PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अमेरिका इरान तनाव: साउदी राजाले बोलाए मध्यपूर्वी परिषद र अरब लिगको आकस्मिक बैठक‍



अमेरिका इरान तनाव: साउदी राजाले बोलाए मध्यपूर्वी परिषद र अरब लिगको आकस्मिक बैठक‍
फोटो :Al Jazeera

मध्यपूर्वी क्षेत्रमा बढिरहेको तनावका बारे छलफल गर्न साउदी अरेबियाले मध्यपूर्वी सहयोग परिषद र अरब लिगको आकस्मिक बैठक आह्वान गरेको छ।

साउदी प्रेस एजेन्सीका अनुसार साउदी राजा सलमानले मेक्कामा मे ३० का लागि मध्यपूर्वी र अरब लिगका नेताहरुलाई बोलाएका छन्।

इरान र अमेरिकाबीच युद्धको अवस्था सिर्जना भइ अमेरिकाले मध्यपूर्व क्षेत्रमा प्रतिरक्षा क्षमताको मिसाइल र युद्धपोत तैनाथ गरेकाले यसबारे छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ।

दुई राष्ट्रबीच युद्धको खतरा उत्पन्न हुँदै गर्दा गत हप्ता अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आकस्मिक रुपमा इराक पुगेर इराकी राष्ट्रपति ब्रहम सालिह र प्रधानमन्त्री अदिल अब्दुल महदीसँग भेट वार्ता गरेका थिए। उनले इराकमा रहेका अमेरिकी सैनिकमाथि इरानले आक्रमण गरे त्यसको प्रत्यक्ष प्रभाव इराकलाई पनि पर्ने भन्दै सहकार्यका लागि आग्रह गरेका थिए।

साउदीको विदेश मन्त्रालयले आफ्नो राष्ट्रले युद्ध नचाहेको भन्दै युद्ध रोक्न आफूहरुले प्रयास गर्ने उल्लेख गरेको छ।

इरानले अमेरिकी सेनालाई 'आतंकवादी संगठन' घोषणा गरेपछि मध्य पूर्वी क्षेत्रमा सुरक्षा चुनौती बढेको भन्दै अमेरिकाले युद्धपोत र मिसाइल तैनाथ गरेको हो।

गत चैतमा इरानले अमेरिकालाई 'आतंकवादको प्रायोजक' घोषणा गर्दै मध्यपूर्वी क्षेत्रमा रहेका अमेरिकी सैनिकलाई 'आतंकवादी संगठन' घोषणा गरेको थियो।

अमेरिकाले इरानी सेनाको एक समूह 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प' लाई 'आतंकवादी संगठन' घोषणा गरेको बदलामा इरानले समेत अमेरिकालाई काउन्टर दिन यस्तो निर्णय गरेको थियो।

सिरिया, अफगानिस्तान, इराक,यमन र मध्यपूर्वी क्षेत्रहरुमा अमेरिकी सेनाको उपस्थितिले त्यहाँ अझै युद्धको अवस्था सिर्जना भएको इरानले आरोप लगाउँदै आएको छ।

इरान र अमेरिकाबीच भएको आणविक सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रद्द गरेपछि दुवै राष्ट्रको सम्बनधमा तनाव उत्पन्न हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell