिला र ७४ जना जना बालबालिका छन्। वर्षभरिमा भएका हत्यामध्ये यो करीब १२ प्रतिशत हो।
आर्थिक वर्ष २०७२/७३ मा कुल ६ सय २७ जनाको हत्या भयो। अघिल्लो वर्षकभन्दा १९ जनाबढीको हत्या भयो। ३२९ पुरुष मारिँदा १९२ जना महिला मारिए। त्यस्तै १०६ जना अवोध बालबालिका पनि मारिए। ५५ जना बालक र ५१ जना बालिका मारिएका छन्।' यो एउटा डर लाग्दो ग्राफ हो। प्रहरी यसको कारण पहिचान गरेर योजना अगाडी बढाउँछ।' डिआइजी पोखरेलले भने।

आर्थिक वर्ष २०७३\७४ मा भने अघिल्लो वर्षको तुलनामा हत्याको दर कमी आएको थियो। त्यस वर्ष ६१६ जना मानिस विभिन्न तरिकाले मारिए। ३०६ जना पुरुष र २३१ महिला मारिँदा ७९ जना बालबालिका मारिए। मारिनेमा ४० बालक र ३९ बालिका परे।
२०७४\७५ मा गएका वर्षको तथ्याङ्कमा अनुसार फेरि हत्याको दर बढेको छ। देशभर ६२८ जनाको हत्या भएको छ। मारिएकामा ३८ बालक र ४४ बालिका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell