PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

के नेपाल क्रिमिनल हव हो? विवाद बलिउड फिल्म 'मस्ट वान्टेड'को



स्वेच्छा राउत

के नेपाल क्रिमिनल हव हो? विवाद बलिउड फिल्म 'मस्ट वान्टेड'को

काठमाडौं : मुम्बईमा श्रृङ्खलावद्ध बम आक्रमण हुन्छ। तर, आक्रमण कसले गर्‍यो पत्ता लाग्दैन। विस्फोट गराउने आतंककारी खोजीमा निस्कन्छन्, पाँच व्यक्ति। भारतको 'मस्ट वान्टेड' आक्रमकको खोजी गर्नेक्रममा उनीहरु आइपुग्छन् नेपाल। पर्यटक बनेर भित्रिने उनीहरुसँग कुनै परिचयपत्र समेत हुन्न।

दृश्य हो फिल्म 'इन्डियाज् मस्ट वान्टेड'को ट्रेलरमा देखिएको।

भारतबाट अपराधीको खोजीमा नेपालसम्म आइपुगेर यतै रुमल्लिएका पात्रहरुको कथामा केन्द्रित छ ट्रेलर। मुख्य कलाकार अर्जुन कपुर। केही भारतीय सह कलाकारहरुसँगै देखिन्छन्, नेपाली कलाकार पनि।

नेपाली कलाकार हुनुकै कारण ट्रेलरले नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताबीच फिल्मले चर्चा बटुल्यो। ट्रेलर सार्वजनिक भएको बाह्र दिनमा एक करोड ७१ लाख बढी हिट्स भइसकेको छ। युट्युबमा अधिकांश प्रतिक्रिया अर्जुन कपुर विरोधी छन् भने केहीले नेपालमा खिचिएका दृश्यबारे लेखेका छन्।

तर, विश्वको सबैभन्दा ठूलो फिल्म इन्डस्ट्रीमध्यको एक बलिउडमार्फत् नेपाललाई अपराधिक गतिविधिको हबका रुपमा प्रस्तुत गरिएको विषयमा कडा आलोचना पनि जारी छ।

यसअघि आतंकवादीकै विषयलाई लिएर बनाइएको बलिउड फिल्म 'बेबी'को एक चौथाई कथा नेपालसँगै जोडिएको थियो। अक्षयकुमार र तापसी पान्नुको जोडी आतंकवादीलाई समात्न नेपाल आउँछ, कोभर्ट अपरेसन गर्दै। यो फिल्मले पनि नेपाललाई 'क्रिमिनल हव'कै रुपमा पस्किएको छ।

के यस्ता फिल्म छायाङ्कन अघि कथावस्तु बारे अध्ययन र स्क्रिप्ट सेन्सर गरिन्छ त?

विदेशी फिल्म छायाङ्कनका लागि अनुमति दिन्छ सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले। कुनै पनि फिल्म छायाङ्कन अघि स्क्रिप्ट सेन्सर भने हुँदैन। मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार निवेदनसँगै फिल्मबारे दिइएको संक्षिप्त विवरणबाहेक फिल्मको कथावस्तुबारे थप जानकारी मागिँदैन। उनले भने, 'विदेशी फिल्म छायाङ्कनका लागि शुल्क चाहिँ लिन्छौं तर स्क्रिप्ट माग्दैनौं। नेपाललाई कसरी प्रस्तुत गरिएको छ भन्नेबारे त फिल्म नहेरी केही भन्न मिल्दैन।'

उनले नेपाललाई अपराधिक गतिविधि हुने हब या केही आपत्तीजनक ढङ्गमा प्रस्तुत गरेको पाइएमा सेन्सर बोर्डले नेपालमा रिलिजअघि आवश्यक काँटछाँट गरेर प्रदर्शनको अनुमति दिने बताए।

नेपाल चलचित्र विकास बोर्ड भने यस विषय आफ्नो मातहातमा नरहने बताउँछ। बोर्डका अध्यक्ष केशव भट्टराई भन्छन्, 'हामीले केही गर्न मिल्दैन। सबै मन्त्रालयले गर्ने हो।'

नेपाल सरकारले विदेशी फिल्मको नेपाल प्रदर्शनअघि ५ हजार डलर राजश्व संकलन गर्ने गरेको छ। यो आर्थिक वर्षको सुरुवातदेखि ४५ भन्दा बढी विदेशी फिल्मले नेपाल छायांकनका लागि अनुमति लिएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार कथानकको तुलनामा वृत्‍तचित्रहरु बढी छायाङ्कन हुने गरेका छन्।

राजकुमार गुप्ता लिखित तथा निर्देशित भारतीय कथानक फिल्म 'इन्डियाज मस्ट वान्टेड'लाई सत्य घटनामा आधारित भनिएको छ। आतंककारीलाई बन्दुक, गोलीको प्रयोगबिना गिरफ्तार गर्ने योजनामा फिल्म केन्द्रित छ।

फक्स स्टार स्टूडियोको प्रस्तुति रहेको फिल्ममा अर्जुन कपुर, राजेश शर्मा, प्रशान्त, गौरभ मिश्र, आसिफ खान लगायत प्रमुख भूमिकामा छ। त्यस्तै नेपाली कलाकारहरु सुवर्ण थापा, रवि गिरी, कमलमणि नेपाललाई फिल्ममा हेर्न पाइनेछ।

कलाकारमध्येका एक सुवर्ण थापाले फिल्मको विषय उठान सत्य घटनामा आधारित भएकाले त्यसमाथि फिल्म बन्नुलाई सामान्य रुपमा लिनपर्ने बताए।

'जहाँ भएको घटना हो त्यही सुटिङ भएको हो। अतिरञ्जित गर्नु भएन, त्यसो गरिएको छ कि छैन भन्नेबारे फिल्म हेरेपछि मात्र थाहा हुन्छ', उनले भने, 'इन्डिया नेपाल जोडिएर आउने प्लेन हाइज्याक, तस्करी आदि बारे सार्वजनिक हुने मिडिया सामाग्रीजस्तै हो फिल्मको कन्टेन्ट पनि।'

मे २४ मा यो फिल्म रिलिज हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell