PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मुम्बई सफल टिम, रोहित सफल कप्तान



पहिलोपोस्ट

मुम्बई सफल टिम, रोहित सफल कप्तान

महेन्द्र सिंह धोनीको चेन्नाई सुपर किंग्सलाई १ रनले पारजित गर्दै रोहित शर्माको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग २०१९ को उपाधि जितेको छ।

१५० रनको लक्ष्य पछ्याएको चेन्नाईलाई १४८ रनमा रोक्दै मुम्बईले चौथो पटक उपाधि उचालेको हो। अन्तिम ओभरमा लासिथ मालिंगाले ९ रन डिफेण्ड गर्दै मुम्बईलाई जित दिलाएका हुन्।

मुम्बई सर्वाधिक ४ पटक आइपीएल जित्ने पहिलो टिम बनेको छ। आइपीएलको १२ संस्करण सम्पन्न हुँदा मुम्बईले एक तिहाई उपाधि आफ्नो पक्षमा पारेको छ। चेन्नाईले ३ पटक उपाधि जितेको छ भने कोलकता नाइट राइडर्सले २ पटक ट्रफी उचालेको छ।

यस सिजन च्याम्पियन बनेपछि मुम्बई आइपीएल इतिहासकै सर्वाधिक सफल टोली बनेको छ।

सन् २०१३ मा पहिलो पटक च्याम्पियन बनेको मुम्बईले त्यसपछि एक वर्षको अन्तरमा उपाधि जित्दै आएको छ। २०१३, २०१५ र २०१९ को फाइनलमा मुम्बईले चेन्नाईलाई नै हराएर उपाधि जितेको हो। २०१७ मा भने राइजिङ पुने सुपर जायन्ट्सलाई हराउँदै उपाधि जितेको थियो।

उता चेन्नाईले भने आठ पटक फाइनल खेल्दा ३ पटक मात्र उपाधि जित्न सफल भएको छ। चेन्नाई तीन पटक फाइनलमा मुम्बईसँग हारेको छ भने राजस्थान रोएल्स र कोलकतासँग एक-एक पटक पराजित भएको थियो।

मुम्बईले भने पाँच पटक फाइनल खेल्दा चार पटक उपाधि जितेको हो। सन् २०१० मा पहिलो पटक फाइनल पुग्दा मुम्बई चेन्नाई सँगै पराजित भएको थियो। चेन्नाईले भने फाइनलमा मुम्बईलाई पराजित गरेको त्यो नै एक मात्र हो।

मुम्बईको च्याम्पियन यात्रामा सफल नेतृत्व गरेर नायक बनेका खेलाडी हुन रोहित शर्मा। अर्को शब्दमा भन्नुपर्दा आइपीएलको सर्वाधिक सफल कप्तान। मुम्बईले चार पटक उपाधि जित्दा चारै पटक रोहित शर्मा कप्तान थिए।

यसैगरी रोहित सर्वाधिक ५ पटक आइपीएल जित्ने पहिलो र एक मात्र खेलाडी हुन्।

डेक्कन चार्जर्सबाट आइपीएल करियर सुरु गरेका रोहितले सन् २००९ मा पहिलो पटक डेक्कनबाट आइपीएल जितेको थिए। रोहितसँग अर्को अनौठो संयोग समेत जोडिएको छ। सन् २००९ मा रोहितले बलिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले त्यतिबेला मुम्बई इन्डियन्स विरुद्ध बलिङ गर्दै ह्याट्रिक विकेट समेत लिएका थिए।

रोहित सन् २०११ देखि मुम्बईको लागि खेल्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell