PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

'जात्रा'ले स्थापना गरेको शास्त्र जोगाउन असफल 'जात्रै जात्रा' (समीक्षा)



सहयोग रञ्जित

'जात्रा'ले स्थापना गरेको शास्त्र जोगाउन असफल 'जात्रै जात्रा' (समीक्षा)

'जीवन जात्रा हो। शास्त्रमा लेख्न छुटेको मात्रै हो।'

३ वर्ष अघि फणीन्द्र तिमल्सिना, जयराम लामिछाने (जोयस) र मुन्ना ठाकुरले असन र इन्द्रचोकमा बैकबाट लुटिएको तीन करोड लुकाउन धेरै मिहिनेत गरे। प्रहरीसँग लुकाउँदै, आफ्नै मान्छेहरुँग लुकामारी खेल्दै उनीहरुले चोरिएको रकमलाई प्रयोग गर्ने उपाय खोजे।

आफूहरु लड्दै अरुहरुलाई हसाए। पछि पैसा फिर्ता गर्दै समाजमा हिरो बने। धिमे र भुस्याको तालमा असनमा विजय र्‍याली निकाले। जात्रा मनाए। तर, उनीहरुले बुझाएको पैसा नक्कली निस्केपछि उनीहरु पुन: जेल पुगे।

तीन वर्ष पछि तीनै फनिन्द्र, जोयस र मुन्ना अदालतबाट निर्दोष सावित भएर 'जात्रै जात्रा' लिएर आएका छन्।

२०७३ सालमा प्रदर्शन भएको फिल्म 'जात्रा' मा फणीन्द्र तिमल्सिना (विपीन कार्की), जोयस (रविन्द्रसिंह बानियाँ) र मुन्ना ठाकुर (रविन्द्र झा) लगायतलै निकै तारिफ बटुले। निर्देशक प्रदीप भट्टराइले पनि नेपाली चलचित्रमा रहेको पुरातन कथाभन्दा केही पृथक गरेको भन्दै ताली पाए।

जात्रामा पैसा लुकाउँदै, भाग्दै अन्त्यमा फिल्मको क्याइमेक्सलाई नयाँ मोड दिइ दर्शकलाई तीन वर्षपछि सिनेमा घरमा स्वागत गरेको छ 'जात्रै जात्राले'।

पात्रहरुको चरित्र उही, संवाद उही, परिवेश भने अलि फरक छ यसपटक।

'जात्रा' को सफलतापछि आएको 'जात्रै जात्रा' मा निर्देशकले जीवनलाई जात्राको रुपमा व्याख्या गर्न खोजेका छन्। त्यसलाई शास्त्रमा लेख्न छुटेको कुरा दर्साउन खोजेका छन्।

वसन्त ऋतुको आगमनसँगै काठमाडौं उपत्यका जात्रामय भएको छ। विभिन्न स्थानमा हुने जात्रा पर्वले मानिसलाई उज्जवलित बनाउँदैछ। धेरै स्थानमा अहिले पनि विभिन्न बाजागाजा बज्दैछन्। त्यही जात्राको भिडमा आएको छ 'जात्रै जात्रा'।

ट्रेलर सार्वजनिक भए लगत्तै पैसाको ठाउँमा सुन राखिएको बारे प्रश्न उठे। ट्रेलर मात्र हेर्नेको जिज्ञासा स्वाभाविक हो किनकि फिल्ममा त्यसो हुँदैन। बरु कथा दोहोरिएजस्तो लाग्छ, पात्रहरुबीचको द्वन्द्व पनि पुरानै, कथा भन्ने शैली पनि उस्तै महसुस हुन्छ। यति हुँदाहुँदै पनि तीन वर्षपछि पनि उस्तै लाग्ने फणीन्द्र, जोयस र मुन्नाले दर्शकलाई बाँधी राख्छन्। परिस्थिति अनुरुप संवाद र संवादसँगै दर्शक हाँस्नु यो कमेडी फिल्मको सबल पक्ष हो।

फणीन्द्र, जोयस र मुन्नाले ३ करोड लुकाउन गरेको संघर्षले जात्रालाई सफल बनाएको थियो। असनको वास्तविक परिवेश र काठमाडौंमा पैसाको लागि गर्ने दु:खले दर्शकलाई जात्रा हेर्न हलसम्म तानेको थियो।

फिल्मको अन्त्यमा भेटिएको पैसा फिर्ता दिएर 'हिरो' बनेका तीन पात्रलाई अन्तिममा नक्कली नोट दिएको आरोपमा समाज सामु पुन: खलनायक बनाएर कथा टुंग्याइएको थियो।

तीन वर्षपछि बनेको सिक्वेल त्यही कथाबाट सुरु हुन्छ जहाँबाट जात्रा सकिएको थियो। नक्कली नोटमा जेलमा रहेका तीन पात्रलाई अदालतले निर्दोष सावित गरेर रिहा गर्छ। उनीहरु बाहिर आएर पुरानो जीवनमा फर्कने प्रयास गर्छन्। तर, नक्कली नोट कारोवार गरेको आक्षेपबाट उनीहरु मुक्त हुँदैनन्।

तीनैजना कामको खोजीमा भौतिरिन्छन्। फणीन्द्र ट्याक्सी ड्राइभर बन्छन्, मुन्ना कपाल काटेर जोहो गर्ने प्रयासमा रहेको हुन्छ। जोयसले नायक बनाउँछु भनेर पैसा लिएको मान्छे उसको पछाडि लाग्छ।

फिल्मको पहिलो हाफ यिनीहरुको जीवन संघर्षमा रुमलिन्छ।

संघर्षबीच फिल्ममा दावाको इन्ट्री हुन्छ। दावा अर्थात् दयाहाङ राई।

दावा सुन तस्करी हुन्। उनको अस्ट्रेलिया जाने योजना धर्मराउन थाल्छ जब फणीन्द्रको ट्याक्सीबाटै उनको अपहरण हुन्छ। तर, कहानीमा ट्विस्ट ल्याउने अपहरणकारी नै सस्पेन्स रहन्छन्। अन्त्यसम्म उनीहरु को थिए र किन अपहरण गरे भन्ने खुल्दैन। बरु ट्याक्सी ड्राइभरको पछि लाग्छन्। यो निर्देशकीय कमजोरीको उदाहरण हो।

'जात्रा'को सशक्त पक्ष थियो पात्रबीचको द्वन्द्व, सिचुएसनल कमेडीसँगै पात्र र परिस्थितिको जीवन्तता। दर्शकले फिल्मको सेटिङलाई आफू बाँचेको परिवेश देखे। फणीन्द्र, जोयस र मुन्नालाई आफूसँग तुलना गरे। उनीहरुको ठाउँमा आफूहरुलाई उभ्याए।

फिल्मको दोस्रो भागमा यी सब खड्किन्छन्। नक्कली पैसा कहाँबाट, कसरी आयो? भने प्रमाणित गर्न मात्र हर मेहनत भएको भान हुन्छ।

जात्रै जात्रा पनि सुन लुकाउने प्रयत्नलाई मात्रै प्रमाणित गर्न खोजेको जस्तो लाग्छ। कथालाई लम्ब्याउन केही पात्रहरु स्थापित गरेको देखिन्छ। नायक बनाउँछु भनेर पैसा लिएको मान्छेसँग अक्सिजन पुर्‍याउन जाँदा जोयसको भेट हुन्छ। निर्देशकले कथाको अन्त्यसम्म यी पात्रसँगको सम्बन्ध स्थापना गर्न सकेका छैनन्।

फणीन्द्र र उनकी श्रीमती (वर्षा राउत) बीचको सम्बन्धमा अल्मलाएर कथालाई 'इमोसनल' बनाउन कोसिस गरिएको छ। जसका कारण पात्रको संवेदनासँग जोडिन दर्शकलाई गाह्रै पर्छ। बरु ह्युमरसहित अघि बढाएको भए पुरानो मसला रहित बन्न सक्थ्यो फिल्म।

जात्राको भागम् भागबीच पनि सेटिङ स्थापित थियो। यस पटक दर्शकले घटना कहाँ घटिरहेको छ ठम्याउन दिमाग लगाउनु पर्ने बनाइएको छ।

जात्रामा पनि वर्षा आफ्नो श्रीमानको गलत हर्कतका कारण आजीत हुन्छिन्। छुट्टिएर बस्छिन्। यसमा पनि त्यही कहानी दोहोरिएको छ। जात्राको क्लाइमेक्समा वर्षाले जसरी भेटिएको पैसालाई लुकाउन सहयोग गर्छिन् जात्रै जात्रामा पनि त्यही छ। निर्देर्शकले त्यही पात्रलाई नयाँ ढंगले प्रस्तुत गर्ने हिम्मत नै गरेनन्। सायद पहिला रुचाइएका कलाकारको चरित्रमा केही परिवर्तन ल्याए दर्शकलाई मन नपर्ला भन्ने डरमा उनी रहेको हुनुपर्छ।

पात्रहरुको हाउभाउ र संवाद पुरानै फिल्मको झै लाग्छ। जात्रा नहेरी सिक्वेल हेर्न जाने धेरै होलान्। उनीहरुलाई फिल्मले पक्कै मनोरन्जन प्रदान गर्न सक्ला। जात्रा मन पराएकाहरुले भने जात्रै जात्राबाट बढी अपेक्षा गरेका हुन्छन्। प्राविधिक र कथाको गतिलाई एउटा साइडमा राखेर फिल्ममा रमाउनेहरुका लागि भने जात्रै जात्रा ठीक छ।

तर, मूलधारका चलचित्र अझै भनौं सिक्वेलको अर्थ पुरानै कथालाई सार्थक बनाउनु पर्छ भन्ने मान्यता हामीमा विद्यमान छ। त्यसको निरन्तरताले फिल्मलाई त्यति रोमाञ्चित बनाउँदैन।

कमेडी शैलीको फिल्म भनिए पनि जात्रै जात्रामा कमेडी धेरै देखिँदैन। जात्रामा दर्शकलाई हसाउँदै गम्भीर विषयको उठान गरिएको थियो। सिक्वेलले पहिलो फिल्मको गम्भीरतालाई निरन्तरा दिन सकेको छैन। कतैकतैको व्यङ्ग्यले अवश्य दर्शकलाई हसाउँछ। महिला हिंसाको सम्बन्धमा फिल्मले प्रश्न उठाउन खोजेको छ। तर, प्रश्नमात्र खडा गरेर पीडितलाई न्याय दिलाउने सवालमा भने फिल्म मौन छ। कमेडी त हो भन्नेहरुका लागि यो ठूलो सवाल नहोला।

मुख्य पात्रहरु बाहेक अन्य सहपात्र र खलपात्रको अभिनय अर्को कमजोरी हो। ट्रेलरसँगै सरप्राइज बनेर उदाएका दयाहाङ राईलाई भिलेनको रुपमा स्थापित गर्न चुकेका छन् निर्देशक।

जात्रामा सीमित पात्र थिए। तिनीहरुबीचको सानो सानो द्वन्द्वलाई दर्शकले रुचाए। तर, जात्रै जात्रा भने त्यसमा चुक्यो।

अभाव र आवश्यकता बीच रुमल्लिएकाहरुको प्रतिनिधि कथा हो यो। जहाँ अर्को 'अ' अपराध जोडिन्छ। तस्करीको सुन पचाउन हुने प्रयासले दर्शकलाई हसाउँछ। सिर्जनात्मक प्रयोग नदेखिएपछि पात्रहरुको कथालाई सुखद् अन्त्य दिलाउन गरिएको स्कूबाको प्रयोग र कलाकारले लिएको रिस्क सार्थक लाग्छ।

जात्रा फिल्मले जीवनलाई जात्राका रुपमा स्थापित गरेको थियो। नेपाली चलचित्र उद्योगमा त्यसले नयाँ शास्त्र नै रच्यो। तर, पहिलो सिक्वेललाई प्रमाणित गर्ने होडमा 'जात्रै जात्रा' ले नयाँ शास्त्र स्थापित गर्न सकेन। रमाइलो मात्र मन पराउने दर्शकका लागि फिल्म हेर्न सुझाव छ। जात्रा हेरेर ज्यादा अपेक्षा गरेकाहरुका लागि भने सुखद् छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell