PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रधानमन्त्री ओलीको दावी : सफल भयो भ्रमण



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीको दावी : सफल भयो भ्रमण

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दक्षिण पूर्वी एसियाली देशहरुको भ्रमण सफल भएको बताएका छन्। आज स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्।

‘हनोईमा भियतनामका प्रधानमन्त्री महामहिम फुकसँग नेपाल भियतनामबीच परम्परागत रूपमा रही आएको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा प्रतिनिधिमण्डलस्तरमा वार्ता भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘उक्त वार्तामा नेपाल भियतनाम द्वीपक्षीय सम्बन्धका सबै पक्षहरूमा सारभूत छलफल भएको र द्वीपक्षीय सम्बन्धलाई अझ फराकिलो र गहिरो बनाउँदै लैजाने सम्बन्धमा महत्वपूर्ण समझदारी भएको छ।’

भियतनाममा दुई देशबीच विद्यमान सुमधुर राजनीतिक सम्बन्ध सुहाउँदो ढङ्गबाट दुई देशबीचको आर्थिक सम्बन्धलाई विकसित गर्दै लैजाने उद्देश्यका साथ दुवै पक्षले व्यापार, लगानी, पर्यटन र हवाई सम्पर्कको क्षेत्रमा गहन रूपले सहकार्य गर्ने समझदारी बनेको प्रधानमन्त्री ओलीले जानकारी दिए।

भ्रमणका क्रममा भियतनामसँग कूटनीतिक राहदानी र सरकारी राहदानी वाहकहरूलाई भिसा छुट गर्ने, परराष्ट्र मन्त्रालयहरूबीच द्वीपक्षीय संयन्त्र स्थापना गर्ने र नेपाल र भियतनामबीच व्यापार तथा लगानी सम्झौता गर्ने सम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री ओली त्यहाँ राष्ट्र संघीय बुद्ध जयञ्ती समारोहमा सहभागी भएका थिए। सो क्रममा प्रधानमन्त्री ओलीले अनुकूल समयमा नेपालले लुम्बिनीमा संयुक्त राष्ट्रसंघ वैशाख दिवस र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने प्रस्ताव गरेका थिए।

त्यस्तै भियतनामबाट कम्बोडिया पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा कम्बोडियाका समकक्षीसँग द्वीपक्षीय वार्ता भएको भन्दै नेपाल र कम्बोडियाबीच विद्यमान बहुआयामिक सम्बन्धलाई अझ सुदृढ र मजबुत बनाउँदै लैजाने सम्बन्धमा छलफल भएको बताए।

छलफलका क्रममा गत नोभेम्बर २०१८ मा भएको कम्बोडियाका प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा हस्ताक्षर भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयन एवं यस भ्रमणका अवसरमा हस्ताक्षर भएको व्यापार तथा लगानी सम्बन्धमा सहयोग अभिवृद्धि गर्ने फ्रेमवर्क सम्झौतालाई छिटै मूर्त रूप दिने सहमति भएको जानकारी दिए।

‘भ्रमणका ठूलो द्वन्द्वबाट पीडित भियतनाम र कम्बोडियाले छोटो समयमा हासिल गरेको प्रगति उदाहरणीय रहेको र द्वन्द्वबाटै गुज्रेको नेपालले यसबाट सिक्न सक्ने धेरै कुराहरू रहेको सन्दर्भमा चर्चा भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालले हासिल गरेको युगान्तकारी राजनीतिक उपलब्धीहरू र ती उपलब्धीहरूलाई संस्थागत गर्ने नयाँ संविधान र राजनैतिक स्थायित्वको दिशामा अगाडि बढिरहेको नेपालको समसामयिक अवस्थाबारे दुवै पक्षलाई राम्ररी अवगत गराएको छु।’

प्रधानमन्त्री ओलीले द्वन्द्वबाट माथि उठेका देशहरुबाट नेपालले सिक्ने मौका मिलेको बताए।

‘समग्रमा द्वन्द्वोत्तर परिवेशमा दक्षिण पूर्व एसियामा उदाउँदो अर्थतन्त्रको रूपमा रहेको भियतनाम र तीब्र गतिमा आर्थिक विकास गरिरहेको कम्बोडियामा भएको नेपालको प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमणले नेपाल र ती दुई मुलुकहरूबीचको समग्र सम्बन्धलाई मजबुत बनाउन मद्दत पुगेको छ,’ उनले भने, ‘द्वन्द्वबाट छिया छिया भएका मुलुकहरूले छोटो समयमै प्राप्त गरेका उपलब्धीहरूलाई नजिकबाट नियाल्ने र असल अभ्यासहरू बारे जानकारी लिने अवसर प्राप्त भएको छ।’

प्रधानमन्त्री ओलीले लुम्बिनीको विकासमा अन्तर्राष्ट्रिय सद्भाव र सहयोग जुटाउन यस भ्रमणले महत्वपूर्ण अवसर प्रदान गरेको  दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell