PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नौ दिनको बन्दपछि बन्ने भयो सुनाकोठी-चापागाउँ सडक, आन्दोलन फिर्ता



पहिलोपोस्ट

नौ दिनको बन्दपछि बन्ने भयो सुनाकोठी-चापागाउँ सडक, आन्दोलन फिर्ता

काठमाडौः  नौ दिनसम्म बाटो बन्द गरेर स्थानियबासी आन्दोलनमा उत्रिएपछि सोनाकोठी चापागाउँ सडक बन्ने भएको छ। बिहिवार दिउँसो भएको बहुपक्षिय भेलाबाट हाल कायम रहेको सडकमा कालोपत्रे गर्ने सहमति भएपछि स्थानीयहरुले आन्दोलन फिर्ता लिएका छन्।

सुनाकोठी, ठेचो, चापागाउँका स्थानीयहरुले पाँच वर्षअघि सडक विस्तारको गर्ने भन्दै सडक भत्काएको तर बनाउन आकाकानी गरेको भन्दै एक सातादेखि सडक ठप्प पारेका थिए। ‘ स्थानीय र जनप्रतिनिधिहरु बिचको सहमतिपछि आन्दोलन स्थगित भएको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए।

उनीहरुले स्थानीय प्रशासनले आफ्नो कुरा नसुनेको र धुलो, धुँवा र हिलोको पिडा सहन नसकेर सडक व्यवस्थित होस् भनेर साङ्केतिक आन्दोलन गरेको बताएका थिए।

एक साता लामो आन्दोलनका कारण लगनखेल बसपार्क हुँदै सुनाकोठी, ठेचो, चापागाउँ, बज्रबाराही, लेले, टिका भैरव जाने सार्वजनिक र निजी सवारी साधन चल्न सकेका थिएनन्।

सडक खुलाउने विषयमा सहमति भएको गोदावरी नगरपालिकाका प्रमुख महर्जनले बताए। 'उहाँहरुको माग बाटो पिच होस् भन्ने थियो। त्यो माग पुरा भएको छ,’ महर्जनले भने, ‘हाल कायम रहेको बाटोमा बर्खा अघि नै पिच सकाउने लक्ष्य रहेको छ।' मौसमले साथ नदिए असोज- कार्तिकसम्म बाटो बन्ने उनले बताए।

स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुबीच भएको सहमतिमा कलंकी-थानकोट सडकमा कालो पत्रे गरेझैं सुनाकोठी- चापागाउँ सडक कालोपत्रे गर्न मन्त्रिपरिषदमा निर्णयका लागि पठाउने उल्लेख गरिएको छ।

तर, स्थानीयहरुले भने बन्द कोठामा गरिएको सहमति कार्यान्वयनमा शंका व्यक्त गरेका छन्। स्थानीय अनुरत्न महर्जनले जनताको सहभागितामा भएको आन्दोलनमा राजनीति हाबी भएको बताउँदै राजनीति गर्नेले जनतालाई उपेक्षा गरेको आरोप लगाएका छन्।

स्थानीयस्तरबाट सुरु भएको सडक आन्दोलनमा जनप्रतिनिधिहरु मात्रै सहमति गरेर आफूहरुको आन्दोलनलाई दबाउन खोजेको भन्दै स्थानीयहरुले विरोध गरेका छन्। स्थानीयको असहमतिबिच हाल सडक भने संचालनमा आएको छ।

स्थानीयहरुको बाटो कालोपत्रे सँगै सडक विस्तारका क्रममा भत्किने घरहरुको क्षतिपूर्ति पाउने पर्ने माग समेत गरेका थिए।

तर उपत्यका विकास प्राधिकरण र सडक विभागले मुआब्जा नदिइ पहिला घर भत्काउनु पर्ने बताएपछि स्थानीय आक्रोशित भएका थिए।

२०७१ सालमा नै ललितपुरको सातदोबाटोदेखि चापागाउँको टाहाखेलसम्मको सडक निर्माणको ठेक्का भइसकेको थियो। सातदोबाटोबाट चापागाउँसम्म दायाँबायाँ ११- ११ मिटर गरी फराकिलो सडक बनाउने गरी ठेक्का भएको थियो।

त्यसैबेला सडक फराकिलो बनाउने भन्दै कतिपय स्थानमा घर र अन्य संरचना भत्काइएको थियो। तर मुआब्जा विवादका कारण सडक निर्माण सम्पन्न हुन सकेको थिएन। मुआब्जा पनि नदिने र भत्किएको सडक पनि नबनाएर आफ्नो स्वास्थ्यसँग खेलवाड गरेको भन्दै स्थानीयहरु अहिले सडकमा उत्रेका थिए।

प्रमुख महर्जनले अब भने क्षतिपूर्ति आएपछि मात्रै सडक विस्तारको काम अघि बढाउने सहमति भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell