PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हत्यामा आफन्तकै हात!



सविन ढकाल

हत्यामा आफन्तकै हात!

  • गत बिहीवार पर्साको जिराभवानीपुर गाउँपालिका १ बलुवामा आफ्नै भाइले गोली हानी दाइको हत्या गरे। ३८ वर्षीय शेख सेरामुद्धिनले आफ्नै दाइ शेष फारुकलाई घरायसी विवादका कारण हत्या गरेको प्रहरीले जनाएको छ। शुक्रबार बिहान फारुकको मृत्यु भयो। घाइते फारुकलाई उपचारका लागि काठमाडौँ ल्याउनेक्रममा मृत्यु भएको हो। कटुवा पेस्तोलबाट प्रहार गरिएको गोली फारुकको दाहिने पाखुरा छेडेर छातीमुनि लागेको थियो।सेरामुद्धिनलाई पेस्तोल तथा तीन राउन्ड गोलीसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

  • गुल्मीमा बिहीवार राति नै दुई महिनाकी शिशुको हत्या भयो। हत्या अरु कसैले नभएर आफ्नै आमाले गरेको प्रहरी अनुसन्धानमा खुल्यो। गुल्मी दरवार गाउँपालिका ४ बाख्रे बस्ने ३६ वर्षीया जमुना बिकलाई बिहीबार राति प्रहरीले नियत्रणमा लियो।

एकै दिन केही घन्टाको अन्तरालमा देशभित्र भएका हत्याका दुई प्रतिनिधि घटनामात्र हुन् जसले अपराधसँग आफन्तको जोडिएको नाताको व्याख्या गर्छ। नेपाल प्रहरीको तथ्याङक अनुसार नेपालमा दैनिक दुई जनाको हत्या हुने गरेको छ। वर्षेनी हत्याको दर बढ्दै गएको छ। ‘घर र परिवारकै सदस्यबाट हत्या हुने गरेको पाइयो। संगठित अपराध कम हुँदा सामाजिक अपराध बढ्दै गएको छ,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले भने।

केही दिनअघि मात्र चापागाँउमा जेठाजुले बुहारीलाई गरेको हत्याको विषय यतिखेर चर्चामा छ। ढोलाहिटिका उज्वल महतले आफ्नै बुहारी अञ्जना महतको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको दावी छ। महतले बुहारीको हत्या गरेको साविति बयान समेत दिएको महानगरीय प्रहरी वृत चापागाउँका डिएसपी राजकुमार खिउजुले बताए।

पाँच वर्षमा ३ हजारको हत्या

गत भदौको महिनामा मात्र ७१ जनाको हत्या भएको प्रहरीको तथ्याङ्कले देखाउँछ। चालु आर्थिक वर्षको ९ महिनामा ४ सय ९२ जनाले विभिन्न हतियार प्रहार गरेर हत्या गरेको छन्। यसरी मृत्यु हुनेहरुमा सबैभन्दा बढी महिला रहेका छन्।

विगत पाँच वर्षको तथ्याङ्क हेर्दा ३ हजार मानिसको हत्या भएको देखिएको छ। २०७१/७२ मा कुल ६०८ जना हत्या भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। जसमा ३११ जना पुरुष, २२३ जना महिला र ७४ जना जना बालबालिका छन्। वर्षभरिमा भएका हत्यामध्ये यो करीब १२ प्रतिशत हो।

आर्थिक वर्ष २०७२/७३ मा कुल ६ सय २७ जनाको हत्या भयो। अघिल्लो वर्षकभन्दा १९ जनाबढीको हत्या भयो। ३२९ पुरुष मारिँदा १९२ जना महिला मारिए। त्यस्तै १०६ जना अवोध बालबालिका पनि मारिए। ५५ जना बालक र ५१ जना बालिका मारिएका छन्।

आर्थिक वर्ष २०७३\७४ मा भने अघिल्लो वर्षको तुलनामा हत्याको दर कमी आएको थियो। त्यस वर्ष ६१६ जना मानिस विभिन्न तरिकाले मारिए। ३०६ जना पुरुष र २३१ महिला मारिँदा ७९ जना बालबालिका मारिए। मारिनेमा ४० बालक र ३९ बालिका परे।

२०७४\७५ मा गएका वर्षको तथ्याङ्कमा अनुसार फेरि हत्याको दर बढेको छ। देशभर ६२८ जनाको हत्या भएको छ। मारिएकामा ३८ बालक र ४४ बालिका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell