PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतीय लोकसभा निर्वाचनः मत सर्वेक्षण मोदीको पक्षमा, विपक्षी भन्छ  'सर्वेक्षण गसिप, टिभी बन्द गरौँ'



पहिलोपोस्ट

भारतीय लोकसभा निर्वाचनः मत सर्वेक्षण मोदीको पक्षमा, विपक्षी भन्छ  'सर्वेक्षण गसिप, टिभी बन्द गरौँ'

भारतमा सम्पन्न लोकसभा निर्वाचनलाई प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीको लोकप्रियता र राजनीतिक भविष्यको जनमत संग्रहका रूपमा व्याख्या समेत गरिएको छ।

अप्रिल ११ बाट सुरु भएर मे १९ मा समाप्त भएको लोकसभा निर्वाचनको मतपरिणाम मे २४ बाट सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ।

मतपरिणाम आउन केही दिन बाँकी रहँदा आइतबार अन्तिम चरणको निर्वाचन सकिएपछि भने भारतीय मिडियाहरूमा मत सर्वेक्षण सार्वजनिक गर्ने होड नै चलेको छ।

प्रिन्ट संस्करणदेखि टेलिभिजन तथा अनलाइनहरुबीच आफूले गरेको सर्वेक्षणलाई सही साबित गर्ने प्रयास गरिरहेका छन्।

अधिकांश मत सर्वेक्षणहरूले वर्तमान प्रधानमन्त्री मोदीको नेतृत्वमा नै पुन: सरकार बन्ने प्रक्षेपण गरेका छन्। ५४३ लोकसभा सिटमध्ये मोदी नेतृत्वको नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए) ले ३०० भन्दा बढी सिट जित्ने सर्वेक्षण अधिकांशले गरेका छन्। यस्तै भारतीय कांग्रसको नेतृत्वमा रहेको युनाइटेड पोग्रेसिभ एलायन्स (युपीए) ले करिब १३० सिट जित्ने अनुमान गरिएको छ। अन्य दलहरूले भने १०० हाराहारीमा सिट जित्ने अनुमान छ।

मोदीले यसपटक भारतीय जनता पार्टीले पुन: बहुमत ल्याउने दाबी गरेका थिए। सरकार बनाउन लोकसभामा २७२ सिटको आवश्यक्ता पर्छ। एक्जिट पोलले उनको भनाइलाई पुष्टि गर्दैछ।

एनडीएमा भाजपाका साथै क्षेत्रीय दलहरू शिव सेना, लोक जनशक्ति पार्टी,अकाली दल, जनता दल युनाइटेड, अपना दल लगायत संलग्न छन्। २०१४ को निर्वाचनमा भाजपा एक्लैले २८२ सिट जितेको थियो भने एनडीएले ३३६ सिट जितेको थियो।

२०१४ मा कांग्रेसले मात्र ४४ सिटमा जित हासिल गरेको थियो। उसको नेतृत्वमा रहेको युपीएले मात्र ६० सिट जितेको थियो। २०१४ को निर्वाचन कांग्रेसको इतिहासको सबैभन्दा खराब नतिजा थियो। युपीएमा कांग्रेससँगै राष्ट्रिय जनता दल, राष्ट्रिय कांग्रेस पार्टी, मुस्लिम लिग, लोक समता पार्टी, अपना दल लगायतका थिए।

यसपटक राहुल गान्धीको नेतृत्वमा चुनावी मैदानमा होमिएको कांग्रेसले दोस्रोपटक मोदी सरकार नबन्ने दाबी गर्दै गर्दा एक्जिट पोलहरुले भने कांग्रेसलाई साथ दिएको छैन। यद्यपि, कांग्रेसले २०१४ को भन्दा बढी सिट जित्ने प्राय सर्वेक्षणहरूले देखाएको छ।

युपीएका साथै मोदी सरकारविरुद्ध निर्वाचनमा विपक्षीहरूको महागठबन्धन समेत थियो। कांग्रेस, तृणमूल कांग्रेस, समाजवादी पार्टी, बहुजन समाजवादी पार्टी, आम आदमी पार्टी लगायतको महागठबन्धनले मोदीलाई टक्कर दिने नीति लिएको थियो। भाजपाविरुद्ध एक साथ देखिएका यी सबै, पार्टीले गठबन्धन बनाएर निर्वाचन लड्ने बताए पनि अधिकांशले छुट्टा छुट्टै निर्वाचन लडे।

इन्डिया टुडे र एक्सिसको मत सर्वेक्षणमा भाजपासहित एनडीएले ३३९ देखि ३६५ सिट जित्ने र कांग्रेससहितको युपीएले ७७ देखि १०८ सिट जित्ने देखाएको छ। यस्तै अन्य क्षेत्रीय दलहरूले भने ६९ देखि ९५ सिट जित्ने उसको अनुमान छ।

यता, न्यूज २४ र चाणक्यको सर्वेक्षणमा भने एनडीएले ३५०, युपीएले ९५, समाजवादी र बहुजनको गठबन्धनले १३ र अन्यले करिब ८० सिट जित्ने अनुमान गरेको छ।

केही एक्जिट पोलहरूमा भने एनडीएले ३०० को सिट पार नगर्ने र कांग्रसलाई केही राहत मिल्ने देखाएको छ। तमिलनाडुमा भने कांग्रेसलाई सफलता मिल्ने सर्वेक्षणहरूले देखाएको छ। एम करुणानिधि र जयललिताको निधनपछि त्यहाँ भाजपाले राम्रो प्रदर्शन नगर्ने अनुमान गरिएको छ।

न्यूज नेशन, इन्डिया न्यूजले गरेको मत सर्वेक्षणमा एनडीएले २८०-२९० सिट जित्ने अनुमान गरेको छ। युपीएले १२० भन्दा बढी सिट जित्दा समाजवादी र बहुजनले ४० र अन्य क्षेत्रीय दलले ८० सिट जित्ने अनुमान गरेको छ।

हिन्दुत्व, राष्ट्रियताको अभियानसहित दोस्रोपटक प्रधानमन्त्री बन्ने आकाङ्क्षासहित चुनावी मैदानमा होमिएका मोदीलाई एक्जिट पोलहरुले साथ दिएको छ। मत सर्वेक्षणका आधारमा भाजपा र एनडीएका कार्यकर्ताहरूले खुसीयाली मनाउन थालिसकेका छन्।

 

विपक्षीको प्रतिक्रिया: टिभी बन्द गरौँ

तर, विपक्षीहरूले भने एक्जिट पोलका नतिजाहरू झुटको खेती भएको भनेर टिप्पणी गरेका छन्।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले एक्जिट पोललाई 'गसिप' को संज्ञा दिँदै मतदानका लागि प्रयोग भएको विद्युतीय मेसिनसँग छेडछाड र साट्ने प्रयत्नका आधारमा यो सर्वेक्षण आएको आरोप लगाएकी छिन्। उनले यो सर्वेक्षणविरुद्ध विपक्षीहरूले मिलेर सामना गर्ने समेत बताएकी छिन्। उनले निर्वाचन आयोग मोदीको इसारामा चलेको आरोप लगाउँदै आएकी छिन्।

यस्तै जम्मू कश्मिरका पूर्व मुख्यमन्त्री ओमर अब्दुल्लाले समेत एक्जिट पोलको नतिजालाई लिएर ठट्टा शैलीमा विरोध जनाएका छन्। उनले एक्जिट पोल गलत हुन नसक्ने भन्दै अब टिभी बन्द गरेर सामाजिक सञ्जालबाट टाढा रहने बेला आएको बताएका छन्।

अब्दुल्लाले मे २४ मा विश्वले लोकसभा निर्वाचनको वास्तविक नतिजा थाहा पाउने बताएका छन्।

विपक्षी गठबन्धनका अरू दलहरूले समेत मोदीको पक्षमा गरिएको मत सर्वेक्षणको विरोध गरेका छन्। कांग्रेस नेता तथा पञ्जाबका मुख्यमन्त्री अमरिंदर सिंहले अहिलेको मत सर्वेक्षणले जनताको भावनाको कदर नगरेको बताएका छन्।

हिन्दु राष्ट्रवाद, पाकिस्तान विरोधी छवि र फेब्रुअरी १४ मा भएको पुलवामा आक्रमणपछि दाबी गरिएको 'सर्जिकल स्ट्राइक' ले मोदी लहरलाई यसपटक पनि कायम राख्ने अनुमान गरिएको थियो। तर, विपक्षीहरूले भने नोटबन्दी, कालो धन फिर्ता ल्याउने बाचा, किसान आन्दोलन, राफेल काण्ड, सर्जिकल स्ट्राइक भनेर गरेको प्रोपागान्डा, र मोदीको अलोकप्रिय छविका कारण यसपटक मोदी सरकार नबन्ने दाबी गरेका थिए। एक्जिट पोलहरू भने मोदीकै पक्षमा जाँदा विपक्षीहरूले तानाशाह प्रवृत्तिको पुनरावृत्ति हुने बताएका छन्।

 

एक्जिट पोल सही नहुन नि सक्छ

२०१७ मा अमेरिका भएको राष्ट्रपति निर्वाचनमा रिपब्लिकनका तर्फबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटका तर्फबाट हिलारी क्लिन्टन चुनावी मैदानमा थिए। त्यति बेला मिडियादेखि अधिकांश हिलारीको पक्षमा थिए। एक- दुई एक्जिट पोलबाहेक विश्वभर गरिएका मत सर्वेक्षणहरूमा हिलारीले जित्ने अनुमान गरिएको थियो। तर, जब नतिजा आयो, विश्व नै आश्चर्यचकित भयो। ट्रम्प अमेरिकाका ४५ औँ राष्ट्रपतिमा निर्वाचित भए। विश्वभरका एक्जिट पोल गलत साबित भए। त्यसपछि डोनाल्ड ट्रम्पले आफूविरुद्ध खनिएका मिडियालाई 'फेक न्यूज उत्पादन गर्ने' संस्थाका रूपमा व्याख्या गर्न थाले।

यस्तै , केहीदिनअघि मात्रै अस्ट्रेलियामा भएको आम निर्वाचनमा समेत अधिकांश मत सर्वेक्षण गलत साबित भए। एक्जिट पोलहरूले वर्तमान प्रधानमन्त्री स्कट मोरिसनको पार्टी पराजय हुने र विपक्षी लेवर पार्टीले सरकार बनाउने प्रक्षेपण गरेको थियो। तर त्यहाँ पनि नतिजा उल्टियो। एक्जिट पोलबाट नतिजालाई गलत साबित गर्दै स्कट मोरिसनको पार्टीले धेरै सिटमा विजय हासिल गर्‍यो। उनी फेरि सरकार बनाउने तयारी गर्दैछ।

२०१८ मा भारतमै भएको प्रादेशिक निर्वाचनमा समेत भारतीय जनता पार्टी जित्ने अनुमान धेरै एक्जिट पोलको थियो। तर, मत सर्वेक्षणहरूले फेल खाए। कांग्रेसले मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा विजय हासिल गर्दै सरकार निर्माण गर्‍यो। यी प्रादेशिक निर्वाचनले लोकसभा निर्वाचनमा प्रत्यक्ष असर गर्ने भनिए पनि एक्जिट पोलले फेरि भाजपालाई नै अघि सारेको छ।

एक्जिट पोल नै अन्तिम निर्णय भने नहुने भारतीय मिडियाले अमेरिका र अस्ट्रेलियाबाट सिक्न जरुरी देखिन्छ। आफैं कहाँ भएको प्रादेशिक निर्वाचनमा गलत रहनुले पनि उनीहरूका लागि एउटा पाठ हो। अहिले भारतीय टेलिभिजन र अनलाइनहरूले जसरी आफ्नो अत सर्वेक्षण नै अन्तिम हुने जसरी प्रदर्शन गरिरहेका छन् त्यसबाट आम मतदाताहरूले व्यक्त गरेको मतको अपमान नहोस् भनेर विचार गर्नु आवश्यक रहेको विश्लेषकहरुले टिप्पणी गरेका छन्।

लोकसभामा मोदी लहर कायमै रहला वा राहुल गान्धीको उदय होला यो त मे २४ पछि थाहा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell