PahiloPost

Aug 18, 2019 | १ भदौ २०७६


सेनाको कब्जाबाट मुक्त हुँदै भक्तपुरको रानीपोखरी, काठमाडौंको टुँडिखेललाई कसले बचाउने?


सहयोग रञ्जित

सेनाको कब्जाबाट मुक्त हुँदै भक्तपुरको रानीपोखरी, काठमाडौंको टुँडिखेललाई कसले बचाउने?

भक्तपुर : भक्तपुर बोलाछेंका श्याम कृष्ण प्रजापति अहिले ७० वर्षका भए। युवा उमेरसम्म उनी हिँड्दै रानी पोखरी पुग्थे, थाकेको समय त्यहाँका सत्तलमा विश्राम गर्थे अनि साथीभाइसित गफिन्थे। तर, २०४० सालपछि भने उनले रानीपोखरीमा स्वतन्त्र भएर पाइला टेक्न सकेनन्।

२०४० सालसम्म सबैका लागि खुल्ला रहेको रानीपोखरी क्षेत्रको करिब ३२ रोपनी क्षेत्रफल तत्कालीन शाही सरकारले सैन्य तालिम केन्द्रको विकास गर्न अधिग्रहण गर्‍यो। जनताको जमिनमा सेनाको नियन्त्रणमा पुग्यो। त्यहाँ वीरेन्द्र सैनिक आवासीय महाविद्यालय (हाल सैनिक आवासीय महाविद्याल) बनाइयो, खेल मैदान बन्यो, नयाँ घर ठडिए। त्यसपछि स्थानीयहरु स्वतन्त्र रुपमा रानीपोखरी क्षेत्रमा जानबाट बञ्चित भए।

तर, सेनाले आफ्नो सुरक्षाको कारण देखाउँदै नियन्त्रणमा राखेको रानीपोखरीमा स्थानीयलाई जानुपर्ने बाध्यता थियो। किनभने त्यहाँ उनीहरुका दिगु द्य: (कुलदेवता) रहेको छ।

यो पनि पढ्नुस्: भक्तपुरको रानीपोखरी सेनाको नियन्त्रणमा, आफ्नै कुल देवता पूजा गर्न सेनाको घेराबन्दी

त्यसैले वर्षको दुई दिन दिगु पुजा गर्न स्थानीयहरुलाई सेनाले छुट दिने गरेको छ। अरु समय जान सेनाको स्वीकृति चाहिन्छ। गत वैशाख २६ गते रानीपोखरीमा कूल देवता पूजा गर्न पुगेका श्यामकृष्णसँगको भेटमा उनीले रानीपोखरी सबैका लागि खुलेको देख्न चाहेको बताएका थिए।

भक्तपुरका धेरै स्थानीयहरु आफ्नो छोरी इही र छोराको ब्रतबन्ध देवालीकै समयमा गर्छन्। अहिले पनि त्यो परम्परा कायम छ। सेनाले आवश्यक बेलामा रानीपोखरी प्रवेशको अनुमति त दिन्छ। तर आफ्नै कुल देवता कहाँ जान पनि सेनाको अनुमति लिनुपर्ने भन्दै स्थानीयहरु आक्रोशित थिए। त्यसैले उनीहरु सेनाले नियन्त्रणमा राखेको रानीपोखरी खुल्ला गर्नुपर्ने माग गरिरहेका थिए।

जनताको मागको कदर गर्दै ३६ वर्षपछि भने सेना रानीपोखरीलाई आफ्नो नियन्त्रणबाट मुक्त गर्दै जनताका लागि खुल्ला गर्न सहमत भएको छ।

***

नगरपालिकाको सफलता

रानीपोखरी भन्ने बित्तिकै धेरैले काठमाडौंको रानीपोखरी सम्झन्छन्। तर, यो कथा काठमाडौंको नभइ भक्तपुरको रानी पोखरीको कथा हो।

हुन त भक्तपुरमा पनि रानीपोखरी रहेको बारेमा भक्तपुरकै धेरै मानिसहरु अनभिज्ञ छन्। भक्तपुरभन्दा बाहिरका मानिसलाई थाहा हुने त कुरै भएन।

भक्तपुरको सल्लाघारीमा रहेको सैनिक आवासीय महाविद्यालय अन्तर्गत विज्ञान तथा व्यवस्थापन संकाय रहेको भवनको बाटो हुँदै रानीपोखरी पुग्न सकिन्छ।

भक्तपुर नगरपालिका र नेपाली सेनाबीच धेरै चरणमा भएको छलफलबाट भक्तपुरको ऐतिहासिक र सांस्कृतिक महत्वको रानीपोखरी पुन: सर्वसाधारणका लागि खुल्ला हुने लागेको हो।

राजतन्त्र छँदा नै नेपाल मजदूर किसान पार्टी र स्थानीयले रानीपोखरी र अतिक्रमित जग्गा खुलाउन आवाज उठाएका थिए। तर, त्यो सफल हुन सकेको थिएन।

राजतन्त्रको समाप्ति र गणतन्त्रको स्थापनापछि भएको स्थानीय तहको निर्वाचनमा नेमकिपाको ऐतिहासिक विजयसँगै नगरपालिका प्रमुख सुनिल प्रजापति लगायतले सेनासँग वार्ता गरी रानीपोखरी पुन: खुल्ला गराउने प्रयास गरेका थिए।

अन्तत: उनकै अग्रसरतामा भक्तपुको रानीपोखरी पुनःनिर्माण गर्दै सर्वसाधारणको लागि खुल्ला गर्ने तथा सेनाकै अधिनमा रहेको सिद्धपोखरी उत्तरतर्फको खेल मैदान समेत स्थानीयको लागि खेलकुद प्रयोजनका लागि खुल्ला सहमति सेनासँग भएको छ।

प्रमुख प्रजापति यसलाई नगरपालिकाको जीतभन्दा जनताको माग र आवश्यकताको जीत भएको बताउँछन्।

भन्छन्, 'सेनासँग सल्लाह गरेर ऐतिहासिक र सांस्कृतिक महत्वको रानीपोखरी खुल्ने भएको छ। हामीले प्रधान सेनापतिजी सँग कुरा गर्‍यौं। उहाँ यस विषयमा सकारात्मक हुनुभयो। जनताले आफ्नो सांस्कृतिक पर्व निर्वाह गर्दै आएको स्थान खुल्नु नै थियो।'‍

काठमाडौंको भन्दा जेठो रानीपोखरी

शाहीकालमा सेनाको नियन्त्रणमा पुगेको भक्तपुरको रानीपोखरी काठमाडौंको रानीपोखरीभन्दा जेठो पोखरी हो। भक्तपुरका राजा जगज्योति मल्लले विक्रम संवत् १६८७ मा आफ्नी रानी राजलक्ष्मीको सम्झनामा रानीपोखरी निर्माण गरेको गरेका थिए।

काठमाडौंको रानीपोखरी भने त्यसको ४० वर्षपछि विसं १७२७ मा प्रताप मल्लले बनाउन लगाएका थिए। प्रताप मल्लले आफ्ना छोरा चक्रवतेन्द्रको मृत्युपछि आफ्नी रानीको मन बुझाउन बनाएका थिए।

संस्कृतिविद् पुरुषोतमलोचन श्रेष्ठका अनुसार प्रताप मल्लले भक्तपुर आक्रमण गर्दा यहाँका पोखरीहरु भत्काएका थिए। भक्तपुरको रानीपोखरीमा क्षति पुर्‍याउने उनी नै थिए। उनैले भक्तपुरमा रहेको भाजुपुखुको नक्कल गर्दै काठमाडौंमा रानीपोखरी बनाएका थिए। भक्तपुरभन्दा पछि बनेकोले काठमाडौंका स्थानीयहरु यहाँको रानीपोखरीलाई 'न्हू पुखु' भन्ने गर्छन्। पछि प्रताप मल्लले बिगारिदिएको रानीपोखरीलाई जीतामित्र मल्ले १७३५ सालमा पुनर्निर्माण गरेका थिए।

प्रताप मल्लकै समयमा भक्तपुरमा रहेको भाजुपुखुसमेत क्षति पुर्‍याइएको थियो। सो पोखरी काठमाडौंको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो रहेको श्रेष्ठ बताउँछन्। हाल भाजु पुखु निर्माण गरिरहका भक्तपुरका स्थानीयहरुले नै काठमाडौंको रानीपोखरीमा पानी अड्याउने काम गरिरहेका छन्।

हुन त काठमाडौंको रानीपोखरीको २०७२ सालको भूकम्पले क्षति पुगेपछि पुनर्निर्माणको काम सेनालाई जिम्मेवारी दिने तयारी काठमाडौं महानगरपालिकाले गरेको थियो। तर, भक्तपुर नगरपालिकाको अग्रसरतामा सो कार्य रोकिएको थियो।

यो पनि पढ्नुस् : रानीपोखरी पुनर्निर्माण: काठमाडौँ महानगरपालिका 'निकम्मा' साबित भएपछि भक्तपुरको हातमा आएको जिम्मेवारी

संस्कृतिविद् श्रेष्ठका अनुसार ललितपुर र काठमाडौंको हरिसिद्धि र नरदेवी नाच १२ वर्षमा भक्तपुर ल्याउने चलन थियो। उनीहरु आउँदा रानीपोखरीको सत्तलमा बस्ने र आपचारिक सूचनापछि शहरभित्र प्रवेश गर्ने गर्थे। सेनाले पोखरी अतिक्रमण गरेपछि भने सो सत्तल प्रयोगविहीन बन्यो र नाच गर्न आउने देवगणहरु त्यहाँ बस्ने चलन समेत लोप भयो। बिस्का: अघि काठमाडौंको हनुमानढोका राजदरबारबाट राज खड्ग ल्याएर त्यही सत्तलका राखेर विधिवत भक्तपुर दरबार भित्राउने चलन थियो। सत्तल मासिएसँग यस्ता कयौं संस्कारहरु लोप हुँदै गए।

सेनाको अतिक्रमणमा परेर काठमाडौंका पनि अधिकांश संस्कृति र सम्पदाहरु लोप हुँदै गएको संस्कृतिविदहरु बताउँछन्।

काठमाडौंको टुँडिखेलमा सेनाले अतिक्रमण गरेपछि त्यहाँ पनि स्थानीय नेवारहरुले गर्दै आएका कूलपूजा र विभिन्न जात्रा पर्वमा समस्या पर्दै आएको असनका लाभरत्न तुलाधर बताउँछन्। टुँडिखेलमा सेनाले मुख्यालय मात्र बनाएन, पार्टी प्यालेस र पछिल्‍लो समयमा सैनिक पुस्तकालयको भवनसमेत ठड्याएको छ।

प्रदेश नम्बर ३ का सांसद विराजभक्त श्रेष्ठ भक्तपुरले रानीपोखरी खुल्ला गराएर अनुकरणीय काम गरेको भन्दै काठमाडौं महानगरपालिकाले सेनाले नियन्त्रणमा राखेको टुँडिखेल क्षेत्र जनताकै अधिनमा ल्याउने समय आएको बताउँछन्।

भक्तपुरले सेनाको अधिनमा रहेको रानीपोखरी र खेल मैदानलाई जनताका लागि खुल्ला गराउनु चुनौतिपूर्ण काम सफल रुपमा गरेको बताउँदै काठमाडौंमा भने खुल्ला क्षेत्र नभइ भ्यू टावर निर्माणको होड चलेको बताए।

सेनाले काठमाडौंका खुल्ला जग्गा नियन्त्रण गरिरहेको बारे आफू प्रदेशसभामा कुरा उठाएको तर प्रदेशको संरचना बन्दै गरेको अवस्था रहेकाले त्यसले मूर्तरुप लिन केही समय लाग्ने बताउँदै भने, 'काठमाडौंमा खुल्ला ठाउँ कहाँ छ? महानगरपालिकाको संरचना त बलियो छ। भक्तपुरले सक्ने काठमाडौंले नसक्ने भन्ने हुँदैन। तर, के गर्ने महानगरसँग कुनै कार्ययोजना नै छैन। इच्छाशक्ति हुनुपर्‍यो।'

यो पनि पढ्नुस् : एसियाकै विशाल 'परेड मैदान टुँडिखेल': कसरी पर्‍यो राणा, राजा, सेना र गणतन्त्रको अतिक्रमणमा

विराजले भक्तपुरले काठमाडौं उपत्यकामा मात्रै नभइ देशको लागि एउटा नजिर बसालेको उल्लेख गर्दै यसबाट अन्य नगरपालिकाहरुलाई नैतिक दबाब पर्ने तर्क गरे। उनले भक्तपुरले आफ्नो पोखरी र मैदानलाई जनताका लागि खुल्ला गराए झै काठमाडौंले पनि यहाँका जनताको हितमा त्यसको अनुकरण गर्नुपर्ने बताए।

पुनर्निर्माणको काम सुरु

नगरपालिका प्रमुख प्रजापतिका अनुसार सेनासँग भएको सहमति अनुसार हाल रानीपोखरीको क्षेत्रफल एकिन गर्न नगरपालिका र नेपाली सेनाले समन्वय गर्दै नापी नक्सा बनाउने काम सुरु भएको छ। नापी नक्सा प्राप्त भइसकेपछि त्यही आधारमा नगरपालिकाले रानीपोखरी मल्लकालीन शैलीमा नै जिर्णोद्धार गर्नेछ।

संस्कृतिविद् ओम धौभडेलका अनुसार रानीपोखरीको बीचमा सुनको नागको टाउको र चारैतिर विभिन्न मूर्तिहरु रहेको थियो। रानीपोखरीमा प्रजापति, अवाल, जोन्छे, महर्जन, भुसिटु लगायत विभिन्न समुदायको कुल देवता रहेको छ। त्यसबाहेक त्यहाँ विभिन्न सांस्कृतिक पर्वहरु हुने गर्थे। सेनाले लिएपछि ती चाडपर्वहरु बिस्तारै लोप हुँदै गएको थियो।

धौभडेल भन्छन्, 'मल्लकालीन रानीपोखरीको दक्षिणपट्टि प्रवेश गर्ने कलात्मक द्वार थियो। ढोकाबाट प्रवेश गर्ने स्थानमा दुई सत्तल थिए, पोखरीसम्म पुग्न सिंढी थियो। चारैतिर देवीदेवताको कलात्मक मूर्ति र बगैंचा थियो। नगरपालिकाले सेनासँग सहमति गर्दै रानीपोखरी मल्लकालीन शैलीमा बनाउने छ।'

अहिले भने रानीपोखरीको मध्यभागमा मात्रै पानी छ। मध्य भागमा रहेको नागको टाउको देखिँदैन। चारैतिर झारपातले ढाकेको छ। पोखरी सुकाएर त्यसको वरिपरि घर निर्माण भएका छन् र रुखहरु काटिएका छन्।

सेनासँगको सहमतिपछि भने अब रानीपोखरी जिर्णोद्धारपछि सेनाको सुरक्षामा ध्यान दिँदै पोखरीलाई चारैतिर पर्खालले घेरिने भएको छ। साथै पहिला प्रवेशद्वार रहेको पोखरीको दक्षिणतर्फ नै नयाँ कलात्मक प्रवेशद्वार बनाई बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणको लागि खुल्ला गर्ने योजना छ।

रानीपोखरी निर्माण भएपछि त्यहाँ आउने आन्तरिक र बाह्य पर्यटकको सुविधाका लागि सल्लाघारीको खाली जमिनमा नगरपालिकाले पार्किङ स्थल निर्माण गर्ने तयारी गरिसकेको छ।

पोखरीसँगै सिद्धपोखरीको उत्तरतर्फ र भक्तपुर अस्पतालको पश्चिमतर्फ रहेको खेल मैदानको जनताका लागि खुल्ला गरिनेछ। त्यसका लागि चारैतिर जालीबारले घेरी मैदानको दक्षिणतर्फ प्रवेशद्वार निर्माण गरिनेछ। खेल मैदान खुल्ला भएपछि स्थानीयहरुका लागि हरेक दिन बिहान ७:३० बजेदेखि ११:३० बजेसम्म ४ घण्टा मैदान खुल्ला गर्ने सहमति भएको प्रजापतिले बताए।

शनिबारको दिन भने बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मैदान सर्वसाधरणका लागि खुल्ला हुने भएको छ। सैनिक महाविद्यालय बन्द रहेको र आवासीय विद्यार्थीहरु बिदा हुँदामा बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म स्थानीयको लागि मैदान खुल्ला हुने बताइएको छ।

नापी नक्साकोकाम भर्खरै सुरु भएको हुँदा रानीपोखरी पुनर्निर्माणामा केही समय लाग्ने प्रमुख प्रजापति बताउँछन्। स्थानीयहरुले पनि नगरपालिकाको कदमको स्वागत गर्दै रानीपोखरी पुनर्निर्माणमा साथ दिने बताएका छन्।



सेनाको कब्जाबाट मुक्त हुँदै भक्तपुरको रानीपोखरी, काठमाडौंको टुँडिखेललाई कसले बचाउने? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट