PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

स्वयम्भूमा बन्दै गरेको 'कंक्रिट प्रवेशद्वार' मा महानगरको डोजर

स्वयम्भूमा बन्दै गरेको 'कंक्रिट प्रवेशद्वार' मा महानगरको डोजर

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा अवैध तरिकाले बनाउन लागिएको कंक्रिटको प्रवेश द्वारमाथि काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।

मनाङ समाज नामक संस्थाले भगवानपाउस्थित पूर्वी क्षेत्रमा रहेको भर्‍याङमा अगाडि कंक्रिट प्रयोग गर्दै प्रवेशद्वार निर्माण गर्न लागेपछि स्थानीयले विरोध गरेका थिए।

स्थानीयले विरोध गरे पनि स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमितिको स्वीकृति रहेको भन्दै समाजले प्रवेशद्वार निर्माण गरेपछि अभियन्ताहरुले पुरातत्व विभाग, महानगरपालिका र स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमितिमा त्यसविरुद्ध निवेदन दिएको थियो।

निवेदनमाथि सुनुवाई गर्दै पुरातत्व विभागले प्रवेशद्वार रोक्न भन्दै वडा र समितिमा पत्र पठाएको थियो।

पुरातत्व विभागमा स्वयम्भू क्षेत्रमा आफ्नो स्वीकृतिविना कुनै संरचना निर्माण गर्न नपाउने भए पनि मनाङ समाजले भने पुरातत्वको स्वीकृति नलिइ आफूखुशी कंक्रिटको प्रवेशद्वार निर्माण गरेको भन्दै त्यो कार्य रोक्न निर्देशन दिएको थियो।

समाजले सोही स्थानमा बनाएको प्रवेशद्वार २०७२ सालमा गएको भूकम्पले भत्किएको थियो। यसपटक भने कंक्रिटको हात्तीपाइले सहितको प्रवेशद्वार निर्माण गर्न लागेपछि डोजर चलाएको वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले बताए।

यस्तै सम्पदा प्रेमी र स्थानीयले विभिन्न संघ संस्थाको नाममा स्वयम्भूलाई कुरुप बनाउँदै लग्ने प्रयास भइरहेको भन्दै विरोध भएको छ।

स्थानीय रामहरि महर्जनले भने, 'यो त देखियो त्यसैले रोकियो। भर्‍याङमा रहेका ढुंगाका मुर्तिहरुमा रंग लगाउने काम भएको छ। स्तुप क्षेत्रमा समेत अवैध निर्माण कति भएको छ। यो सबै रोक्नुपर्छ।'

स्थानीयले स्वयम्भू क्षेत्रमा आफूखुशी चैत्य बनाउने, रंगरोगन गर्ने, स्टिलका कुर्सी राख्ने, तारहरु राख्ने, भोजभतेर गर्ने कार्य भएको भन्दै सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell