PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

धनगढी विमानस्थल : ११ दिनमा १५ प्रतिशत काम, सेवा प्रभावित हुँदा नागरिकलाई सास्ती

धनगढी विमानस्थल : ११ दिनमा १५ प्रतिशत काम, सेवा प्रभावित हुँदा नागरिकलाई सास्ती

एम बम/पहिलोपोस्ट


कैलाली : वैशाख २२ गतेबाट हवाई उडान नै ठप्प पारेर विमानस्थल स्तरोन्नती थालिएको धनगढी विमानस्थलको काम ११ दिनमा १५ प्रतिशत सकिएको छ। आयोजनाका इन्जिनियर सचिन थापाले हालसम्म १५ प्रतिशतको हाराहारीमा भौतिक प्रगति सकिएको जानकारी दिएका हुन्।

'एक महिनामा काम सक्ने गरी दिनरात नभनी निर्माण गरिरहेका छौँ,’इन्जिनियर थापाले भने, 'केही प्राविधिक समस्याका कारण काममा अवरोध आएन भने हामी काम समयावधि भित्रै सक्छौं।’

धनगढी विमानस्थलको कालोपत्रे १४ वर्षपछि ओभरलेयर गर्न लागिएको हो। विमानस्थलको बीच भागको जमिन खनेर नयाँ वेस बनाएर कालोपत्रे निर्माण गर्नुपर्ने भएकाले हवाई सेवा नै ठप्प पारेर स्तारोन्नती गर्न लागिएको हो। कालोपत्रे खन्ने क्षेत्र भने बढ्दै गएको छ। सुरुमा ४ सय मिटर जतिको बीच भाग खन्ने भनिए पनि हाल ८ सय मिटर जति खन्नुपरेको इन्जिनियर थापाको भनाई छ। तर, पनि सकेसम्म रातदिन काम गरेर समयावधिमै काम गरिसक्ने उनको प्रतिवद्धता छ। विमानस्थल प्रमुख तेज बहादुर बुड्थापाले पनि जेठ २१ गते भन्दा पर निर्माणको काम नजाने दाबी गरे।

यस क्षेत्रका सरोकारवालाले भने विमानस्थल बन्द हुँदा नागरिकलाई सास्ती भएको भन्दै समय अगावै काम सम्पन्न गर्न दबाब दिएका छन्। कैलाली उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष पुष्कर ओझाले विमानस्थल पूर्ण बन्द हुँदा उपचारका लागि काठमाडौं वा प्रदेश बाहिर जानुपर्ने बिरामीहरू मर्कामा परेकाले समय अगावै काम सम्पन्न गर्नुपर्ने बताए।

पर्यटन व्यवसायी माया प्रकाश भट्टले पर्यटकदेखि अन्य मानिसहरू पनि हवाई सेवा ठप्प हुँदा मर्कामा परेका भन्दै अब समयावधि भित्रै गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गरे। ‘सकेसम्म विमानस्थल बन्द नगर्नु पर्ने हो, हामीले सुरुवातबाटै यो माग उठाउने गरेका थियौँ,’भट्टले भने, ‘अब बन्द भइहाले पनि समय भित्रै गुणस्तरीय काम सम्पन्न गर्नुपर्‍यो।’ अन्यथा नागरिकस्तरबाट दबाबको आन्दोलन सुरु हुने उनले बताए।

धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले पनि समयावधि अगावै काम सम्पन्न गर्न आयोजनाका इन्जिनियर सँग परामर्श गरेका छन्। स्थानीयस्तरबाट जस्तो सहयोग आवश्यक परे पनि आफूहरू गर्न तयार रहेको भन्दै काम समयावधि अगावै सम्पन्न गर्न उनले आयोजनाको टिमलाई आग्रह गरेका हुन्।

दैनिक ५ जहाज मार्फत् ६ देखि साढे ६ सय सम्म यात्रुले ओहोरदोहोर गर्ने धनगढी विमानस्थल अहिले पूर्ण रूपमा बन्द छ। यसको विकल्पमा अहिले सुदूरपश्चिमका नागरिकहरू कम्तीमा साढे ४ घण्टाको स्थल मार्ग प्रयोग गरी नेपालगन्ज विमानस्थलसम्म पुग्ने गरेका छन्। यो समस्याको सबैभन्दा ठूलो मारमा बिरामीहरू परेका छन्।

झन्डै १८ करोडको लगानीमा धनगढी विमानस्थलमा धावन मार्ग र पार्किङ क्षेत्र विस्तारको कार्य लुम्बिनी, कोशी एन्ड न्यौपाने, खड्का, कोइराला जे भी काठमाडौंले गरिरहेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाइ र १८ सय मिटर लम्बाइको कालोपत्रे धावनमार्ग छ। १७ करोड ८८ लाखमा ओभरलेयर गरिने छ भने दुवैतर्फ २÷२ मिटर धावन मार्ग फराकिलो बनाउने र पार्किङ क्षेत्र विस्तारको योजना समेत रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell