PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ने क पा एकता वर्ष दिन : एकताका बाँकी कामको टुंगो जेठ ३ मा!



ने क पा एकता वर्ष दिन : एकताका बाँकी कामको टुंगो जेठ ३ मा!

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को पार्टी एकताको एक वर्ष पुग्दै छ। गत वर्ष जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भइ ने क पा गठन भए पनि यसबीच जनवर्गीय संगठनहरुको एकता हुन सकेको छैन।

गत वैशाख ९ गते जिल्ला कमिटीका नेतृत्व घोषणा भए पनि कतिपय नेतृत्वमा विवाद र असन्तुष्टि कायम रहेको छ। यसैबीच ने क पाले एकताको बाँकी कामको टुंगो लगाएर पार्टी एकता भएकै दिन जेठ ३ गते घोषणा गर्ने तयारी गरिरहेको छ।

२५ गते बुधवार ने क पाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको बाँकी काममा एक कदम अगाडि बढेको बताएका थिए। उनले भनेका थिए, 'आजमात्र एक कदम अगाडि बढेका छौं। केही दिनभित्रै तपाईहरुले लेख्न र प्रचार गर्न पाउनुहुनेछ।' 

सोही अनुरुप पार्टी एकताका बाँकी काम टुंग्याउने गरी नेताहरु छलफलमा जुटेका छन्। प्रधानमन्त्री तथा ने क पाका अर्का अध्यक्ष केपी शर्मा ओली आज भोलि १ गते स्वदेश फर्किँदै छन्। दक्षिण पूर्वी एसियाली मुलुकहरु भियतनाम र कम्बोडियाको साता लामो भ्रमणमा गएका ओली स्वदेश फर्किएसँगै एकताको बाँकी काम टुंग्याइने र तीन गते घोषणा गर्ने तयारी भइरहेको ने क पा स्रोतले बतायो।

त्यसका लागि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई गृहकार्य र छलफल अगाडि बढाउन जिम्मेवारी दिएका थिए। सोही अनुसार प्रचण्डले वरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेलसँग निरन्तर छलफल गरिरहेका छन्।

तीन नेताले जनवर्गीय संगठनको एकताका लागि भागबण्डा, पोलिटब्यूरोको गठन, केन्द्रीय सदस्यको कार्यविभाजन र केन्द्रीय विभागका प्रमुख र उपप्रमुख टुंग्याउन छलफल गरिरहेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओली भ्रमणमा जानुपूर्व २५ गते प्रचण्डसहित नेता नेपाल र महासचिव पौडेलसँग छलफल गरेका थिए। सोही छलफलले पोलिटव्यूरोको भागबन्डा मिलाएको बताइएको छ। पोलिटव्यूरोमा रहने नेताहरुको नामको विषयमा छलफल चलिरहेको छ।

स्रोतकाअनुसार १४७ सदस्यीय पोलिटब्यूरोमा ८१ पूर्व एमालेबाट र ६६ जना पूर्व माओवादी केन्द्रबाट राख्ने सहमति भएको छ।

त्यस्तै तीन नेताले जनवर्गीय संगठनहरुको नेतृत्वको भागबण्डालाई समेत टुंग्याएको बताइएको छ। प्रधानमन्त्री ओली १ ग ते स्वदेश फर्किने र २ गते सचिवालयको बैठक बस्ने तयारी भइरहेको छ। 'सचिवालयको बैठकले अन्तिम टुंगो लगाएर तीन गत घोषणा गर्ने गरी तयारी भइरहेको छ,' स्रोतले भन्यो।

ने क पाको केन्द्रीय आयोगहरूको गठन, केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको गठन, राष्ट्रिय परिषद्मा मनोनयन, प्रदेश स्तरीय विशेष कमिटीको गठन, जनवर्गीय सङ्गठनहरुको एकीकरण, प्रवासका सङ्गठन र सम्पर्क कमिटी एवम् मञ्चहरुको एकीकरण र केन्द्रीय विभागहरुको गठन हुन सकेको छैन।

त्यस्तै केन्द्रीय सदस्यको कार्यविभाजन हुन नसक्दा केन्द्रीय सदस्यहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell