PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कम्युनिस्ट तानाशाह पोल पोटको खमेररुज युद्ध स्मारक भ्रमण गरी फर्किए प्रधानमन्त्री, बैंककमा ओलीलाई थाइ प्रधानमन्त्रीको कोसेली



विधुर ढकाल

कम्युनिस्ट तानाशाह पोल पोटको खमेररुज युद्ध स्मारक भ्रमण गरी फर्किए प्रधानमन्त्री, बैंककमा ओलीलाई थाइ प्रधानमन्त्रीको कोसेली
फोटो : रासस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक साता लामो भ्रमण सकेर आज स्वदेश फर्किएका छन्।

वैशाख २६ गते भियतनाम गएका प्रधानमन्त्री त्यहाँदेखि कम्बोडिया हुँदै नेपाल फर्किएका हुन्। स्वदेश फर्किने क्रममा प्रधानमन्त्री ओली थाइल्याण्डसमेत पस्न भ्याए।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा वुद्ध जयन्तीको अवसरमा आयोजित युएन डे अफ वेसकमा सहभागी हुन प्रधानमन्त्री ओली भियतनामको हानोई पुगेका थिए।

प्रधानमन्त्री ओली त्यहाँबाट वैशाख ३० मा कम्बोडिया गएका थिए।

प्रधानमन्त्री ओली स्वदेश फर्किने क्रममा थाइल्याण्ड पसेका हुन्। उनलाई त्यहाँको विमानस्थलमा थाइ सरकारका विदेश मन्त्रालयका एसिया, मध्य पूर्व र अफ्रिका मामिला हेर्ने महानिर्देशकले स्वागत गरेका थिए।

उनको हातमा थाइल्याण्डका प्रधानमन्त्री जनरल प्रयुत चान ओ चाले प्रधानमन्त्री ओलीका लागि मित्रताको कोसेली पठाएका थिए।

प्रधानमन्त्री ओलीलाई स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा नेपाली सनोको टुकडीले सलामी दिएको थियो।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका उच्च अधिकारी विमानस्थल पुगेका थिए।

प्रधानमन्त्री ओलीलाई कम्बोडियाको विमानस्थलमा त्यहाँका वातावरण मन्त्रीले विदाई गरेका थिए।

प्रधानमन्त्री ओली आज स्वदेश फर्किनु अगाडि त्यहाँका कम्युनिस्ट तानाशाह पोलपोटले सुरु गरेको गृहयुद्धको व्यवस्थापन पछि स्थापना भएको ‘विन विन मेमोरियल स्मारक’को अवलोकन गरेका थिए।

यो स्मारक पोल पोटले सुरु गरेको खमेर रुज राजनीतिक युद्धको शान्तिपूर्ण व्यवस्थापनको स्मृतिमा स्थापना भएको थियो। त्यहाँको गृहयुद्धको अन्त्यका लागि युद्धमा सहभागी गुरिल्लाहरुलाई तीन किसिमको सुविधा प्रदान गरिएको थियो। त्यहाँको सरकारले गुरिल्ला नेताहरुको भौतिक तथा निजी सुरक्षाको ग्यारेण्टी, लडाकुहरुको रोजगारको ग्यारेण्टी, तथा निजी सम्पतीको रक्षाको ग्यारेण्टी प्रदान गरेको थियो।

कम्बोडियाले हरेक वर्ष गृहयुद्धको अन्त्यको सम्झनामा डिसेम्बर २९ लाई दिवसको रुपमा मनाउँदै आएको छ। खमेर रुजको युद्ध अन्त्यको घोषणा २९ डिसेम्बर १९९८ मा भएको थियो।

भ्रमण सफलः प्रधानमन्त्री

यसैबीच प्रधानमन्त्री ओलीले आफ्नो दक्षिण पूर्वी एसियाली देशहरुको भ्रमण सफल भएको बताएका छन्। आज स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्।

‘हनोईमा भियतनामका प्रधानमन्त्री महामहिम फुकसँग नेपाल भियतनामबीच परम्परागत रूपमा रही आएको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा प्रतिनिधिमण्डलस्तरमा वार्ता भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘उक्त वार्तामा नेपाल भियतनाम द्वीपक्षीय सम्बन्धका सबै पक्षहरूमा सारभूत छलफल भएको र द्वीपक्षीय सम्बन्धलाई अझ फराकिलो र गहिरो बनाउँदै लैजाने सम्बन्धमा महत्वपूर्ण समझदारी भएको छ।’

भियतनाममा दुई देशबीच विद्यमान सुमधुर राजनीतिक सम्बन्ध सुहाउँदो ढङ्गबाट दुई देशबीचको आर्थिक सम्बन्धलाई विकसित गर्दै लैजाने उद्देश्यका साथ दुवै पक्षले व्यापार, लगानी, पर्यटन र हवाई सम्पर्कको क्षेत्रमा गहन रूपले सहकार्य गर्ने समझदारी बनेको प्रधानमन्त्री ओलीले जानकारी दिए।

भ्रमणका क्रममा भियतनामसँग कूटनीतिक राहदानी र सरकारी राहदानी वाहकहरूलाई भिसा छुट गर्ने, परराष्ट्र मन्त्रालयहरूबीच द्वीपक्षीय संयन्त्र स्थापना गर्ने र नेपाल र भियतनामबीच व्यापार तथा लगानी सम्झौता गर्ने सम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री ओली त्यहाँ राष्ट्र संघीय बुद्ध जयञ्ती समारोहमा सहभागी भएका थिए। सो क्रममा प्रधानमन्त्री ओलीले अनुकूल समयमा नेपालले लुम्बिनीमा संयुक्त राष्ट्रसंघ वैशाख दिवस र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने प्रस्ताव गरेका थिए।

त्यस्तै भियतनामबाट कम्बोडिया पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा कम्बोडियाका समकक्षीसँग द्वीपक्षीय वार्ता भएको भन्दै नेपाल र कम्बोडियाबीच विद्यमान बहुआयामिक सम्बन्धलाई अझ सुदृढ र मजबुत बनाउँदै लैजाने सम्बन्धमा छलफल भएको बताए।

छलफलका क्रममा गत नोभेम्बर २०१८ मा भएको कम्बोडियाका प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा हस्ताक्षर भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयन एवं यस भ्रमणका अवसरमा हस्ताक्षर भएको व्यापार तथा लगानी सम्बन्धमा सहयोग अभिवृद्धि गर्ने फ्रेमवर्क सम्झौतालाई छिटै मूर्त रूप दिने सहमति भएको जानकारी दिए।

‘भ्रमणका ठूलो द्वन्द्वबाट पीडित भियतनाम र कम्बोडियाले छोटो समयमा हासिल गरेको प्रगति उदाहरणीय रहेको र द्वन्द्वबाटै गुज्रेको नेपालले यसबाट सिक्न सक्ने धेरै कुराहरू रहेको सन्दर्भमा चर्चा भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालले हासिल गरेको युगान्तकारी राजनीतिक उपलब्धीहरू र ती उपलब्धीहरूलाई संस्थागत गर्ने नयाँ संविधान र राजनैतिक स्थायित्वको दिशामा अगाडि बढिरहेको नेपालको समसामयिक अवस्थाबारे दुवै पक्षलाई राम्ररी अवगत गराएको छु।’

प्रधानमन्त्री ओलीले द्वन्द्वबाट माथि उठेका देशहरुबाट नेपालले सिक्ने मौका मिलेको बताए।

‘समग्रमा द्वन्द्वोत्तर परिवेशमा दक्षिण पूर्व एसियामा उदाउँदो अर्थतन्त्रको रूपमा रहेको भियतनाम र तीब्र गतिमा आर्थिक विकास गरिरहेको कम्बोडियामा भएको नेपालको प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमणले नेपाल र ती दुई मुलुकहरूबीचको समग्र सम्बन्धलाई मजबुत बनाउन मद्दत पुगेको छ,’ उनले भने, ‘द्वन्द्वबाट छिया छिया भएका मुलुकहरूले छोटो समयमै प्राप्त गरेका उपलब्धीहरूलाई नजिकबाट नियाल्ने र असल अभ्यासहरू बारे जानकारी लिने अवसर प्राप्त भएको छ।’

प्रधानमन्त्री ओलीले लुम्बिनीको विकासमा अन्तर्राष्ट्रिय सद्भाव र सहयोग जुटाउन यस भ्रमणले महत्वपूर्ण अवसर प्रदान गरेको  दाबी गरे।

प्रधानमन्त्रीको साता लामो भ्रमण सम्बन्धि समाचारहरु:

नेपाल र भियतनामबीच अपराध नियन्त्रणसम्बन्धी सम्झौता छिट्टै गर्ने सहमति, के छ १६ बुँदे संयुक्त वक्तव्यमा?

प्रधानमन्त्री ओलीलाई हानोईमा गार्ड अफ अनर: दुई पक्षीय वार्ता, तीन सहमति

युद्धबाट उठेको भियतनाम कसरी तीन दशकमै बन्यो विश्वको नमूना देश, यस्तो छ संघर्षको कथा

कम्युनिस्ट तानाशाह पोल पोटको देशमा नेपालका कम्युनिस्ट प्रधानमन्त्री ओली

नेपाल फर्कनुअघि प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री हु सेनले जारी गरे १५ बुँदे वक्तव्य



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell