PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अन्नपूर्ण म्याराथन जुन ३ मा हुने, विदेशी खेलाडी पनि सहभागी हुँदै



पहिलोपोस्ट

अन्नपूर्ण म्याराथन जुन ३ मा हुने, विदेशी खेलाडी पनि सहभागी हुँदै

काठमाडौँ : अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण काठमाडौँ समाजको सहआयोजनामा अन्नपूर्ण म्याराथन प्रतियोगिता हुने भएको छ।

अन्नपूर्ण सेन्चुरी महोत्सवको अवसरमा जुन ३ मा दोस्रो पटक अन्नपूर्ण म्याराथन आयोजना हुन लागेको हो।

पहिलो पटक अन्नपूर्ण हिमालयको सफल आरोहण भएको अवसर पारेर प्रत्येक वर्ष जुन ३ मा म्याराथन गर्ने आयोजकले जनाएको छ।

गत वर्ष भएको पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मीका हरिकुमार रिमालले जितेका थिए।

सन् १९५० को जुन ३ मा फ्रान्सका मौरिस हरेजक र लुइस लाछनले पहिलो पटक अन्नपूर्णको सफल आरोहण गरेका थिए।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७६ मा विभिन्न सांस्कृति कार्यक्रमलगायत भलिबल खेलसमेत हुने र म्यराथन यसको मुख्य आर्कषणको रुपमा रहने अन्नपूर्ण काठमाडौं समाजका कोषाध्यक्ष ऋषि भण्डारीले जानकारी दिए।

'मे २९ देखि जुन ४ सम्म फेस्टिभल आयोजना हुनेछ। र अन्तिम दिन म्याराथन गरेर यसको समापन हुनेछ,' उनले भने।

४२.१९५ किमीको म्याराथन अन्नपूर्ण आधार शिविरबाट सुरु भइ कास्कीको अन्नपूर्ण नगरपालिकास्थित घान्द्रुकमा पुगेर समापन हुनेछ। म्याराथनको लागि युवा तथा खेलकुद मन्त्रालयबाट रुटको सर्टिफाईसमेत गराएको भण्डारीले बताए।

आधार शिविर रहेको स्थान झण्डै ४१ सय ३० मिटरको उचाईमा छ र दौड त्यहाँबाट सुरु हुनेछ।

'पर्यटनका लागि सबै मौसम' भन्ने नाराका साथ अन्नपूर्ण सेन्चुरी महोत्सव हुन लागेको हो।

गत वर्ष ६३ खेलाडीले प्रतिस्पर्धा गरेको र यसपटक सय खेलाडी सहभागी हुने अपेक्षा राखेको कोषाध्यक्ष भण्डारीले बताए। 'गत वर्ष नेपाली धावकले मात्र सहभागिता जनाएका थिए। यस पटकदेखि विदेशी खेलाडी पनि सहभागी हुनेछन्। अहिलेसम्म ३ जनाले नाम दर्ता गराइसकेका छन्,' उनले विदेशी खेलाडीको संख्यासमेत बढ्ने बताए।

म्याराथनमा सहभागी हुने खेलाडीलाई खाना, बस्ने र ट्रान्पोर्टेसनको सम्पूर्ण खर्च आयोजकले नै बेहोर्ने भण्डारीले जानकारी दिए। तर पोखरासम्म भने खेलाडी आफैले बेहोर्नुपर्ने र त्यहाँबाटमात्र आयोजकले बेहोर्ने उनले बताए।

म्याराथनमा सहभागी हुने नेपाली खेलाडीले १ हजार र विदेशी खेलाडी ३५० अमेरिकी डलर तिर्नुपर्ने आयोजकले जनाएको छ।

म्याराथनको विजेताले नगद १ लाख ५ हजार हात पार्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमश: ७५ र ५५ हजार पाउनेछन्। यस्तै चौथो देखि दशौँ हुनेले क्रमश: ११ हजार, १० हजार, ९ हजार, ८ हजार, ७ हजार, ६ हजार र ५ हजार प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell