Apr 20, 2024 | ८ बैशाख २०८१

उमेर ७७ वर्ष, जोश १७ वर्षे

विधुर ढकाल/पहिलोपोस्ट

नेपालको परराष्ट्र मामिलामा केही जानकारी लिनु पर्‍यो भने प्राय:ले सम्झिने नाम हो, हिरण्यलाल श्रेष्ठ। उमेरले ७७ बर्ष पुगेपनि यिनको जोश १७ बर्षे युवाकोभन्दा कम छैन। कहिले टेलिभिजन, कहिले रेडियो अनि कहिले पत्रिकाहरु, अनि कहिले कुनै माइक्रो वा मिनिबसका ठेलम्ठेलमा कतै न कतै यिनी भेटिरहन्छन्। रत्नपार्क, पुरानो बसपार्कतिर पनि कहिलेकाहीं यिनी काँधमा एउटा झोला भिरेर लखरलखर हिँडिरहेका भेटिन्छन्। दुई साता अगाडि ७७ वर्ष सात महिना सात दिन पुगे श्रेष्ठ।

संस्कृतिविद् सत्यमोहन जोशीको शताब्दियौं जन्मदिन जत्तिकै भव्य रुपमा नभए पनि ७७ बर्ष सात महिना सात दिन पुग्दा मकवानपुरमा उनलाई भीमरथारोहणसहित सम्मान गरियो। यही अवसर पारेर हिरण्य परराष्ट्र मामिला पुस्तकालयको उद्घाटन पनि भयो। उद्घाटनमा पुगेका थिए शताब्दि पुरुष सत्यमोहन जोशी।

मकवानपुरको भीमफेदीमा विक्रम सम्बत् १९९८ साल कृष्ण षष्ठीमा जन्मेका श्रेष्ठ यति व्यस्त हुन्छन् कि उनले भेट्न वा अन्तर्वार्ताका लागि समय दिएकाहरुको बारे डायरीमा टिपेरै राख्नुपर्ने अवस्था छ। डायरीमा टिप्न भुलिएका भेटघाटहरु असम्भव नै हुन्छन्। हामीलाई दिएको समय पनि उनले भुलेछन्। उनले दिएको समयमा हामीले टेलिफोन सम्पर्क गर्दा उनले भनेका थिए, ‘ओहो ! तपाइँलाई आज एक बजेको समय दिएको थिएँ है? म रेडियो अन्तर्वार्तामा व्यस्त थिएँ, अहिले प्रेस आएको छु। भोलि भेटौं न है। बरु म डायरीमा टिप्छु, समय भन्नुस् त भोलिको।’

***

विज्ञको रुपमा दिनरात रेडियो, टेलिभिजन र पत्रिकामा छाउने श्रेष्ठ आफू भने अझै विद्यार्थी नै रहेको बताउँछन्। उनको दैनिकी शुरु हुन्छ बिहान ४ बजेबाट। उनी हरेक बिहान ४ बजे उठ्छन्, व्यायाम गर्छन्, आफैं खाजा बनाउँछन् र खान्छन्। ‘घरकाले ढिलो मात्र चिया ल्याउँछन्,’ आफैले खाजा बनाउनुको कारण उनको। खाजा पछि ७ बजेसम्म उनको पढ्ने समय हो। ७ बजेपछि चाहिँ उनको पढाइ रोकिन्छ, फोन बज्न थाल्छन्, भेटघाटकालागि मान्छेहरु आउन थाल्छन्। ‘म निरन्तरको विद्यार्थी। यो विशाल संसारमा, मैले जान्या कुरा ज्यादै थोरै छन्’ उनी थप्छन्, ‘मैले अझै पढ्नुपर्छ। लेख्नको लागि पनि पढ्नुपर्छ र बोल्नको लागि पनि।’

विश्वनिकेतनबाट शुरु भएको उनको पढाई अझै सकिएको छैन। विश्वनिकेतनबाट जुद्धोदय पब्लिक हाइस्कूल पुग्दा उनका सहपाठीहरु थिए, राजेन्द्रबहादुर श्रेष्ठ, कर्ण शाक्य, आरके मानन्धर तथा रमेशनाथ पाण्डे लगायत। लेख्नु गाह्रो काम हो, त्यसमाथि कुटनीति र दुई देशका सम्बन्धका बारेमा लेख्नु त झनै गाह्रो। त्यसका लागि चाहिन्छ अध्ययनमा निरन्तरता। ७७ बर्ष पार गरिसक्दा पनि उनले आफूलाई विद्यार्थी भन्नुको कारण पनि त्यही हो।

दुईसाताअघि भेट्दा उनले भनेका थिए, ‘७७ बर्षपछि म विद्यार्थी भएर बंगलादेशबारे पढिरहेको छु।’ किन पढ्नुपर्‍यो त बंगलादेशबारे? ‘एसिया अमेरिका युरोपका बारेमा पुस्तक लेखिसकेको छु। नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्धकाबारे पनि लेखिसकेको रहेछु,’ उनले सुनाए, ‘अब के लेख्ने त भनेर हेर्दैजाँदा थाहा पाएँ मैले भारत र चीनपछिको तेस्रो नजिकको छिमेकी बंगलादेशको बारेमा लेखेकै रहेनछु। किताब पनि छैन यहाँ बंगलादेशबारे। त्यसमा लागेको छु।’

७७ बर्ष सात महिना ७ दिन पार गरेको अवसरमा स्थापित श्रेष्ठको पुस्तकालय नेपालले विश्वका विभिन्न देशहरुसँग कायम गरेको सम्बन्धको फाइलहरुको अध्ययन भण्डार पनि हो। नेपालको कुटनीतिक सम्बन्धको कुरा गर्दा उनको ‘मित्रताको सयपत्री’ भन्ने किताबलाई छुटाउन सकिँदैन। उक्त किताबमा श्रेष्ठले नेपालको विश्वका एकसय एक देशसँगको कूटनीतिक सम्बन्धको चर्चा गरेका छन्।

श्रेष्ठको संकलनमा ती एक सय एक मात्र हैन अरु धेरै देशहरुका छुट्टाछुट्टै फाइलहरु तयार छन्। ‘अहिलेसम्म मैले एकसय बीस देशका फाइल तयार पारेको छु’, श्रेष्ठ भन्छन्। उनीसँग कुरा गरिरहँदाको बखतमा नेपालले भर्खरै मात्र इक्वेडेरियल गिनी भन्ने देशसँग कूटनीतिक सम्बन्ध स्थापित गरेको थियो। नेपालसँग अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने यो एक सय पैंसठ्ठीऔं देश हो। उनले यो देशको पनि फाइल तयार पारिसकेका छन्। श्रेष्ठको व्यस्तता यस्तैमा छ। टेलिभिजन, रेडियो, अनलाइन अनि पत्रिकामा देखिने व्यस्तताका जरा यिनै फाइलभित्र लुकेका हुन्छन्।

‘यसरी फाइल तयार नपार्ने हो भने त कसरी लेख्ने? कसरी बोल्ने?’ श्रेष्ठ भन्छन्, ‘मैले नेपालको कूटनीति तथा विदेश मामिलासम्बन्धी देश अनुसारका फाइलहरु बनाएको छु।’ ती फाइलहरुमा कूटनितिक सम्बन्ध स्थापित भएको देशसँग भएका सन्धी सम्झौता, दुईपक्षीय भेटघाटदेखि वार्ता, भ्रमणसम्मका समाचार कटिङदेखि दस्तावेजसम्म छन्। उनको नियमित काममध्येको एउटा काम यो पनि हो। त्यसैले पनि उनको व्यस्ततामा कुनै कमी नै हुँदैन।

भर्खरैमात्र राष्ट्रपति विद्यादेवि भण्डारी चीनको औपचारिक भ्रमण सकाएर फर्केकी थिइन्। श्रेष्ठले यो भ्रमणको पनि छुट्टै फाइल बनाएका छन्। यो फाइलमा राष्ट्रपतिको भ्रमण तयारीदेखि भ्रमणमा गरिएका सम्झौता, उपलब्धिहरुबारेका समाचार कटिङदेखि अन्य सामाग्रीहरु छन्। दुईसाता अघि उनको निवासमा हामी पुग्दा प्रधानमन्त्रीले गर्न लागेको भियतनाम र कम्बोडियाको भ्रमणको बारे एउटा छुट्टै फाइल तयार हुँदैथियो। फाइलमा प्रधानमन्त्री ओलीको भ्रमण तयारीबारेको एउटा समाचार कटिङ् थियो।

राजनीतिबाट कूटनीति

विद्यार्थीकालदेखि नै कम्युनिष्ट विचारधाराबाट प्रभावित श्रेष्ठ १६ बर्षको उमेरमै योङ कम्युनिष्ट लीगको अध्यक्ष भइसकेका थिए। पञ्चायत विरुद्धका आन्दोलनमा सक्रियतादेखि प्राध्यापनसम्म उनकैो क्रियाशीलता उत्तिकै थियो। २०४८ साल र २०५१ सालको निर्वाचनमा मकवानपुरबाट एमालेको तर्फबाट चुनाव चितेर सांसद बनेका श्रेष्ठले लेखेको ‘नेपाल परिचय’ भन्ने पुस्तक लामोसमय आइएमा पढाइ हुन्थ्यो। विद्यार्थीकालदेखि नै परराष्ट्र र कूटनीतिप्रति यीनको चासोले अहिले उनलाई विज्ञ बनाएको छ।

उनले २०२६ सालमै नेपाल-भारत व्यापार तथा पारवहन सन्धीहरु भन्ने किताब प्रकाशित गरेका थिए। उनको यो पहिलो किताब थियो र त्यसको प्रकाशनको लागि उनले आफूसँग भएको क्यामेरा बिक्री गरेका थिए। पुस्तक लेखनले सन्तुष्टि दिन्छ भन्छन् श्रेष्ठ। ‘अस्ति त्यो क्यामेरा बेचेर छापेको किताब हेर्दैथिएँ,’ श्रेष्ठले सुनाए, ‘त्यसको मुल्य १ रुपैयाँ राखिएको रहेछ। किताब बेचेर क्यामेराको पैसा त उठेन तर अहिले हेर्दा आनन्द लाग्छ।’ उसो त अहिले उनका किताबको मुल्य हजारसम्म पुगेको छ। उनले सन् २०१५ मा प्रकाशित गरेको नेपाल-चीन सम्बन्धको ‘सिक्स्टी इअर्स अफ् डाइनामिक पार्टनरसीप’ भन्ने पुस्तकको मुल्य एक हजार छ।

उनको अहिलेको पुस्तकालयको जग नै उनको २०२६ सालको किताब हो। त्यही किताब प्रकाशित भएपछि उनले सामाग्री संकलनको शुरुवात गरेका थिए। त्यसले पछि उनलाई ठूलो मद्दत मात्र गरेन, उनी पार्टीको विदेश विभागको जिम्मेवारीमै पुगे। संसदमा पनि उनले संसदको मानवअधिकार तथा परराष्ट्र समितिको सभापति भएर काम गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell