PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जहाँ राख्ने अनुमति नपाउँदा बाँधिएका छन् बुद्ध



पी बी खड्का

जहाँ राख्ने अनुमति नपाउँदा बाँधिएका छन् बुद्ध

सुर्खेत : आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६३ औँ बुद्ध जयन्ती। भगवान गौतम बुद्धको जयन्ती बौद्ध धर्मावलम्बीहरुले तामझामका साथ मनाइरहेका छन्। गौतम बुद्धको जन्मथलो मानिने लुम्बिनीसहित देशभरका बौद्ध पिठहरुमा पूजाआज गर्दै बुद्ध जयन्ती मनाइरहेका छन्।

लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्षअघि वैशाख शुक्ल पूर्णिमाकै दिन उनको जन्म भएको थियो। सोही अवसरमा सुर्खेतमा पनि बौद्ध धर्मावलम्बी रहेको लाटीकोइली बौद्ध गुम्बामा हिजोदेखि नै पूजाआजा जारी छ। यसै सिलसिलामा बौद्ध धर्मका गुरु तुण्डुप रिम्पोचेसहित ९ जना लामाहरु समेत यतिबेला सुर्खेतमा छन्।

गुम्बामा रहेको गौतम बुद्धको मूर्ति पूजा गर्ने स्थलमा नभएर सुर्खेत प्रहरीको हाताभित्र छ। गौतम बुद्धको मूर्ति २०७० सालमा तत्कालीन सरकारले सुरक्षा निकायको बल प्रयोग गरी कैदीलाई भन्दा बढी प्रहरीको निगरानीमा रुखमा आड लगाएर राख्न थालेको हो। यद्यपि, मूर्ति पुज्न भने अझै छुटाउँदैनन् बौद्ध धर्मावलम्बीहरु।

यसरी स्थापना गरिएको थियो मूर्ति

२०६४ सालमा सुर्खेतमा रहेको बौद्ध गुम्बा निर्माण तथा संरक्षण समितिले भारतको नयाँ दिल्लीमा मूर्ति बनाउने प्रस्ताव गर्‍यो। सुर्खेत, मुगु, सल्यान, जुम्लाका लागि गौतम बुद्धको मूर्ति बनाउन प्रस्ताव गरिएको थियो।

मूर्ति बनाउने प्रस्ताव लगत्तै त्यतिबेला नै कांक्रे विहारमा मूर्ति राख्नका लागि संरचना निर्माण गर्न सुरु गरियो। जसका लागि २०६४ वैशाख १९ गते बौद्ध धर्मवालम्बी गुरु शिव रिम्पोचेले उक्त निर्माणस्थलको शिलान्यास गरेका थिए।

२०६८ सालमा दिल्लीबाट ल्याइएका बुद्धको मूर्ति राख्ने संरचना नबन्दा विवादित बन्यो। संरचना बनाउने भनिएको स्थलमा जिल्ला वन कार्यालय रोक लगाएसँगै बुद्धको मूर्ति लाटीकोइलीको बौद्ध गुम्बामा राखिएको थियो। तर, सुर्खेत बाहेक कर्णालीका अन्य जिल्लामा भने मूर्ति राख्ने संरचना बनाएर काम अघि बढ्यो।

अनुमति नपाउँदा प्रहरीको घेरावारमा

मूर्ति स्थापनाका लागि संरचना बनाउने अनुमति पाउने निकै मुस्किल भयो। तत्कालीन गाउँ विकास समिति र पुरातत्व विभागबाट अनुमति मिल्यो। तर, जिल्ला वन कार्यालयले संरचना बनाउन रोक लगाएसँगै मूर्ति राख्न नपाउने निश्चित भयो। समितिले जिल्लाबाट सिफारिस लिएर वन मन्त्रालयमा पुग्दा समेत अनुमति पाउन सकेन। यसरी दुई वर्षसम्म पनि मन्त्रालयबाट अनुमति नपाएपछि २०७० वैशाख १२ गते समितिले जबरजस्ती मूर्ति कांक्रेविहार राख्न खोज्दा सुरक्षा निकायको बलजफ्तीमा बुद्धको मूर्ति कब्जा भयो। अहिले पनि मूर्ति प्रहरीको घेरावार र निगरानीमा ठडिएको छ। ‘हामीले जसरी भए पनि मूर्ति कांक्रेविहारमै राख्नुपर्छ भन्ने हो,’ बौद्ध गुम्बा निर्माण तथा संरक्षण समितिका पूर्व अध्यक्ष पञ्चसिंह रोकायाले भने, ‘त्यत्तिबेला सुरक्षा निकायसँग झडप पनि भयो। अन्तत: सरकारले सुरक्षा निकायको बलमा कांक्रेविहारमा राखिएको मूर्ति लिएर जिप्रकामा राखेको हो।’

यसरी गौतम बुद्धको मूर्ति अहिले पनि कहाँ र कहिले व्यवस्थित गर्ने भन्ने कुनै टुंगो छैन। जसले गर्दा पनि बौद्ध धर्मावलम्बीहरुले आफ्नो पहिचान र अस्तित्व मेटाउन खोजेको आरोप लगाउँदै आएका छन्। अब भने जनताको सरकार आएकाले जसरी सुरक्षा निकायको बल प्रयोग गरेर प्रहरीको घेरावारमा राखिएको छ त्यसरी नै कांक्रेविहारमा लगेर राख्ने अपेक्षामा छन् बौद्ध धर्मावलम्बीहरु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell