PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

'१३औँ सागको तयारीको काम अब युद्धस्तरमा हुन्छ'



गोविन्दराज नेपाल

'१३औँ सागको तयारीको काम अब युद्धस्तरमा हुन्छ'

काठमाडौँ : नेपालले यही वर्षको अन्त्यमा १३औँ दक्षिण एसियाली खेलकुद (साउथ एसियन गेम्स-साग) आयोजना गर्दैछ।

आउने डिसेम्बर १ देखि १० सम्म नेपालको दुई शहर काठमाडौँ र पोखरामा हुनेछ।

सन् २०१६ मा भारतको गुहावटी र सिलोङमा भएको १२औँ सागमा नेपालले सन् २०१८ मै १३औँ साग गर्ने गरी झण्डा लिएको थियो। तर भौतिक पूर्वाधार र आन्तरिक तयारीमा कमजोर भएपछि नेपालले तोकिएको समयमा साग गर्न सकेन।

तर गत मार्च पहिलो साता थाइल्याण्डमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३औँ सागको नयाँ मिति २०१९ साल डिसेम्बर १ देखि १० सम्मलाई तय गरेको हो।

१३औँ सागको मिति तेस्रो पटक तय भएको हो भने दोस्रो पटक सरेको हो।

अब भने १३औँ साग तोकिएको समयमै आयोजना हुने र भौतिक पूर्वाधारले कुनै बाधा नगर्ने सरोकारवाला निकायहरुले बताएको छ।

सोमवार १३औँ सागको लागि आधिकारिक लोगो र मस्कट सार्वजनिक भइसकेको छ। लोगो र मस्कट सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले अब सागको लागि युद्धस्तरमा काम सुरु हुने बताए। '१३औँ सागको लागि आजैदेखि  नै युद्धस्तरमा काम सुरु भएको छ। मन्त्री विश्वकर्माले भने। लोगो र मस्कट सार्वजनिक भइसकेपछि यसले पनि सागको आरम्भ भएको सुखद् सन्देश दिएको छ। तयारीका लागि जुट्न पनि सकरात्मक सन्देश दिन्छ।'

उनले १३औँ साग नेपालको लागि गौरवको विषयसमेत भएको र देशका साथै सबै नेपालीको प्रतिष्ठान जोडिएको समेत सुनाए।

नेपालमा १३औँ साग आयोजना गर्न मुख्य चुनौतिको रुपमा पूर्वाधार नै देखिएको छ। तर मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले पूर्वाधारको काम निरन्तर भइरहेकाले पूर्वाधारकै कारण १३औँ साग नरोकिने दाबी गरेका छन्। 'हाम्रो सबै पूर्वाधारहरु सम्पन्न हुने तर्खरमा छन्। दशरथ रंगशालाको काम चाँडै सकिनेछ। सातदोबाटो र पोखरामा पनि भौतिक पूर्वाधारको कामहरु सकिएका छन्। अब बाँकी रहेको काम पनि असारसम्ममा सम्पन्न हुनेछ,' मन्त्री विकले भने।

यस्तै राखेपका सदस्यसचिव विष्टले मुख्य आयोजनास्थल काठमाडौँ र पोखरामा भौतिक पूर्वाधारको काम तोकिएको समयमै सम्पन्न हुने बताए।

'मुख्य केन्द्रको रुपमा रहेको दशरथ रंगशालाको काम जारी छ। प्यारापिट राख्ने काम सकिएको छ। सिन्थेटिक ट्रयाकको काम पनि सकिन लाएको छ। अबको एक हप्तामा त्यसमा लाइनिङ राख्ने काम सकिन्छ। अब भिआइपीतर्फ प्याराफिट र छाना राख्ने कामको लागि टेन्डर प्रकिया अगाडि बढिसकेको छ। प्राविधिक कारणले केही ढिलाई भए पनि साउनसम्ममा जसरी पनि काम सकिन्छ,' विष्टले भने, 'मंसिर सम्ममा रंगशालाको सबै काम सकिन्छ।'

यस्तै पोखरा रंगशालमा बीचमा काममा केही ढिलाई भएकोले असार मसान्तमा सम्म सक्ने गरी काम भइरहेको विष्टले जानकारी दिए।

'दुई वटै रंगशालको काम तोकिएकै समसयमा पूर्ण हुन्छ। १३औँ साग पूर्वाधारका कारण प्रभावित हुँदैन।'

यसैगरी १३औँ सागको लागि विभिन्न उपसमितिहरु बनाएर काम अगाडि बढाइने भएको छ।

 

४ अर्ब बजेट!

१३औँ सागको लागि अनुमानित ४ अर्ब बजेट लाग्ने राखेपका सदस्य सचिव विष्टले जानकारी दिए।

बजेट तयार पार्न राखेपका उपाध्यक्ष पिताम्वर तिमल्सिनाको संयोजकत्मा ५ सदस्यीय कार्यदल गठन गरिएको उनले जानकारी दिए।

'साग आयोजनाको लागि हामीले अहिले टेन्टेटिभ ४ अर्ब जतिको बजेट लाग्ने अनुमान गरेका छौँ। अन्य देशको भन्दा यो निकै कम हो। तर हाम्रो देशको अवस्थाअनुसार हामीले यति अनुमान गरेका हौँ।'

यस्तै गंगाबहादुर थापा मगरको संयोजकत्मा प्राविधिक उपसमिति गठन गरिएको विष्टले जानकारी दिए। जसमा रिम रानाभाट, पार्थ सारथि सेट गुप्ता र सुजनलाल श्रेष्ठ छन्।

१३औँ सागका लागि अझै धेरै कामहरु गर्नुपर्ने भएकोले राखेप सदस्य सचिवको संयोजकत्मा एक्सन प्लान तयार गरिने भएको छ। त्यसले बजेट, सागको नारा, कार्यविधि, निर्देशिकालगायत कामहरु गर्ने विष्टले बताए।

 

खेलाडी छनोट

१३औँ सागको लागि आठौँ राष्ट्रिय खेलकुदमा गरेको प्रदर्शनको आधारमा खेलाडी छनोट गरेर बन्द प्रशिक्षणमा राखिने राखेप सदस्य सचिव विष्टले जानकारी दिए।

खेलाडी छनोट समितिले उपलब्ध गराएको नामअनुसार जेठको पहिलो साताबाट खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने विष्टले बताए। 'आठौँमा गोल्ड र सिल्भर जित्नेलाई हामीले बन्द प्रशिक्षणमा राख्नेछौँ,' विष्टले भने, 'यस्तै खेलाडीहरुलाई सकेसम्म देशभित्रै प्रशिक्षको व्यवस्था मिलाउने, आवश्यक परेमा विदेशी प्रशिक्षक झिकाएर ट्रेनिङ दिनेछौँ।'

उनले राष्ट्रिय खेलकुद नभएको वर्ष आयोजना गर्ने गरिएको राखेप च्याम्पियनसिप २०७६ सालको दशैँ अघि नै सम्पन्न गर्ने र त्यसपछि १३औँ सागको लागि अन्तिम खेलाडी छनोट गरिने जानकारी दिए।

'हामी राखेप च्याम्पियनसिप यो पटक चाँडै नै गर्नेछौँ। आठौँमा पहिलो र दोस्रो भएर बन्द प्रशिक्षणमा बसेका र राखेप च्याम्पियनसिपमा उत्कृष्ट हुनेहरुबाट अन्तिम प्रतिस्पर्धा गराएर अन्तिम टोली छनोट गर्नेछौँ।'

 

१३ औँ सागमा समावेश २७ खेल:

ह्यान्डबल, जुडो, कबड्डी, खो–खो, सुटिङ, स्क्वास, स्वीमिङ, टेबल टेनिस, तेक्वान्दो, लन टेनिस, ट्रायलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, कराते, गल्फ, क्रिकेट, प्याराग्लाइडिङ, आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हक्की, फुटबल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell