PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पाथीभरा, साराङकोट लगायत पाँच स्थानमा बन्दैछन् केबलकार, थपिँदै सात अर्बको लगानी



वसन्तराज उप्रेती

पाथीभरा, साराङकोट लगायत पाँच स्थानमा बन्दैछन् केबलकार, थपिँदै सात अर्बको लगानी

काठमाडौँः नेपालको पहिलो केबलकार स्थापना गरेको चितवन कोइ समूहले चारवटा नयाँ केबलकार बनाउने भएको छ। २१ वर्षअघि मनकामना केबलकार स्थापना गरेको समूहले इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा केबलकार  निर्माण गर्न लागेको हो।

समूहले अहिले यही मोडलमा साराङकोटमा अन्नपूर्ण केबलकार  निर्माण गरिरहेको छ। जग्गा व्यवसायी कालु गुरुङ र जापानी समूहमा टाकासी मियाहराको लगानीमा निर्माण भइरहेको यो केबलकार  दशैंसम्म सञ्चालनमा आउनेछ।

समूहका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले अन्नपूर्ण बाहेक अरू चार वटा केबलकार  निर्माणको चरणमा रहेको बताए।

‘हामीले इपिसी मोडलमा केबलकार निर्माण गरिरहेका छौँ। चारवटा परियोजनामध्ये कतिपय विस्तृत परियोजना प्रतिवेदनको चरणमा छ भने कतिपय निर्माणको चरणमै पुगेको छ’ उनले भने, 'अन्नपूर्ण केबलकार समेत गर्दा पाँचवटा केबलकार को परियोजनामा सात अर्ब लगानी हुनेछ।’

समूहका अनुसार पोखरामै पुम्दिकोट केबलकार, ताप्लेजुङमा पाथीभरा केबलकार, काठमाडौँमा दक्षिणकाली-चौकटदेवी केबलकार र हेटौंडा केबलकार निर्माण हुनेछ। यी चार वटा परियोजनामध्ये तीन परियोजनामा भने चितवन कोईको समेत लगानीमा केबलकार निर्माण हुनेछ।

यति समूहको लगानीमा निर्माण हुन लागेको पाथीभराको डीपीआर सकेर प्रोजेक्ट डिजाइन भइरहेको छ। यो केबलकार  निर्माणका लागि कुनै समस्या छैन। निर्माणको प्रतिस्पर्धामा रहेको त्रिवेणी केबलकार प्रालिले हात झिकेपछि पाथिभरा मातादेवी दर्शन केबलकार प्रालिलाई बाटो खुलेको हो।

यो केबलकार निर्माणका लागि स्वर्गीय आङछिरिङ शेर्पाले प्रक्रिया अगाडि बढाएका थिए। उनको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएपछि उनका दाइ सोनाम शेर्पाले यो परियोजना हेरिरहेका छन्।

ताप्लेजुङको फुङलिङ नगरपालिकाले केबलकार अनुमतिसम्बन्धी कार्यविधि पारित गरी पाथीभरालाई दिएको थियो। मन्त्रिपरिषद्ले पनि पाथीभरालाई केबलकार निर्माण हुने क्षेत्रको सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको छ। यो केबलकार को लम्बाई साढे दुई किलोमिटरको हुनेछ।

दक्षिणकाली-चौकटदेवी केबलकार को डीपीआर भइसकेको छ। दक्षिणकाली मन्दिर नजिकैबाट चौकटदेवीसम्म पुग्नेगरी केबलकार  निर्माण हुनेछ। दक्षिणकाली नगरपालिका अनुसार दक्षिकाली मन्दिरमा वार्षिक २५ लाख दर्शन गर्न पुग्छन्।

श्रेष्ठले काठमाडौँबाट नजिकै रहेको घुमघामका लागि उपयुक्त क्षेत्र दक्षिणकाली हुने बताउँदै धार्मिक महत्त्व र रिफ्रेसमेन्ट दुबैलाई ध्यान दिएर केबलकार  निर्माण गर्न लागेको बताए।

‘टप स्टेसन दुई हजार मिटरमाथि छ। त्यहाँबाट काठमाडौँको दृश्य सजिलै देख्न सकिन्छ। त्योसँगै हिमाल समेत हेर्न सकिन्छ। दक्षिणकाली प्रख्यात तिर्थस्थल समेत भएकाले यो परियोजना चल्ने देखेर केबलकार  निर्माण गर्न लागेका हौँ’ श्रेष्ठले भने, 'केबलकारको टप स्टेसनमा हामीले पिकनिक स्पट समेत बनाउँछौँ।’

पोखराको पुम्दिकोट केबलकार को समेत डीपीआर सकिइसकेको छ। पुम्दिकोटको केबलकार निर्माण क्षेत्रमा सार्वजनिक जग्गा नभएकाले निर्माणमा कुनै समस्या छैन।

‘यो केबलकार  निर्माण हुने क्षेत्रमा सार्वजनिक जग्गा पर्दैन्। हामीले डिपिआर पछि प्रोजेक्ट डिजाइनमा गइहाल्छौँ। यो पोखराको बेस्ट डेस्टिनेशन बन्ने विश्वास हामीले लिएका छौँ’ उनले भने।

श्रेष्ठले चारवटै परियोजना सकेसम्म चाँडै निर्माणको चरणमा पुर्‍याउने बताउँदै यो केबलकार ले धार्मिक पर्यटनलाई अभिवृद्धि गर्ने दाबी गरे।

केबलकारमा ठूलो लगानी

नेपालकै पहिलो केबलकार भित्र्याएर सफल रूपमा सञ्चालन गरेको अनुभव यो समूहसँग छ। स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले २०५५ सालमा सञ्चालनमा ल्याएका मनकामना केबलकार मा वार्षिक १० लाख यात्रु चढ्छन्।

अष्ट्रियाको सफल डोपलमेयरको नेपालको अधिकृत बिक्रेता समेत रहेको यो समूहसँग दक्ष इन्जिनियरको समूह समेत छ। केबलकार  सञ्चालनको अनुभव र त्यसको जोखिमका बारेमा ज्ञान भएकाले समेत यो समूहलाई केबलकार  स्थापना गर्न चाहनेले पहिलो प्राथमिकतामा राख्छन्।

‘केबलकार स्थापना गर्नुअघि सल्लाह माग्न आउनुहुन्छ। हामीले सही सल्लाह दिने गरेका छौँ। कतिपय घरानाले भने लगानीकै लागि समेत प्रस्ताव गर्नुहुन्छ’ श्रेष्ठले भने, 'हामीले फिजिविलिटी हेरेर आफूले भ्याएसम्म सल्लाह दिने गरेका छौँ। कतिपय परियोजनामासँगै जाने बारेमा छलफल समेत भइरहेको छ।’

उनले अनुभवकै आधारले केबलकार मा लगानी बढाउन चाहेको समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell