PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ढाट जलाउन खोज्दा प्रहरी असईलाई नै आगो लगाइयो, दुई व्यापारी पक्राउ



पहिलोपोस्ट

ढाट जलाउन खोज्दा प्रहरी असईलाई नै आगो लगाइयो, दुई व्यापारी पक्राउ
आगो लागेर घाइते भएकी प्रहरी असई पौडेल। फोटो सौजन्य: @NabarajSoti

काठमाडौः  राजश्व संकलन केन्द्रकी इन्चार्जलाई आगो लगाएको आशंकामा चितवन प्रहरीले दुईजना व्यापारीलाई पक्राउ गरेको छ। प्रहरीले रेष्टुरेन्ट एन्ड बार एसोसिएसन सौराहाका अध्यक्ष गोकर्ण गिरीलाई नियन्त्रणमा लिएको छ।

गत शुक्रबार बिहान करिब साढे १० बजेतिर व्यापारीको समुहले भरतपुर नगरपालिकाको १० नम्बर वडामा पर्ने गोद्राङ्बाट कर संकलन केन्द्र हटाउन ढाटमा आगो लगाएको थियो। ढाट जलाउने क्रममा छर्किएको पेट्रोल सडक दस्तुर संकलनकी इन्चार्ज असई कल्पना पौडेलको जिउमा परेको थियो। आन्दोलनकारीले आगो लगाएपछि असई पौडेलको जिउको केही भाग जल्न पुगेको थियो।

‘ प्रर्दशनकारीले ढाटमा आगो लगाउँदा उहाँको पनि शरिर जलेको हो। उहाँलाई नै जलाउन खोजिएको हो वा ढाटमा आगो लगाउँदा सल्किएको हो अनुसन्धान गर्दैछौं,‘ जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गाप्रसाद रेग्मीले भने।

भरतपुर नगरपालिकाको १० नम्बर वडामा पर्ने गोद्राङ्बाट कर संकलन केन्द्र हटाउनुपर्ने भन्दै यसअघि नै स्थानीयहरुले प्रशासनमा ज्ञापनपत्र बुझाइसकेका छन्। प्रशासनले ठेकदारसँगको मिलेमतोमा ढाट राख्न दिएको स्थानीयको आरोप छ।

प्रशासनले ढाट हटाउन अटेर गरेपछि रत्नगर उद्योग बाणिज्य संघको नेतृत्वमा व्यापारीहरु र स्थानीय शुक्रबार बिहार ढाट जलाउन गोद्राङ पुगेका थिए। उनीहरुको कर संकलन केन्द्र भरतपुरमा नभएर चितवनको सिमामा राख्नु पर्ने माग छ।

सडक कर उठाउने पुरानो कन्ट्रयाक बैशाख मसान्तबाट सकिएको थियो। कर उठाउने नयाँ कन्ट्रयाक भने मौलाकालिका कन्स्ट्रक्सनले पाएको थियो। मौलाकालिका कन्ट्रक्सनका अध्यक्ष अमृत भट्टचनले ६ करोड ५१ हजार रुपैयाँ बुझाउने सर्तमा कन्ट्रयाक पाएका थिए। रत्ननगर उद्योग वाणिज्य संघले गोन्द्राङबाट कर हटाउन विरोध गर्दै आएको थियो।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले चितवनका केही व्यापारीलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। ‘ हामीले दुईजनालाई नियन्त्रणमा लिएका अनुसन्धान गरिरहेका छौं। थप शंकास्पदहरुको खोजी भइरहेको छ,‘ डिएसपी रेग्मीले भने।

घाइते असई कल्पनाको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell