PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

काभ्रेको सुन पसलबाट एसिड ल्याएर 'विष्णुले श्रीमती जलाए'



सविन ढकाल

काभ्रेको सुन पसलबाट एसिड ल्याएर 'विष्णुले श्रीमती जलाए'

काठमाडौँ: बुधबार साँझ कालोपुलमा एक युवतीमाथि एसिड आक्रमण भयो। साँझ भएको एसिड आक्रमण अरु कसैले नभइ आफ्नै श्रीमानले गरेको खुल्यो।

एसिड प्रहारबाट घाइते भएकी २२ वर्षीय युवतीलाई ओम अस्पताल हुँदै कीर्तिपुर अस्पताल पुर्‍याइयो। अहिले उनको उपचार भइरहेको छ।

आपसी विवादमा एसिड प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। काभ्रे घर भएका विष्णु भुजेल एसिड आक्रमणको अभियोगमा पक्राउ परेका छन्। प्रहरीले भुजेललाई नियन्त्रणमा लिँदा उनको कपडा एसिडले जलेको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

भुजेल काभ्रेमा एक मोटर ग्यारेजमा काम गर्दै आएका थिए। दुई बीच पाँच वर्षअघि विवाह भएको थियो। केही समयदेखि वैवाहिक सम्बन्ध राम्रो नभएपछि उनीहरु अलग बस्दै आएका थिए। भुजेलले दोस्रो विवाह गरेकाले उनकी श्रीमती कालोपुलमा आमासँग बस्दै आएकी थिइन्।

‘विष्णुले उनलाई धेरैपटक सँगै बस्न बोलाउने गरेको तर दोस्री श्रीमती भएको भन्दै माइतमा नै बसेकाले दुई बीचमा विवाद  सुरु भएको देखियो' डिएसपी बोगटीले भने।

विष्णुले आफूले भनेको नमानेपछि केही दिन अगाडिदेखि नै एसिड हान्ने योजना बनाएको प्रहरीलाई बताएका छन्।

प्रहरीमा विष्णुले दिएको प्रारम्भिक बयानअनुसार बुधबार दिउँसो उनले काभ्रेको एक सुन पसलबाट एसिड ल्याएका हुन्। उनले एसिड किनेको हो वा चिनजानका आधारमा ल्याए भन्ने खुलेको छैन। 

भुजेलले रंगको बोतलमा हालेको एसिड ज्याकेटको खल्तीमा लुकाएर ल्याएको उनले प्रहरीलाई बताएका छन्। राति करिब ८ बजे भेट्ने बहानामा श्रीमतीलाई बोलाएर एसिड हानेको स्वीकार गरेको प्रहरीले बताएको छ। एसिड हानेर आफू भागेको उनले बताएका छन्।

नेपालमा ब्याट्री पसल, सुन पसल, साइन्स ल्याबका सामान बेच्ने पसल, ग्यारेज आदि ठाउँमा एसिड सहजै किन्न पाइन्छ। बजारमा आधादेखि एक लिटर एसिड तीन सय रुपैयाँसम्ममा किन्न पाइन्छ। एसिड अन्य घरायसी प्रयोग हुने भएकाले बोकेर हिँड्दैमा शंका गर्ने अवस्था हुँदैन।

‘एसिड सहजै किन्न पाइने भएकाले पनि आपराधिक मनस्थिति भएकालाई थप सहयोग पुगेको देखियो,' डिएसपी बोगटीले भने।

पीडित युवतीकी बहिनीले पहिले नै विष्णुले बोलाउँदा शंका गरेको बुझिएको छ। 'कोठा बाहिर आउँदा दिदी लडेको देखेपछि ट्याक्सी बोलाएर अस्पताल लगिएको देखियो' डिएसपी बोगटीले भने।

के छ कानुनी व्यवस्था?

२०७१ सालमा संगीता मगर र सीमा बस्नेतमाथि भएको एसिड आक्रमणपछि यो विषय बहसमा आयो र संसदले लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७२ पारित गरी  एसिड आक्रमण गर्नेलाई पाँचदेखि आठ वर्षसम्म कैद र एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको थियो।

२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा १९३(२) मा कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्‍याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ।

त्यस्तै शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जिउमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ। जरिवानाको रकम पीडितलाई दिइने ऐनमा उल्लेख छ।

एसिड प्रहारबाट मृत्यु भएमा ज्यानसम्बन्धी मुद्दा लगाउने गरिएको छ। मृत्यु नभई अङ्गभङ्ग भएमा वा अरु केही भएमा घटना प्रकृति हेरेर यही ऐन अनुसार कानुनी प्रक्रिया अघि बढाउन सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell