PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अपराधीको छनौटमा बालबालिका : चार वर्षमा ३ सय ५० बालबालिकाको हत्या, चिनजानकै व्यक्तिबाट बढी खतरा



सविन ढकाल

अपराधीको छनौटमा बालबालिका : चार वर्षमा ३ सय ५० बालबालिकाको हत्या, चिनजानकै व्यक्तिबाट बढी खतरा

  • गत फागुनको पहिलो साता जनकपुर मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलिकका ११ वर्षीया छोरी रेश्मा (दुतीया) एकाएक घरबाट हराइन्। केही घन्टाको खोजीपछि घर नजिकै रहेको उखुबारीमा उनको शव भेटियो। उनको हत्याको अनुसन्धानमा जुटेको प्रहरीले २२ वर्षीय नीरज जर्गा मगरलाई समात्यो। उनले नशाको सुरुमा बलात्कार गरेर हत्या गरेको प्रहरीमा बयान दिएका थिए।
  • गत साउन ११ गते कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो। १० महिना लाग्नै लाग्दा पनि घटना कसले घटायो अत्तोपत्तो छैन। प्रहरीको खोजी पनि सकिएको छैन। यो घटनाले राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चा बटुले पनि अपराधीसम्म प्रहरी पुग्न सकेको छैन।

यी दुई त नमुना घटना हुन्, बालिका हत्याको। प्रहरीको तथ्याङ्कअनुसार गत साउन महिनादेखि माघको पहिलो सातासम्म १९ जना बालिकाको हत्या भयो। हत्याका अधिकांश घटनासँग बलात्कार जोडिएको छ।

‘यो एउटा डरलाग्दो तथ्याङ्क हो। यसको विश्लेषण गरेर नियन्त्रणका लागि प्रहरीले काम गर्छ,' नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले पहिलोपोस्टसँग भने।

त्यसो त मारिनेमा बालिका मात्र छैनन्। गत मंसिरमा गोंगबुमा अपहरणपछि ८ वर्षीय बालक प्रयास कुँवरको हत्या भयो। घटनाको ४८ घण्टाभित्रै प्रहरीले हत्यारा समात्यो। बालकका बाबु प्रविण कुँवरले गाली गरेको झोकमा बालकको हत्या गरेको २२ वर्षीय महेन्द्र सार्कीले स्वीकारेका थिए। जिल्ला अदालत काठमाडौँको आदेशमा सार्की अहिले जेलमा छन्।

यो घटनाले पनि बालिकासँगै बालक पनि जोखिममा छन् भन्ने देखायो। पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी अपहरणको केसमा बालबालिकालाई नियन्त्रण गर्न सजिलो भएकाले अपराधीको छनौटमा पर्ने बताउँछन्। 'छनौटमा परेका बालबालिकाले अपहरण गर्ने व्यक्ति वा परिवार चिनेको भए हत्याको सम्भावना बढी देखिन्छ,‘ उनले भने।

प्रहरीको तथ्याङ्कमा १९ बालिका हत्या भएको देखिँदा मारिएका बालकको संख्या पनि सानो छैन। यही अवधीमा २५ जना बालकको पनि हत्या भएको छ। यीमध्ये राजधानीमा मात्र दुई जनाको अपहरणपछि हत्या भएको देखिन्छ।

अपहरण र बलात्कार प्रकरणमा मात्र होइन घरायसी विवादमा समेत बालबालिकाको हत्या हुने गरेको अनुसन्धानमा खुलेको छ। परिवारका सदस्यबाट पनि बालबालिका मारिएका छन्। रुकुम पश्चिमको एउटा यस्तै घटना यसबीचमा सार्वजनिक भयो। गत मङ्सिर १ गते त्रिवेणी गाउँपालिका १ बल्लेजुराका ४९ वर्षीय सत्ताबहादुर बुढाले ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका थिए।

‘धेरै घटनाको अनुसन्धान गर्ने हो भने पछिल्लो समय चिनेजानेका व्यक्तिबाट नै धेरै घटना घटेको देखिन्छ,' डिआइजी पोखरेलले भने।

चार वर्षभित्र मारिए ३ सय ५० बालबालिका

नेपाल प्रहरीको तथ्याङक हेर्ने हो भने वर्षेनी बालबालिकाको हत्याको तथ्याङ्क बढ्दै गएको छ। आर्थिक वर्ष २०७१/७२ मा कुल ७४ जना बालबालिकाको हत्या भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। जसमा ४४ जना बालक र ३० जना बालिका छन्। वर्षभरिमा भएका हत्यामध्ये यो करीब १२ प्रतिशत हो।

आर्थिक वर्ष २०७२/७३ मा कुल ६ सय २७ जनाको हत्या भयो। जसमा १०६ जना बालबालिका मारिए। गएको आर्थिक वर्षको तुलनामा ५० प्रतिशतभन्दा बढीले बालबालिकाको हत्याको ग्राफ उकालो लाग्यो। बालक र बालिका बीचको सङ्ख्यामा पनि खासै फरक देखिएन। ५५ जना बालक र ५१ जना बालिका मारिएका छन्।

आर्थिक वर्ष २०७३\७४ मा भने अघिल्लो वर्षको तुलनामा बालबालिका हत्याको दर कमी आयो। ७९ जना बालबालिका मारिए। मारिनेमा ४० बालक र ३९ बालिका छन्। २०७४\७५ मा गएका वर्षको तथ्याङ्कमा केही फरक आयो। बालक भन्दा बढी बालिका मारिए यस वर्ष। ३८ बालक मरिँदा ४४ बालिका मारिए। चालु आर्थिक वर्षको ६ महिनामा ४४ जना बालबालिकाको यसैगरी हत्या भइसकेको छ।

कुनै पनि कारणले बालबालिकाको हत्यालाई मिहिन अनुसन्धानको खाँचो रहेको बताउँछन् पूर्व डिआइजी ठकुरी। भन्छन्, 'यो गम्भीर समस्या हो। राज्यले समयमा नै यसको कारण पहिचान गरेर समाधान खोज्नुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell