PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रातो मछिन्द्रनाथ र मीननाथको रथबाट खसालियो नरिवल, शुक्रवार महिलाले रथ तान्ने

रातो मछिन्द्रनाथ र मीननाथको रथबाट खसालियो नरिवल, शुक्रवार महिलाले रथ तान्ने

प्रवीण रानाभाट/पहिलोपोस्ट


ललितपुर: रातो मछिन्द्रनाथ र मीननाथको रथबाट नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ।

चार दिन अघि लगनखेल पुर्‍याइएको रथलाई हिजो मां सिमा परिक्रमा गराएर थति टोल पुर्‍याइएको थियो।

बिहिवार थतिटोलमा मछिन्द्रनाथको रथ बनाउने थकालीले रथको टुप्पोबाट नरिवल खसालेका थिए। नरिवल खसाल्नु पूर्व थकालीले चारै तिरै य:मरी खसालेका थिए। यसरी फालिएको य:मरी पाउने व्यक्तिलाई सुख लाभ हुने जनविश्वास रहेको छ। य:मरी खसालेपछि भने नरिवल खसालिएको थियो।   

मछिन्द्रनाथको रथबाट नरिवल खसाल्ने काम सकिएपछि मीननाथको रथबाट समेत य:मरी र नरिवल खसालिएको थियो। नरिवल समात्न युवाहरुबीच तछाडमछाड भएको थियो।

मछिन्द्रनाथ र मीननाथको रथबाट नरिवल खसाल्ने क्रममा युवाहरुबीच झगडा हुने अवस्था आएपछि प्रहरी परिचालन गरिएको थियो।

नरिवल खसालेको हेर्न ललितपुरको जीवित देवी कुमारीलाई समेत ल्याइएको थियो।

शुक्रवार बिहानै महिलाहरुले मछिन्द्रनाथको रथलाई थतिटोलबाट तानेर इतिटोल पुर्‍याउनेछन्। अरुबेला पुरुषहरुले मात्र तान्ने रथ भोली भने महिलाहरुले मात्रै तान्ने गर्छन्।  

रथ इति टोल पुगेपछि साइत हेरेर रथलाई जावलाखेल पुर्‍याउने गरिन्छ। रथलाई जावलाखेलसम्म तान्ने दिनको अघिल्लो दिन पनि रथबाट नरिवल खसाल्ने गरिन्छ। सो दिन भने राती मात्रै नरिवल खसाल्ने गरिन्छ।

 जावालाखेलमा भोटो देखाइसकेपछि रातो मछिन्द्रनाथको रथलाई बुङ्गमती फिर्ता लगेपछि रथयात्रा समापन हुन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell