PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

घाँटीबाट छुटेको साढे ३ तोलाको सिक्री ५ दिनपछि यसरी सग्लै सहदेवको हात लाग्यो



सविन ढकाल

घाँटीबाट छुटेको साढे ३ तोलाको सिक्री ५ दिनपछि यसरी सग्लै सहदेवको हात लाग्यो

काठमाडौँ: ‘मेरो घाँटीको सिक्री हरायो। कहाँ गयो? प्रहरीले भ्यानमा कोच्दै गर्दा मैले भनेको थिएँ। तर, प्रहरीले मलाई उल्टै 'बढी बोल्छस्' भन्दै हप्काए।'

बौद्धका सहदेव चौलागाईँले सुनाएको प्रसङ्ग हो यो।

लामो समयदेखि धुलो उडेर बसिनसक्नु हुन थालेपछि बौद्धमा बाटो बन्द गर्ने निर्णयमा पुगे स्थानीय। प्रहरी बाटो खुलाउन जुट्यो। स्थानीय थप आक्रोशित भए। त्यही क्रममा प्रहरीसँग घम्साघम्सी पनि भयो। अश्रु ग्यास र ढुङ्गा प्रहार सामान्य बन्यो। त्यही प्रदर्शनका क्रममा सहदेव पनि अरुजस्तै समातिए।

गत बिहीबार बौद्धमा धुलोमुक्त बनाउन पिच गर्नुपर्ने भन्दै स्थानीय प्रदर्शनमा उत्रेपछि बाटो ठप्प पार्न सक्रिय भएका थिए उनी। बौद्ध व्यापार सङ्घको अगुवाइमा बाटो बन्द गरिएको थियो। यातायात सुचारु गर्न प्रहरीले बल प्रयोग गरेको थियो। यही अवस्थामा प्रदर्शनकारी र प्रहरीबीच झडप हुन गयो। प्रदर्शनकारीको नेतृत्वको अग्रपङ्तिमा थिए सहदेव।

करिब बिहानको ११ बजे प्रहरीको एउटा जत्था सहदेव नजिकै पुग्यो। ठूलोठूलो स्वरमा सरकारको विरोध र सडक निर्माणको माग गरिरहेका उनलाई तीन/चारजना प्रहरीले च्याप्प समाते।

‘प्रहरीले मलाई समात्यो। मेरो गलामा लगाएको सिक्री भने हराएको महसुस भयो। कहाँ झर्‍यो थाहा भएन,‘ सहदेवले सुनाए।

बौद्ध व्यापार सङ्घका सचिव उनको घाँटीमा करिब साढे तीन तोलाको सुनको सिक्री थियो। अहिलेको बजार मूल्य अनुसार झन्डै २ लाख रुपैयाँ बराबर हुन आउँछ। सहदेवलाई प्रहरीले महानगरीय प्रहरी वृत्त बौद्ध पुर्‍यायो। त्यहाँ पुग्दा उनले सिक्री गुमाइसकेका थिए। त्यसको जानकारी उनले अन्य आन्दोलनकारीलाई पनि गराइहाले। ‘सङ्घका अध्यक्ष र अरूलाई पनि सिक्री हराएको जानकारी गराएँ। सिक्री कसले लागेको यकिन थिएन,' उनले भने।

सिक्री हराए पनि सहदेवले प्रहरीमा उजुरी दिएनन्। एउटा समूहले सिक्री खोज्नु भन्दै बृत्तका डिएसपीलाई जानकारी दिए। ‘चोरले चोरेको भए पो उजुरी दिनु। प्रहरीको साथमा नै हराएको भएकाले केही भनिनँ। हामीसँग प्रस्ट प्रमाण पनि थिएन,' उनले भने।

बौद्धका डिएसपीले हराएको सिक्री खोज्ने बचन दिए।

तर कहाँ खोज्ने?

प्रहरीले अनुसन्धान सुरु गर्‍यो। प्रदर्शनका क्रममा पहिलोपोस्टका फोटोग्राफर प्रवीण रानाभाटले खिचेको फोटोमा सहदेवले लगाएको सिक्री प्रस्ट देखियो। जब प्रहरीले सहदेवलाई नियन्त्रणमा लियो त्यसपछि भने सिक्री गायब। अनि शङ्काको घेरामा प्रहरी नै।

सोमबार बिहान भने हराएको आफ्नो करिब साढे तीन तोलाको सिक्री सहदेवले फिर्ता पाए। सिक्री पाएपछि सहदेव एकदमै खुसी सुनिए। घाँटीमा लगाएको सिक्री जस्तो थियो त्यस्तै पाएका थिए उनले। 'सिक्री चुँडिएको रहेनछ। सग्लै थियो। लकबाट फुकालेर राखेको जस्तै,' सहदेवले भने।

उनलाई थाहा छैन सिक्री कहाँ भेटियो भन्ने। आन्दोलनका क्रममा सहदेवलाई नियन्त्रणमा लिने प्रहरी जवान अमिर श्रेष्ठले सिक्री लगेको प्रहरीले नै पत्ता लगायो।

प्रहरी जवान श्रेष्ठलाई निलम्बन गरिएको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। एसएसपी सुवेदी आफ्नै प्रहरी सङ्गठनका कर्मचारीले बदमासी गरेको दु:ख व्यक्त पनि गरे। 'सिक्री चुँडिएपछि फिर्ता दिनुपर्ने थियो। तर, आफैसँग राखेर गल्ती गरेको देखियो। गल्ती गर्ने प्रहरी कारबाही हुन्छ,' एसएसपी सुवेदीले भने।

जवान श्रेष्ठले भने सिक्री खसेको अवस्थामा फेला पारेको बयान दिएका छन्। 

पढ्नुस्ः प्रदर्शनकारीको सिक्री लुटेको आरोपमा प्रहरी परे कारबाहीमा

समाजमा शान्ति सुरक्षा र रक्षा गर्ने जिम्मेवारी पाएको प्रहरीको यस किसिमको कार्य प्रति सहदेव भने दु:खी छन्। तर, प्रहरी सङ्गठनप्रति कुनै गुनासो छैन। ‘आखिर प्रहरीले नै खोजेर सिक्री दियो। म प्रहरी सङ्गठन र डिएसपीसापलाई धन्यवाद दिन्छु। तर, सङ्गठनमा रहेर बदमासी गर्नेलाई भने कडा कारबाही हुनुपर्छ। प्रहरीले प्रहरीलाई कारबाही गर्‍यो भन्दा खुशी छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell