PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सूर्य नेपाल गल्फ टूरमा शुक्र राईले रचे इतिहास, जिते वर्षको दोस्रो ठूलो उपाधि

सूर्य नेपाल गल्फ टूरमा शुक्र राईले रचे इतिहास, जिते वर्षको दोस्रो ठूलो उपाधि

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : एम्याचोर खेलाडी शुक्र राईले सूर्य नेपाल गल्फ टूर अन्तर्गत वर्षको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनससिपको उपाधि जितेका छन्।

पार-७२ गोकर्ण क्लब गल्फमा चार दिन सम्म चलेको प्रतियोगितामा शुक्रले डिफेन्डिङ च्याम्पियन समेत रहेका प्रो भुवन नगरकोटीलाई एक स्ट्रोकले पराजित गरे। उनी एकै वर्ष दुई वटा मेजर गल्फ टुर्नामेन्ट जित्ने पहिलो एम्याचोर बने। उनले २०१८ डिसेम्वरमा सूर्य नेपाल इस्टर्नको अवार्ड समेत जितेका थिए।

शुक्रले एम्याचोर र समग्रतर्फ दुवैको अवार्ड जिते।

शुक्रले ११ अन्डर २७७ अंक स्कोर गरे। भुवन र अर्का एम्याचोर खेलाडी सुवास तामाङले कडा टक्कर दिएपनि अन्तिमसम्म उत्कृष्ट लयलाई कायम राख्दे शुक्रले उपाधि जितेका हुन्।

अन्तिम राउण्ड अघि शुक्रले भुवनमाथि एक स्ट्रोकको अग्रता कायम राख्दै ५ अन्डर ६७ स्कोर गरेका थिए। उनले टोटल ११ अन्डर २७७ स्कोर। शुक्र जति नै स्कोर गरेका भुवनले कूल १० अन्डर २७८ को स्कोर गर्दै प्रो तर्फ पहिलो स्थान हात पारेका हुन्।

शुक्रले दुई वटै ट्रफी आफ्नो पक्षमा पारेपनि नगद रकम भने प्रो तर्फ पहिलो भएका भुवन नगरकोटीले पाए। एम्याचोर खेलाडीले पहिलो भएपनिन गद नपाउने भएका कारण भुवनले २ लाख ३० हजारको चेक प्राप्त गरे। प्रो तर्फ विकास अधिकारी दोस्रो र धन बहादुर थापा तेस्रो भए। धनबहादुरले ९५ हजार प्राप्त गरे।

४ ओभर २९२ स्कोर गरेका संजोक मोक्तान र रमेश अधिकारी संयुक्त रुपमा चौथो भए। उनीहरुद्ये समान ७३ हजार प्राप्त गरे।

यस्तै वर्षभर भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका शुक्रसँगै सुबास तामाङ र टंक कार्कीले वर्षको उत्कृष्ट अम्याचोर खेलाडी घोषित भए। एम्याचोरतर्फ सुबास तामाङले ५ अन्डर २८३ स्कोर गर्दै दोस्रो स्थान हात पारे।

यी तीन खेलाडीले आगामी डिसेम्वरमा नेपालमै हुने १३औँ सागमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

वर्षको दोस्रो गल्फ टुर उपाधि जितेका शुक्रले अन्तिमसम्म नै खेल प्रतिस्पर्धात्मक बनेकोले खेल रोमाञ्चक भएको बताए। उनले एम्याचोर खेलाडी सुबास तामाङ र प्रो भुवन नगरकोटीले पनि राम्रो प्रदर्शन गरेको र विशेगषरी आफ्नो पछिङ राम्रो भएकोले जित्न सकेको बताए।

यस्तै शुक्रले अबको लक्ष्य १३औँ सागमा नेपाललाई स्वर्ण जिताउनु रहेको बताए। 'अबको लक्ष्य भनेको सागमा स्वर्ण जित्ने हो। त्यसैको लागि तयारी गर्नेछौँ र हामी जित्नेछौँ।'

उता प्रो तर्फ पहिलो भएका भुवनले नगद चेक प्राप्त गरेपनि ट्रफी जित्न नसक्दा केही खिन्न लागेको बताए। 'यस वर्ष धेरै स्ट्रगल गर्नुपर्‍यो। सोचेजस्तो प्रदर्शन हुन सकेन।'

नम्वर वान खेलाडी शिवराम श्रेष्ठ हाल अमेरिकामा भएकोले यस प्रतियोगिता नखेलेका कारण मेरिटका आधारमा भुवन पहिलो स्थानमा पुगेका छन्।

'मेरो लागि नम्वर वान हुनु गर्वको कुरा हो। तर डिसाप्यान्टमेन्ट के रह्यो भने क्राउन बिना नै नम्वर वान बन्नुपर्‍यो।' भुवनले भने।

भुवनले वर्षमा कुनै अवार्ड जित्न नसकेपनि कूल ६ लाख ६३ हजार कमाए। यस्तै पछिल्लो चार प्रतियोगिता नखेलेका शिवरामले ४ लाख ६० हजार पाँच सय कमाएर दोस्रो स्थानमा झरे।

वर्षको अन्तिम गल्फ प्रतियोगितामा प्रो तर्फ दोस्रो भएका विकास अधिकारी तेस्रो स्थानमा उक्लेका छन्। उनले वर्षभर ४ लाख ११ हजार ३३३ कमाए।

वर्षको अन्तिम प्रतियोगिता प्रिमियर गल्फ च्याम्पियनसिपमा ४० प्रो र २० एम्याचवर गल्फरले प्रतिस्पर्धा गरेका थिए। विजयी खेलाडीहरुलाई सूर्य नेपाल का म्यानेजिङ डिरेक्टर अभिमन्यू पोडार, सूर्य नेपाल मार्केटिङमा भाइस प्रेसिडेन्ट दिप्रा लहरी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र नेपाल पिजिएका एड्भाइजर धनश्याम थापाले पुरस्कार वितरण गरे।

यस्तै प्रिमियर गल्फ च्याम्पियनसिप अन्तर्गत शुक्रवार प्रो-एम इभेन्ट हुनेछ। जसमा २५ प्रो र ७५ एम्याचोर गल्फरले प्रतिस्पर्धा गर्नेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell